२०८२ असार २
                           

अविरल वर्षाले बाह्रबिसे–तातोपानी सडक पूर्ण रूपमा ठप्प, कोदारी क्षेत्रमा सडक भासियो

सिन्धुपाल्चोक – शनिबार रातिदेखिको लगातारको वर्षाले बाह्रबिसे–तातोपानी खण्डको सडकमा गम्भीर क्षति पुर्‍याएको छ। चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी जोड्ने २६ किलोमिटर सडक खण्ड आइतबार बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
भोटेकोसी गाउँपालिका–२ को कोदारी क्षेत्रमा सडक भासिएपछि आवागमन ठप्प बनेको हो। सडक अवरुद्ध भएपछि चीनबाट आयातीत सामग्री लिएर आएका कन्टेनरहरू र नेपालबाट सामान लिन निस्किएका सवारी साधनहरू बाटोमै अलपत्र परेका छन्।
वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार, सडक भासिएपछि यात्रु र सवारी दुबै समस्यामा परेका छन्। यसअघि पनि कोप्लाङ क्षेत्रमा सडक करिब १५ फिटसम्म भासिएको थियो, जसका कारण तातोपानी नाका पूर्ण रूपमा बन्द गरिएको थियो।
स्थानीय प्रशासनका अनुसार तत्काल वैकल्पिक मार्गको व्यवस्था गर्न कठिनाइ भएको छ। घटनास्थलमा प्रारम्भिक मर्मत कार्यका लागि तयारी थालिएको छ भने विस्तृत मूल्यांकनपछि पुनःनिर्माण कार्य अघि बढाइने जानकारी दिइएको छ।
तातोपानी नाका विगतदेखि नै भौगोलिक बनावट र प्राकृतिक प्रकोपका कारण पटक–पटक बन्द हुँदै आएको अत्यन्तै संवेदनशील क्षेत्र हो।

प्रतिक्रिया दिनुहोस्