२०८२ असार २
                           

विश्व रक्तदाता दिवसको अवसरमा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न — ६९ जनाको सहभागिता

चौतारा, जेठ ३१ — जनस्वास्थ्यको सुदृढीकरण तथा व्यक्तिगत स्वास्थ्य सचेतना अभिवृद्धिका लागि विश्व रक्तदाता दिवसको अवसरमा चौतारामा रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आर्थिक सहयोगमा, नेपाल रेडक्रस सोसाइटी (ने.रे.सो.) चौतारा रक्तसंचार सेवा केन्द्रको समन्वयमा तथा ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोडान) सिन्धुपाल्चोकको आयोजनामा सम्पन्न भएको हो।

श्रीकृष्ण मन्दिर परिसर, चौतारा, पुरानो बजारमा शनिबार सञ्चालन गरिएको उक्त कार्यक्रममा ६९ जना विभिन्न उमेर समूहका व्यक्तिहरूले रक्त समूह परीक्षण गराएका छन्।

रक्त समूहको पहिचान स्वास्थ्य सुरक्षाका दृष्टिकोणले महत्वपूर्ण हुने भएकाले यस्ता कार्यक्रमले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। आपतकालीन अवस्थामा, जस्तै दुर्घटना वा शल्यक्रिया जस्ता परिस्थितिमा छिटो र प्रभावकारी उपचारको लागि रक्त समूहको जानकारी अत्यन्तै आवश्यक हुने जनाइएको छ। साथै, रक्तदान तथा प्राप्तिका लागि समेत उपयुक्त रक्त समूहको जानकारी हुनु अनिवार्य हुन्छ।

कार्यक्रममा ब्लोडान सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजुले रक्त समूहको जानकारीले आफैं मात्र नभई समाजभर स्वास्थ्यप्रति चेतना फैलाउन मद्दत पुर्‍याउने बताए। उनले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको समेत उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्