सिन्धुपाल्चोक, चौतारा — चौतारा साँगाचोकगढी नगरपालिकाको आर्थिक सहयोगमा तथा दलित समन्वय समितिको आयोजनामा नगर भरिका दलित समुदायका बालबालिकाका लागि लक्षित आधारभूत कम्प्युटर तालिम कार्यक्रम सुरु गरिएको छ।
तालिम कार्यक्रम वडा नं ५ मा एक विशेष समारोहबीच उद्घाटन गरिएको हो। कार्यक्रममा नगर भरिका ५० जना दलित बालबालिकाले सहभागिता जनाएका छन्। यो तालिम चौतारा, ठुलोसिरुवारी र साँगाचोकका विभिन्न स्थानहरूमा सञ्चालन गरिनेछ।
कार्यक्रमका अध्यक्ष अमर बहादुर विकका अनुसार, तालिमको मुख्य उद्देश्य दलित समुदायका बालबालिकामा सीप, क्षमता तथा बौद्धिक विकास गर्नु हो, जसले भविष्यमा उनीहरूलाई रोजगारीको अवसर दिलाउन सहयोग पुग्नेछ।
वडा नं ५ का अध्यक्ष शिव श्रेष्ठले कार्यक्रमले बालबालिकाको सीप र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने र उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
दलित समुदायका प्रतिनिधि रामशरण विकले भने, “यो कार्यक्रम दलित समुदायका लागि अत्यन्त आवश्यक छ। विशेष गरी बालबालिकालाई लक्षित गरी गरिएको यस तालिमले उनीहरूको भविष्य उज्यालो बनाउनेछ।”
तालिम अवधिभर सहभागी बालबालिका तथा प्रशिक्षकहरूलाई अनुशासित भई तालिमलाई उत्कृष्ट बनाउनेतर्फ जोड दिइएको छ। कार्यक्रमको सफल कार्यान्वयनका लागि प्रशिक्षक तथा सहभागीहरू सबैलाई सक्रिय सहभागिता जनाउन आयोजक समितिले अनुरोध गरेको छ।
दलित समन्वय समितिले यो कार्यक्रमले भविष्यमा दलित बालबालिकालाई रोजगारी सिर्जना र सफल जीवन यापनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस्