२०८२ असार ३
                           

हेलम्बु गाउँपालिकामा गुम्बाहरूको निरीक्षण, निर्माण कार्य अन्तिम चरणमा

सिन्धुपाल्चोक ।  निर्माण भएर अन्तिम चरणमा पुगेका गुम्बाहरूको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ), भारतीय दूतावासका प्रतिनिधि नारायण सिंह, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रतिनिधिले  निरीक्षण गरेका छन् ।

०७२ सालको भूकम्पबाट पाँच सय वर्ष भन्दा पुराना ऐतिहासिक गुम्बाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । पर्यटकीय महत्त्व बोकेका गुम्बाहरू निर्माण नहुँदा  स्थानीयहरूले त्यसको  असर भोग्नु परेको थियो ।

पर्यटन क्षेत्रमा मात्र नभई जन्मदेखि मृत्यु संस्कारसम्म बौद्ध धर्मावलम्बीहरूको सम्बन्ध जोडिएको पवित्र गुम्बाहरू भत्किदा धार्मिक क्षेत्रमा प्रत्यक्ष असर पुगेको थियो । भूकम्पपछि करिब १० वर्षको निरन्तर सक्रियताबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले गुम्बा निर्माण कार्य सम्पन्न गर्ने अन्तिम चरणमा पुर्‍याएका हुन् ।

भारत सरकारको सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राष्ट्रियस्तरको भवन निर्माण एकाइले आज भन्दा पाँच वर्ष अघि १४ अक्टोबर २०२० मा ठेक्का आह्वान गरेर गुम्बाहरूको पुनर्निर्माण कार्यको सुरुवात गरेको थियो ।

गुम्बा पुनर्निर्माणका लागि भारत सरकारले प्रत्येक गुम्बालाई १० करोडभन्दा बढी रकम विनियोजन गरेको भएपनि नेपाल सरकारले ठेक्का आह्वान गर्दा घटेर चिरी गुम्बा ६ करोड ४५ लाख, शेर्माथाङ गुम्बा पाँच करोड ५० लाख र तार्के घ्याङ गुम्बा करिब ७ करोडमा ठेक्का सम्झौता भएको थियो ।

हाल हेलम्बु गाउँपालिकाको चिरी गुम्बा, तार्के घ्याङ गुम्बा र शेर्माथाङ लगायत सिन्धुपाल्चोकका तीन पौराणिक गुम्बाको निर्माण कार्य अन्तिम चरणमा पुगेका छ ।

हेलम्बु गाउँपालिकामा निर्माणाधीन तीन पौराणिक गुम्बामध्ये चिरी गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सितार लामाको अनुसार चिरी गुम्बामा गजुर राख्ने, गुम्बाभित्र मूर्ति प्रतिस्थापन गर्ने, फिनिसिङ, पेन्टिङ र विभिन्न कलाकृतिको काम सम्पन्न भएर निर्माण कार्यको अन्तिम चरणमा रहेको छ ।

चिरी गुम्बा निर्माण सम्पन्न भएपछि झन्डै एक सय ५८ घरधुरी सहभागी भएर वार्षिक झन्डै आधा दर्जन भन्दा बढी लामो तथा छोटो अवधिको नियमित पूजा सम्पन्न गर्ने स्थानीयले बताए ।

स्थानीयका अनुसार गुम्बा निर्माणपछि विदेशी पर्यटकहरू ध्यान तथा पूजा कार्यक्रममा सहभागी भएर लामो अवधिसम्म यस गाउँमा रहेन छन् । यसबाट पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

त्यस्तै तार्केघ्याङ गुम्बा करिब सात करोडमा ठेक्का सम्झौता भए अनुसार निर्माण कार्यको अन्तिम चरण रहेको तार्केघ्याङ गुम्बाका प्रमुख लामा कृसङ्ग लामाले बताए । उनका अनुसार तार्केघ्याङ गुम्बाको प्राङ्गण निर्माण र केही कलाकृतिको कामको ठेक्का सम्झौतामा छुट भएका कारण केही ढिला भएपनि निर्माण कार्य सम्पन्न हुन लागेको छ ।

त्यस्तै शेर्माथाङ गुम्बा निर्माणमा पाँच करोड ५० लाख सम्झौता भए अनुसार सबै निर्माणको अन्तिम चरणमा रहेको शेर्माथाङ गुम्बाका प्रमुख लामा सार्की लामाले बताए । उनका अनुसार हेलम्बुमा पुनर्निर्माण भइरहेका ऐतिहासिक गुम्बा पाँच सय वर्ष पुराना हुन् ।

यी गुम्बा पुरातत्त्व विभागले दिएको डिजाइन अनुसार प्राचीन शैलीमै पुनःनिर्माण गरिएको छ । अग्राख काठ, चुनासुर्की र ढुंगामाटो प्रयोग गरेर निर्माण गरिएका गुम्बा भूकम्प प्रतिरोधात्मक छन् ।

 

प्रतिक्रिया दिनुहोस्