जुरेमा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा सार्वजनिक संगीतमय कार्यक्रम हुने भएको छ ।
जुरे पहिरोमा ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै सप्ताह गर्न लागिएको वडाध्यक्ष रमेश कुमार श्रेष्ठले जानकारी दिए । बलेफी गाउँपालिकाको वडा नं ८ को आयोजनामा कार्यक्रम हुन लागेको हो ।
दिवंगत आत्माहरूको शान्तिको लागि सामूहिक प्रार्थना, धार्मिक भावना जगाउने, झाँकी तथा सत्संगको माध्यमबाट समाजमा सदाचार र एकताको सन्देश फैलाउने उद्देश्य राखिएको वडाध्यक्ष श्रेष्ठले बताए ।
वि.सं २०७१ श्रावण १७ गते राति विनाशकारी जुरे पहिरोमा १ सय ४२ जनाले ज्यान गुमाएका थिए ।
बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आयोजना हुने सप्ताह ज्ञान महायज्ञमा कथा वाचक पण्डित कपिलदेव भट्टले श्रीमद ्भागवत महापुराणको अमृतमय ज्ञान कथा वाचन गर्नेछ । साथै सह –वाचकको भुमिकामा पण्डित डेगनाथ ढकाल हुने आयोजकले जनाएको छ ।
सो अवसरमा राष्ट्रियस्तरका कलाकारहरूबाट संगीतमय भजन–कीर्तन, देवलीला झाँकी, धार्मिक नाटक प्रस्तुत हुनेछ । यस्तै जेठ ४ गते सवा करोड दीप प्रज्वलन हुनेछ ।
राधा–कृष्ण मन्दिरको निर्माण कार्यको औपचारिक घोषणा समेत गरिनेछ । आयोजकले सम्बन्धीत परिवार, भक्तजन तथा श्रद्धालुहरूलाई निमन्त्रणा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्