२०८२ भाद्र १३

लागु पदार्थ विरुद्धको विद्यालय तथा समुदायस्तरमा जागरण कार्यक्रम

सिन्धुपाल्चोक ।  चौतारा साँगाचोक गढी नगरपालिकाका विभिन्न विद्यालयमा लागु पदार्थ विरुद्धको विद्यालय तथा समुदायस्तरमा जागरण कार्यक्रमको सुरुवात गरिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अन्तर्गत नगर बाल सञ्जालको आयोजना र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा अभियानको सुरुवात गरिएको हो ।

अभियानको पहिलो दिन चौतारा साँगाचोकगढी नगरपालिका १ स्याउले स्थित सेतिदेवी माविमा लागुपदार्थको असर, यसले समाजमा पार्ने नकारात्मक प्रभावका बारेमा विद्यार्थी, शिक्षक र सरोकारवालाबीच छलफल गरिएको छ ।

नगर उप-प्रमुख सीता थापाले जनचेतना अभियान कार्यक्रम उद्घाटन गर्दै विद्यालयमा अध्यनरत बालबालिकाहरु कुलतमा नफसून् र आगामी दिनहरुमा आफ्नो भविष्य उज्ज्वल पार्न र सुखी जीवन बिताउन आवश्यक सीप सिकाइमा केन्द्रीत गर्न अभियालने सहयोग गर्ने बताउनुभयो ।

आफ्नो नगर लागू पदार्थ मुक्त क्षेत्र बनाउन सबैको साथ र सहयोग चाहिने पनि उहाँको भनाइ थियो ।

कार्यक्रममा प्रशिक्षकको रुपमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादव हुनुहुन्थ्यो भने उहाँको साथमा जिल्ला प्रहरी कार्यालयका बालबालिका शाखाबाट सहायक हवलदार कन्चन सुर्खेती पनि सहभागी हुनुभएको थियो ।

प्रशिक्षकद्वय यादव र सुर्खेतीले लागूपदार्थ न्यूनीकरण सम्बन्धमा भएका कानुन, असर, परिणाम र बेफाइदाका बारेमा बालबालिकामाझ जानकारी गराउनुभयो ।

लागूपदार्थविरुद्धको यो अभियान अब अरु विद्यालयमा लिएर बालबालिकामा चेतना जगाउने र यो कार्यक्रमले बालबालिकाको भविष्य निर्माणमा थप सहयोग पुग्ने नगरपालिकाको महिला बालबालिका शाखाका महिला विकास निरीक्षक सुमित्रा भट्टराईले बताउनुभयो ।

यो कार्यक्रम कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको हो ।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष युवलाल श्रेष्ठ , नगर बाल सञ्जालका अध्यक्ष सुजन श्रेष्ठ, नगर बाल सञ्जाल सह-सचीव बुद्ध थापा, सेतीदेवी माविका प्रधानाध्यापक सविन दंगाल लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्