२०८२ असार २
                           

प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न,१४३ जनाले प्राप्त गरे सेवा

सिन्धुपाल्चोक — जनस्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकको  आयोजनामा एकीकृत प्रजनन स्वास्थ्य, स्वास्थ्य गुणस्तर स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविर २०८२ साल वैशाख १३ गते जुगल गाउँपालिकाको हगाम स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो।

जुगल गाउँपालिकाको समन्वय तथा सहकार्यमा सञ्चालन भएको यस शिविरमा महिलाहरूका लागि स्तन र पाठेघरको नियमित परीक्षण, परामर्श र उपचार सेवा प्रदान गरिएको थियो। साथै  महिलाहरूको प्रजनन स्वास्थ्य तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ र उपचारसम्बन्धी सेवा समेत उपलब्ध गराइएको थियो।

स्वास्थ्य सेवा विस्तार र सर्वसाधारणलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमबाट स्थानीय बासिन्दाहरूले निःशुल्क स्वास्थ्य सेवा लिन पाएका छन्। आज सञ्चालित  शिविरबाट जम्मा १४३ जना सेवाग्राहीहरूले सेवा प्राप्त गरेका छन्।

यस अवसरमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले समयमै रोग पहिचान र उपचार गराउन यस्ता स्वास्थ्य शिविरहरू अत्यन्तै प्रभावकारी हुने र जनताको स्वास्थ्यमा सुधार ल्याउन यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अगाडि बढाउनुपर्ने कुरामा बताउदै यस्ता शिविरहरूले आधारभूत स्वास्थ्य सेवा बाट टाढा रहेका जनसमुदायहरूलाई स्वास्थ्य सेवाको धारमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने धारण व्यक्त गरिन।

प्रतिक्रिया दिनुहोस्