चौतारा । वर्षौंदेखि चलिआएको छ- कुनै पनि विद्यालयको बार्षिकोत्सवमा राजनीतिक दलका नेता ल्याएर प्रमुख अतिथि बनाउने अनि भाषण गर्ने । विद्यार्थी अनि अभिभावकलाई दिनभर जसो विद्यालयमा राखेर ठूलाठालु भनिएकाहरूको कुरा सुनिदिनुपर्ने । झनै भनौं व्यवस्थापन समिति, शिक्षकहरूमा आफ्नो निकट नेता या आफ्ना पार्टीका नेता ल्याउने विषयले ठूलै विवाद भएका घटनाहरू पनि हामीले देख्दै आएका छौं ।विद्यार्थी, अभिभावकका चाहना अनि शिक्षामा सुधारतिर विद्यालयले खासै चासो नदिई खर्चिलो र भड्किलो सभा विद्यालयले बार्षिकोत्सवमा गर्ने गरेको छ ।
तर, चौतारा सांगाचोकगढी नगरपालिका-४ स्थित कालिकादेवी माध्यमिक विद्यालयले यो वर्ष निकै फरक र नमूनायोग्य काम गरेर आफ्नो ६५ अौं बार्षिकोत्सव मनायो । भाषणका लागि कुनै नेता ल्याइएन न त भड्किलो सभा नै गरियो । विद्यालयले गर्याे त शैक्षिक सुधारका लागि प्रसंशनीय काम ।जसका लागि वडा अध्यक्ष कुमार शर्मा आफैं खटे । सिंगाे विद्यालय टिम खट्यो ।
विद्यालयले आफ्नो सेवा क्षेत्रमा पुगेर अभिभावकसँग विभिन्न छलफल, अन्तरक्रिया गरेको हो । परिवार र समाजमा बालबालिकालाई अध्ययनको वातावरण, त्यहाँको अवस्था, समस्या पहिल्याई समाधानको पहल गरिएको प्रधानाध्यापक श्यामकुमार सापकोटाले बताए । टोल टोलमा पुगेर विद्यार्थी र अभिभावककाे सामाजिक, आर्थिक तथा पारिवारिक अवस्था पहिचान गरि आगामी शैक्षिक कार्ययोजना निर्माण गरिने सापकोटाको भनाइ छ ।
अनेक खर्चिलो कार्यक्रम गरेर दिन बिताउनुका सट्टा यस्ता कार्यक्रम उपलब्धिमूलक देखिएको उनले सुनाए । यसले विद्यार्थीकाे पारिवारिक अवस्था पहिचान भएको र विद्यार्थीलाई कुन र कस्तो विधिको प्रयाेग गरि कक्षाकोठामा अध्यापन गराउन सहज हुन् भन्ने सिकाइ भएकाे विद्यालयका सहायक प्रधानाध्यापक रामकुमार सापकोटाले बताए।
बार्षिकोत्सव विद्यार्थीका लागि चाड पनि हो । यो समय विद्यार्थीका विभिन्न कलाहरू प्रस्फुटन गर्ने मौका हो । कला, साहित्य, संगीत, खेलकुदबाट आफ्नो क्षमता उजागर गर्ने अवसर हो । यो वर्ष विद्यालयले विद्यार्थीका लागि आन्तरिक यस्ता कार्यक्रम भने गरेको जनाएको छ । भड्किलाे हुने गरि सभा मात्रै नगरेकाे वडाअध्यक्ष शर्माले जानकारी दिए । यस्ता कार्यक्रम उपलब्धिमूलक हुने र शिक्षणसिकाईमा थप बल पुग्ने अध्यक्ष शर्मा बताउँछन् ।
फरकपत्रिकादबाट
प्रतिक्रिया दिनुहोस्