सिन्धुपाल्चोक । चौतारा बजारमा सार्वजनिक यातायात ब्यवस्थापनको लागी चौतारा साँगाचोकगढी नगरपालिकाले डाकेको सर्वपक्षीय बैठकले विभिन्न सहमती गरेका छन् । सार्वजनिक यातायातले ४ स्थानबाट मात्र यात्रुलाई पिकअप र ड्रप गर्न पाउने निर्णय भए। बैठकले सार्वजनिक यातायातले टुँडिखेल चोक, नवलपुर चोक, कुबिण्डेचोक, भिन्तुनाचोकबाट यात्रुलाई ओराल्ने र चढाउने निर्णय गरेको हो ।
मेयर कृष्ण प्रसाद सापकोटाको अध्यक्षमा भएको छलफलमा स्थानिय सरोकारवाला, सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली, यातायात ब्यवसायी केदार क्षेत्री लगायत जनप्रतिनिधि हरुको सहभागीता थियो ।
बैठकले अरनिको यातायात मातहतमा रहेको पुरानो बसपार्कमा नै सार्वजनिक यातायात ब्यवस्थित तवरले पार्किङ गर्ने निर्णय गर्दै जथाभावि पार्किङ गर्न नपाईने नियम बनाएको छ । अब बजार क्षेत्रमा सार्वजनिक र निजी कुनै पनि सवारी साधन पार्क गरेर राख्न नपाइने गरी निर्णय भएको वडाध्यक्ष शिव श्रेष्ठले बताए ।
अब यात्रु बोक्ने सार्वजनिक सवारीले क्यु सिस्टममा सवारी साधन चलाउनुपर्ने छ भने विहान ९ः३० देखि १०ः१५ सम्म र दिउँसो ३ः३० देखि ४ः१५ सम्मको विद्यालय समयमा बजारमा सवारी साधन पूर्णत बन्देज गरीने छ ।
छिट्टै नै चौतारा बजार क्षेत्रमा मालबाहक सवारी साधन र यात्रु बसलाई वान–वे सिस्टममा सन्चालनमा ल्याउने मेयर सापकोटाले बताए । सर्वपक्षीय बैठकमा अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले टुँडिखेलदेखि बसपार्कसम्म यात्रुलाई यात्राको लागी निःशुल्क रुपमा टेम्पो सुविधा दिने तयारी समितिले गरीरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्