२०८२ असार ३
                           

बहुभाषा र बालबालिकाको सिकाइ

गौरी प्रधान – सामान्यतया, पाँच वर्ष देखि दस वर्षसम्मका बालबालिकाले पाँच वटा सम्म विभिन्न भाषाहरू एकैचोटि सजिलै संग सिक्न सक्दछ । यो विगतमा भएका विभिन्न अध्ययन र अनुसन्धानको निष्कर्ष पनि हो । बहु-भाषा लेख्न र बोल्न जान्ने बालबालिकाहरु आफ्नो अध्ययन, संचार र बौद्धिक विकासमा एउटा मात्रै भाषा बोल्ने बालबालिकाहरु भन्दा तीक्ष्ण, चलाक र संचारमा असाध्य राम्रो प्रगति गर्न सक्ने हुन्छन् । बहु-भाषा सिक्ने बालबालिकाको सामाजिकिकरणको पक्ष पनि सवल र सृजनशील हुन्छ । उनीहरुले विविधताको महत्व र औचित्यतालाई सजिलो संग बुझ्न र स्विकार्न सक्दछ । अध्ययनले, बालबालिकालाई भन्दा वयस्कहरुलाई नयाँ भाषा सिक्न र सिकाउन तुलनात्मक रुपमा कठिन हुने कुरा बताउँछ।

हाम्रो देश नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना पश्चात देशका विविध भाषा, खासगरी आदिवासी तथा जनजातिको भाषा, संस्कृति, आहार-व्यबहार तथा भेष-भूषाको विषयमा पुनर्जागरण आएको छ । यी कुराहरु भनेका हाम्रा राष्ट्रिय गौरव, पहिचान र निधि हुन् । यसको संरक्षण र सम्वर्द्धन गर्नु सबै देशबासी र मुलत: सरकारको परम कर्तव्य हो ।
हाम्रो देशमा पनि बिद्यालयमा बालबालिकाको लागि एक स्थानिय भाषा (राष्ट्र भाषा), एक राष्ट्रिय भाषा र एक अन्तर्राष्ट्रिय भाषा अनिवार्य सिक्न र सिकाउने कुराको बन्दोबस्त भए बालबालिकाहरुको क्षमता, आत्म-विश्वास र ज्ञान अभिवृद्धिका साथै उज्यालो भविष्य निर्माणमा महत्वपूर्ण सहयोगी हुनेछ ।

केही समय देखि काठमाडौ र ललितपुर जिल्लामा शुरु भएको बहु-भाषा सिकाई ज्ञान, बिज्ञान र सृजनशीलताको दृष्टिकोणले महत्वपूर्ण मान्दछु। यो बिस्तारै देशका विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा पनि व्यबस्था हुन गइरहेको छ । यो देशको भाषा-भाषी र भेष-भूषाको संरक्षण र सम्वर्द्धनको दृष्टिकोणले मात्र होइन, बाल विकासको दृष्टिकोणले पनि असाध्य महत्वपूर्ण छ । यस्ता कुराहरुले देशको राष्ट्रिय एकताको विकास र सम्वर्द्धनमा पनि ठूलो योगदान गर्दछ ।

हालसालै, केही अभिभावक तथा बुद्धिजीवीहरूले सो कुराको आलोचना गरेको सुनिन्छ । कतिपयले सो प्रावधानलाई अनिवार्य गर्न नहुने, त्यसले बालबालिकालाई थप बोझ र झञ्झटिलो भएको कुरा उठाएको सुन्दा अचम्म लाग्दछ । हो, नयाँ भाषा सिकाउने विधि र प्रकृयामा सुधार गर्दै त्यसलाई बाल-मैत्री सिकाई बनाउन पर्दछ भन्ने कुरामा कुनै दुविधा छैन । तर बहु-भाषिक प्रावधान हटाउन नै पर्छ भन्ने तर्कमा भने कुनै सहि दम छ जस्तो लाग्दैन । त्यसमाथि बहु-भाषा र बहु-सँस्कृतिमा आधारित यो देश नेपाल विविधताको एक उत्तम उदाहरण पनि हो । हाम्रो देशमा १२५ भन्दा वेसी जाती-जनजातिका मानिसहरु बसोबास गर्दछन् र उनीहरुले १२३ फरक फरक खाले भाषाहरू बोल्छन् । ती सबै भाषा-भाषी र भेषभुषाहरु हाम्रा राष्ट्रिय पहिचान र गौरव हुन् । त्यसको, रक्षा र सम्वर्द्धन गर्नु हामी सबैको परम कर्तब्य हो । त्यसैले, मैले यस विषयमा आफ्नो विचार अगाडि सार्ने जमर्को गरेको हुँ ।

यो कुरा शुरुमा अलि नमिले जस्तो वा अप्ठ्यारो भए जस्तो लाग्न सल्दछ । तर, कालान्तरमा यो नै हाम्रो सेवा, शक्ति र समझदारीको स्रोत हुन सक्दछ । तसर्थ, स्थानिय, प्रादेशिक तथा संघिय सरकार सबैले सो कार्यमा सहयोग र समन्वय गर्न पर्दछ । हाम्रा विद्यालयहरुमा बालबालिकालाई बहु-भाषा सिक्ने सिकाउने व्यबस्था र सो अनुसारको शिक्षक, शिक्षण विधि तथा बाल-मैत्री सिकाईको सबल र सकारात्मक वातावरण निर्माण भएमा हाम्रा बालबालिकाहरूमा निम्नानुसारको क्षमता विकास र उपलब्धि हुने विश्वास गर्न सकिन्छ:

१. आत्म विश्वासमा वृद्धि ।
२. सृजनशीलतामा विकास ।
३. सामाजिकरणमा वृद्धि ।
४. समालोचनात्मक चेतमा वृद्धि ।
५. स्मरण शक्ति र मस्तिष्क विकास वृद्धि ।
६. ज्ञान, बिज्ञान र बौद्धिक धरातलमा विकास ।
७. साँस्कृतिक आदान-प्रदान र बुझाईमा विकास ।
८. स्वदेशमा हुने आन्तरिक पर्यटन तथा देश-दर्शन भ्रमणमा सहयोगी।
९. थप अन्तराष्ट्रिय भाषाहरुको सिकाइमा सहयोगी ।
१०. राम्रा साथीहरु बनाउने र जीवनलाई अझै रमाइलो, खोजपूर्ण र सार्थक बन्न सहयोगी । इत्यादि ।
_______________________
* मानव अधिकार तथा सामाजिक अभियन्ता ।

प्रतिक्रिया दिनुहोस्