२०८१ आश्विन २६
                           

खेलकुदमा दर्शकले पार्ने प्रभाव

राजन बिक्रम प्रजापति – खेलाडीको समग्र प्रदर्शनमा दर्शकको उपस्थितिले ठूलो महत्व राख्ने गर्दछ । खेलाडीहरूले दर्शकको समर्थन महसुस गर्ने वातावरण सिर्जना हुंदा शारीरिक र मानसिक दुवै प्रदर्शन प्रभावकारी हुने गर्दछ। कसैले हेरिरहेको छ भन्ने थाहा भईसकेपछि झन राम्रो गर्नुपर्छ है भन्ने भावना आउनु मानिसको स्वभावै हो जुन खेलकुदमा पनि लागु हुन्छ ।

खेलकुदका दर्शक भन्नाले त्यस्तो व्यक्ति हो जसले कुनै खेलकुदका गतिविधिमा स्वंयम सहभागि नजानाई हेर्ने कार्य गर्दछ । खेलकुद दर्शकहरू ती हुन् जसले व्यक्तिगत रूपमा वा रेडियो, टिभी, ईन्टरनेट वा अन्य माध्यमहरू मार्फत खेलकुद घटनाको साक्षी हुन्छन्। सामान्य अर्थमा, दर्शक भनेको त्यो हो जसले प्रत्यक्ष अप्रत्यक्ष खेल हेर्छ, खेलको जानकारी राख्दछ र खेलको आनन्द लिन्छ ।

जुनसुकै तहको खेलाडी चाहे स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय, व्यावसायिक वा युवा तथा अनुभवी खेलाडीहरूलाई समेत दर्शकको समर्थनले आत्मविश्वास बढाउने गर्दछ। आत्मविश्वास बढ्नाले खेलाडीहरूलाई राम्रो निर्णय गर्न र उत्कृष्ट खेल पस्कन उत्प्रेरित गर्दछ। दर्शकहरुको आफ्नो पक्षमा बाक्लो उपस्थिति हुंदा खेलमा सकारात्मक प्रभाव पर्ने कुरामा दुईमत छैन तर अपवादका रुपमा दर्शकहरुले आफ्नै पक्षमा हुटिङ गर्दा समेत खेलाडीहरु नर्भस भएका घटना यदाकदा सुन्नमा आउने गर्दछ ।

दर्शक र समर्थक झट्ट हेर्दा उस्तै लागेता पनि यी फरक कुराहरु हुन । सबै दर्शक समर्थक नहुन सक्छन तर खेल हेर्न आएका सबै समर्थक दर्शक हुन । कतिपय दर्शकले कुनै पक्षलाई पनि समर्थन नगरी खेलको आनन्द मात्र लिईरहेका पनि हुनसक्छन ।

धरै अवस्थामा सर्मथकहरुको ब्यापक साथ पांउदा राम्रो नतिजा आउने भएतापनि कहिलेकाहि यसले खेलाडीहरुलाई झनै हतोत्साहि बनाएको पनि उदाहरण नभएको होईन । यस्तो किन हुन्छ भने धेरै मानिसहरू अरूको अगाडि गल्ती गर्न डराउँछन्। कसैलाई पनि आफ्ना मान्छेलाई निराश महसुस गराउन मन पर्दैन किन भने समर्थकहरुले आफ्ना खेलाडीहरु बाट धेरै आशा गरेका हुन्छन र खेलको दौरान दबाव महशुस गर्छन जसले गर्दा राम्रो नतिजा दिन सक्दैनन । समग्रमा दर्शकको उपस्थितिले खेलमा रोमान्चकता समेत थपिने र विपक्षीलाई हतोत्साहि बनाउन समेत मद्दत पुग्ने गर्दछ ।

खेलमा दर्शकको साथ हुनु भनेको समर्थन र विश्वासको प्रमुख स्रोत हो, खेलाडी र समर्थकहरू दुबैले गर्वको पारस्परिक भावनाको महसुस गर्छन्। दर्शकले पनि खेलको आनन्द मात्र लिई रहेको हुदैन आफैलाई त्यस खेलमा समर्पित गरिरहेका हुन्छन । दर्शकको समर्थनका कारण खेलाडी टोली भित्र मनोबल बढ्ने मात्र नभई प्रोत्साहनलाई पनि बलियो बनाईदिन्छ । खेलाडिको व्यक्तिगत र व्यावसायिक सफलता दुवैको लागि दर्शकको समर्थन हुन आवश्यक छ। उत्साहीत समर्थकहरू देख्दा खेलाडीहरू भित्रभित्रै उत्प्रेरित भई जोशीलो बन्ने गर्दछन भने स(साना खेलाडीहरुले खेल्नु पर्दछ भनी प्रोत्साहन पाउने गर्दछन ।

बालबालिकाहरुमा समर्थकको हुटिङले हार र जितलाई स्वीकार गर्ने क्षमता र स्वस्थ प्रतिस्पर्धाको बानी बिकास गर्न मद्दत गर्दछ । स(साना खेलाडीहरुमा दर्शकहरुको समर्थनले गर्दा आत्मसम्मान बृद्दि भएको महशुस हुन पुगी अझ बढी दक्षता अभिबृद्दि गराई खेलकुदमा निरन्तर लाग्न उत्प्रेरित बनाउनुका साथै सकारात्मक सोचको पनि बिकास गराउने गर्दछ, जसले गर्दा खेलकुदमा मात्र नभई ब्यक्तिगत जीवनमा समेत राम्रो परिणाम देखाईरहेको हुन्छ ।

संसारको कुन ठांउमा कुन खेल कति लोकप्रिय भनि मापन गर्ने सजिलो कडी पनि खेलकुद प्रतियोगिताहरुमा दर्शकको प्रत्यक्ष अप्रत्यक्ष उपस्थिति नै हो । विश्वको सबैभन्दा लोकप्रिय खेलहरू फुटबल र क्रिकेट मा हुने दर्शकको सहभागिता तुलनात्मक रुपमा अन्य खेलहरुमा दर्शकको उपस्थिति भन्दा बढी नै हुने गर्दछ । फुटबलमा त झन दर्शकलाई बार्हौ खेलाडीको रुपमा लिने गरिन्छ, यसबाट पनि प्रष्ट हुन्छ समर्थकको महत्व कति हुन्छ भनेर ।

विश्वकप फुटबल, युरोकप फुटबल, ओलिम्पक र विश्वकप क्रिकेट लगायतका ठूला प्रतियोगिताहरुमा विश्वभरि बाट दर्शकहरु प्रत्यक्षरुपमा हेर्न पुगिरहेका हुन्छन भने अहिले त झन टेलिभिजन र ईन्टरनेटबाट पनि प्रत्यक्ष प्रसारण हेर्ने करोडौ दर्शक हुने गर्दछ । यस्ता खेलका आयोजकहरुले टेलिभिजन प्रत्यक्ष प्रसारणको अग्राधिकार मार्फत नै करोडौ पैसा पाईरहेका हुन्छन ।

खेलकुदको बढ्दो टिभी प्रसारण, मिडिया रिपोर्टिङको साथसाथै हाइलाइटहरू, रिप्लेहरू, कमेन्टरी, तथ्याङ्क र विश्लेषण सहितको बढ्दो प्रयोगको कारणले खेलस्थलमा प्रत्यक्ष पुगी खेल हेर्ने दर्शकमा केहि कमी आईरहेको देखिन्छ । तैपनि जुन आनन्दको अनुभव खेलस्थलमा प्रत्यक्ष उपस्थित भई पाईन्छ, खेलको त्यो मजा अन्य तरिकाले पाउन सकिदैन ।

सामान्यतया, परिचित वातावरणमा खेलाडीहरूले राम्रो प्रदर्शन गर्छन् र धेरै सहज मान्छन् दर्शकको उपस्थितिले आत्मीयता बढाउँछ त्यसैले त होम र अवे खेल को अवधारणा फुटबल लगायत खेलमा आईसकेको छ । खेलाडीलाई हर्षोल्लास गर्दै साथ दिन दर्शकदिर्घामा बसेका दर्शकहरूको उपस्थितिले धेरै महत्त्वपूर्ण अर्थ राख्दछ किनभने यस्तो अवस्थामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नु अघि दर्शकको माया र कम नर्भस महसुस गर्ने गर्दछ। नौलो र अपरिचित स्थानहरुमा खेलाडीहरूले चिन्ता महसुस गर्नु सामान्य हो जसले गर्दा कतिपय राम्रा खेलाडीहरुको प्रदर्शन पनि सोचेजस्तो नहुन सक्दछ ।

खेलकुदका दर्शकका रवैया फरकफरक किसिमका देख्न पाईन्छ । कोहि दर्शक अत्यन्त भलादमी, सभ्य र खेलभावना भएका हुन्छन भने कोही अत्यन्त उत्साही र उत्तेजक खालका हुन्छन । कतिपय अवस्थामा दर्शकहरु हुलदंगामा समेत उत्रिदा खेल नै रद्द सम्म गर्नुपरेका उदाहरण प्रशस्त छन । समर्थकहरु सधै आफ्नो टीमले नै खेल जितोस भन्ने चाहन्छन र हारेको हेर्न चांहदैनन तर खेलमा हार जित त स्वभाविक नै हो । विश्वमा यस्ता खेल समर्थकहरु पनि छन् जसले आफ्नो टिम हारेको अवस्थामा हुलहुज्जत गर्ने, झैझगडा गर्ने, खेलस्थलको वातावरण विगारिदिने लगायतको अशोभनिय कार्य गर्ने गरेका छन् । युरोपका फुटबल समर्थक त्यसमाथि पनि इङ्गल्याण्डका फुटबल समर्थकहरुका यस्ता कार्यबाट खेल आयोजक राष्ट्र संधै चिन्तामा रहने गर्दछ ।

नेपालमा पनि भलिबल, फुटबल लगायतका घरेलु प्रतियोगिताहरुमा समर्थकहरुका विविध अवान्छनीय गतिविधिहरु देख्न सकिन्छ । दशरथ रंगशालमा हुने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा रंगशालामा मै पुगेर खेलको आनन्द लिने वातावरण त्यहां हुने विविध गतिविधि र दर्शकहरुले प्रयोग गर्ने छाडा शब्दहरुका कारण आफ्ना परिवारसंग जांदा निकै असहज महशुस हुने गरेको हामी सबैले भोगेकौ छौ । कतिपय अवस्थामा प्रतियोगिता स्थलको कुर्ची विगार्ने, खेलाडी तथा अफिसियलहरुलाई बोटल प्रहार गर्ने, समर्थकहरु एकआपसमा झगडा गर्नुका साथै अन्य संरचनाहरु विगार्ने जस्ता गतिविधिहरु हालैका दिनमा फुटबल, क्रिकेट प्रतियोगिताहरुमा मात्र नभई अरु खेलका प्रतियोगिताहरुमा पनि देख्न सक्छौ । विशेष गरी समूहमा खेलिने खेलहरुमा यस्ता दर्शकको उपस्थिति नेपालमा मात्र नभई विश्व भरि नै रहेको पाईन्छ, जसलाई नियन्त्रणमा लिन कतिपय अवस्थामा सुरक्षाकर्मीहरुले बल समेत प्रयोग गर्नुपरेको अवस्था देखिन्छ ।

तसर्थ यस्तो अवस्था आउन नदिन हामी दर्शकहरु स्वंम सभ्य र अनुशासित हुनुपर्ने देखिन्छ । वास्तविक खेल र तयारी दुवैमा खेलाडीको प्रोत्साहन गर्ने, प्रतिपक्ष समर्थकको भावनाको सम्मान गर्ने, प्रयास गरेको कुरालाई जोड दिने, प्रतियोगिताको दौरान सभ्य रुपमा प्रस्तुत हुने र खेलाडीहरुलाई आत्मविश्वास बढाउने खालका गतिविधिहरुलाई महत्त्व दियौ भने हामी सबै राम्रा दर्शक बन्न सक्छौ । सभ्य दर्शक र समर्थकको साथ पाएको अवस्थामा खेलकुद प्रतियोगितामा खेलाडीको प्रद्रर्शन र सकारात्क नतिजाको अपेक्षा गर्न सकिन्छ । दर्शक विनाको खेल नुन विनाको तरकारी जस्तै हुन पुग्छ । खेलाडी, अफिसियल र आयोजक तथा प्रायोजक कसैको पनि दर्शक विना यथोचित उद्देश्य पूरा हुन सक्दैन । दर्शकको उपस्थिति बढाउन पक्कै पनि राज्यले खेलकुदमा लगानी त बढाउनु पर्छ नै यसका साथै निजी क्षेत्रलाई पनि संगसंगै लाने निती तर्जुमा गर्नुपर्ने देखिन्छ ।

राजन बिक्रम प्रजापति
पुर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा अन्तराष्ट्रिय रेफ्री

 

प्रतिक्रिया दिनुहोस्