१९ श्रावण ,सिन्धुपाल्चोक । जिल्लाको गौरवको आयोजना सदरमुकाम चौतारामा निमार्णाधीन मिनि रंगशालाको शुक्रबार प्रदेश सांसद तथा निवर्तमान भौतिक पूर्वाधार मन्त्रि युवराज दुलाल शरद सहित सरोकारवालाहरुले अनुगमन तथा निरीक्षण गरेका छन् । सांसद दुलालले सुरुमा सम्झौता भएको निमार्ण कम्पनीसंग निरन्तर छलफल गरेर अवस्था बुझ्दा र उसले हाल नयाँ पाटनरलाई जिम्मा दिएर निमार्ण सम्पन्न गर्ने प्रतिबद्धता जनाएपछि अहिले कामले गति लिएको बताए । यसअघि म्याद थप गर्दा पनि काम नगरेको पाइएपछि प्रदेश सरकारले समझौता रद्ध गर्ने अवस्थामा समेत पुगेको थियो ।
रंगशाला निमार्ण गति बढाउन पटक पटक छलफल गर्दा विभिन्न समस्या देखाउने गरेको र गर्छु भन्दै म्याद थप गराउन लगाउने गरेको दुलालले बताए । अहिले निमार्ण कम्पनीसँग छलफल भएअनुसार लिखित रुपमा सर्त राखेर निमार्ण कार्य सम्पन्न गर्न जोड दिइएको उनको भनाई थियो । साथै निमार्ण कार्यका लागि वातावरण सहज बनाइदिन स्थानिय सरोकारवालालाई समन्वय गरिदिने समेत उनले बताए ।
कछुवाको गतिमा निमार्ण भइरहेको सिन्धुबासीको गौरवको आयोजना मिनि रंगशाला निमार्ण अहिले तिव्र गतिमा हुन थालेको छ । निर्माणको ठेक्का पाएका गिरी कन्ट्रक्सनले पाटनर जेबी लिम्बु सुनकोशीलाई रंगशाला निमार्ण सम्पन्न गर्ने जिम्मेवारी दिएपछि लिम्बुले ४० जना कामदार खटाइ धमाधम काम गरिरहेको छ । सुनकोशी गिरी जेबी कन्सट्रक्सनका लिम्बुले असार मसान्तसम्म रंगशाला निमार्ण सम्पन्न गर्ने बताएका छन् ।
विसं २०७६ मा निर्माण थालिएको मिनि रंगशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णता पाउन नसकेको हो। रंगशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने विश्वास लिएको छ । रु ४१ करोड ६२ लाखमा गिरी कन्स्ट्रक्सनलाई तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का दिएको थियो । सम्झौताको मिति सकेर म्याद थप गरेपनि अहिलेसम्म निमार्ण सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनीले विभिन्न बाहाना देखाउँदै निमार्णाधीन रंगशाला अलपत्र बनाएका थिए ।
यसअघिका ठेकेदारले म्याद थप गर्ने समयमा कामदार, निमार्ण समाग्री ल्याउने फेरी केही समय पश्चात कामदार पनि थोरै मात्रमा देखिने स्थानीयले गुनासो पोखेका छन् । नियमित जसो खेलकुदको गतिविधि भइराख्ने ग्राउण्डमा निमार्ण कार्य कछुवाको गतिमा भएकाले समस्या भएको जिल्ला फुटबल संघका अध्यक्ष अमृत श्रेष्ठले गुनासो गरे । यस पटक भने तोकिएको समयमा गुणस्तरीय काम सहित रंगशाला निमार्ण सम्पन्न होला भन्ने आशा रहेको स्थानीयले बताए । डीपीआरमा उल्लेख गरिएअनुसार रंगशालामा छ हजार दर्शक अटाउन मिल्ने प्यारापिट निर्माण हुनेछ। रंगशाला भित्र करिब पाँच सय सवारी साधन पार्किङ गर्न सकिने गरी निर्माण हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्