२०८१ श्रावण १२
                           

दलित समुदायबाट निर्वाचित एक्ला अध्यक्ष, जो सेवा दिन वडावासीको घरमै पुग्छन्

रामकृष्ण थापा – हँसिलो अनुहार, नरम बोली, मिहिनेती, अनुशासित र काममा पारदर्शिता ३९ वर्षीय युवा वडाध्यक्ष रवीन्द्रकुमार खातीका व्यक्तिगत पहिचान हुन्।

दलित, निम्नवर्गीय परिवार र समाजमा हुने विभेद सहेर पनि बुबा गजमान र आमा धनशोभाले पाँच सन्तानलाई राम्रोसँग पढाए। रवीन्द्र जेठो सन्तान हुन्। पढाइमा तीक्ष्ण भएकाले सानैदेखि रवीन्द्रमा आलोचनात्मक चेतको विकास भयो।

माओवादी जनयुद्धले लपेट्दै गर्दा बुबा गजमान ०५८ सालमा जनसरकारमा समेटिए। भाइ राजेन्द्र भूमिगत भए। खान, लाउन धौधौ पर्ने उनको परिवारमा त्यसपछि झन् संकट सुरु भयो।

तत्कालीन शाही सेनाले खोज्न थालेपछि भागेर जिल्लाको पल्लो खोलाकिनार तिपेनीमा पुगे। त्यहाँ पुगेर उनको परिवारले सुनचाँदी पसल स्थापना गर्‍यो। ०५९ सालमा एक लाख ऋण खोजेर खोलेको पसलबाट जेनतेन जीवन चलेको थियो। तर, जहाँ पुगे पनि सेनाले पिछा लाग्न छोडेन। पसलको काम छोडेर तीन वर्षसम्म उनको बुबाले सेनाको ब्यारेकमा तारेख धाए। त्यो समय जीवनको कहालीलाग्दो समय थियो।

महिला र अशक्तलाई घरमै पुगेर सेवा प्र्र्रदान गर्छन्।

वडाको कामलाई पहिलो प्राथमिकतामा राखेका खाती बाँकी समयमा नेपाल दलित मुक्ति मोर्चा र सुनचाँदी व्यवसायी संघको भूमिकामा रहन्छन्। उनी मोर्चाको सिन्धुपाल्चोक संयोजक र संघको महासचिव हुन्।

दिनभरि खट्न सक्ने उनको काम र लगन देखेर आजभोलि वडावासी खुसी छन्। वडाध्यक्षज्यू भनेर नमस्कार गर्न कोही हिच्किचाउँदैनन्। सायद समयको माग बुझेर होला बाहुनक्षेत्री समुदायले पनि उनलाई प्रत्यक्ष रूपमा कुनै विभेद गर्दैनन्।

दलित समुदायको जनप्रतिनिधि भएकाले पनि वडामा विभेद, छुवाछुत र अन्धविश्वास हट्दै गएको छ। ‘विगत वर्षहरूमा मैले दलित हकहित सरोकार केन्द्र स्थापना गरेर चेतना भर्ने काम गरेँ। दलित सरोकार नामक पत्रिका सम्पादन गरेर सन्देश प्रवाह पनि गरेँ,’ उनले अनुभव सुनाए।

वडाध्यक्ष भएर जनताको काममा प्रत्यक्ष जोडिँदा सन्तोष मिलेको उनले बताए। ‘वडालाई कम अधिकार छ। तर, कामचाहिँ तलबाटै हुनुपर्ने रहेछ,’ उनले भने।
राज्यको स्रोतसाधन आवश्यकता र व्यवस्थित तवरले हुन नसकेको उनको बुझाइ छ। स्थानीय सरकारको नेतृत्वले आफूले भोट पाएको आधारमा बजेट बनाउँदा जनता अन्यायमा पर्ने गरेको उनको तीतो अनुभव छ।

०७४ को स्थानीय निर्वाचनपछि खाती कार्यापालिका सदस्य भएका थिए। त्यसवेला अनुशासन र न्यायिक समितिमा रहेर काम गरेका थिए। त्यसवेला जनप्रतिनिधिको रूपमा इटालीको मिलानो सहरमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन मेलामा सहभागी भएर अनुभव हासिल गरेका छन्।

अहिले पालिकामा सामाजिक विकास समितिको संयोजक भएर भूमिका निर्वाह गरिरहेका छन्। बागमती प्रदेशको १३ जिल्लामा दलित समुदायबाट सात वडाध्यक्ष छन्। खाती सिन्धुपाल्चोकमा रहेका एक सय तीन वडाध्यक्षमध्ये दलित समुदायबाट एक्लो हुन्। नयाँ पत्रका

प्रतिक्रिया दिनुहोस्