सुकुटे । बागमति प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले कफी संस्कृतिको विकास गर्नु पर्ने बताउनु भएको छ ।
कफी सहकारी संघ लिमिटेड सुकुटेको ११ औं साधारणसभालाई शनिबार उद्घाटन गर्दै सांसद पौडेलले कफीको संभावना रहेको क्षेत्रमा विद्यालयतहबाट नै विद्यार्थीहरुलाई सो को विषयमा सैद्धान्तिक र व्यवहारिकरुपमा नै अध्यापन गराउनु पर्ने बताउनुभयो ।
ज्ञान आर्जन एउटा विषयको हुने र व्यवसाय अर्कै विषयमा गर्नुपर्दा मूलुकमा बेरोजगारको समस्या बढ्दै गइरहको सांसद पौडेलेको भनाई थियो । उहाँले विद्यालयबाट नै विदेश जाने मान्छे उत्पादन गरिरहेको भन्दै जहाँ जे चिजको संभावना छ, त्यो चिजको विकास,विस्तार र शिक्षा विद्यालयस्तरबाट दिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
कफी सहकारी संघका केन्द्रीय अध्यक्ष तुल्सी धितालले सरकारले सबै सहकारीहरुलाई एउटै बास्केटमा राखी नीति र कार्यक्रम बनाउँदा त्यसले उत्पादनमुखी सहकारीहरुलाई अन्याय भएको बताउनुभयो ।
शुभकामना मन्तव्य दिंदै नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले उत्पादन विना समृद्धिको सपना साकार नहुने भन्दै उत्पादनमूलक सहकारीहरुलाई सरकारले विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमा चौतारा साँगाचोकगढी नगरपालिका वडा न ११ का वडा अध्यक्ष दीपेन्द्र नेपाल, सुनकोसी गाउँपालिका वडा न ४ का वडा अध्यक्ष भोजलाल श्रेष्ठ, कृषि सहकारी संघका अध्यक्ष मित्रलाल चौलागाइँ लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संंघकी अध्यक्ष मन्दु थापाले प्रगति विवरणसहित बिदेशमा कफीको माग बढ्दो भए पनि सो अनुसार उत्पादन हुन नसकेकोमा दुखेसो पोख्नु भयो । उहाँले कफीमाथि पनि कर लगाएर सरकारले कृषि र उत्पादनलाई हतोत्साही गरेको आरोप पनि लगाउनु भयो ।
कार्यक्रममा कफी उत्पादनको क्षेत्रमा अतुलनीय योगदान पु¥याउनु भएका हेलम्बुका मुनबहादुर पण्डित, मेलम्चीका रुद्रबहादुर बस्नेत, सुनकोसीका रेशमबहादुर भण्डारी, भोजलाल श्रेष्ठ,बाह्रबीसेकी गोमा पौडेल चौतारा साँगाचोकगढीका यम महत, इन्द्रावतीका श्यामबहादुर कटुवाल र नमूना कृषि सहकारी संस्था लि बाह्रवीसेलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्