२०८१ जेष्ठ ८

बस्नेत मन्त्रीजीको बबण्डर

नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत प्रोपगन्डा गर्नमा माहिर मानिन्छन् । नेपाल सरकारको सय दिन पुगेको दिन कुनै विशेष कार्यक्रम गरिँदैन । प्रवक्ताबाट सम्पादित कामको जानकारीसम्म गराइन्छ ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले भने सय दिन पूरा गरेको अवसरमा राष्ट्रिय सभा गृहमा बृहत् नाटक मञ्चन गरेका छन् भने एक जना मन्त्रीले सय दिन पूरा गरेको कार्यक्रममा प्रमुख अतिथि भएर जान प्रधानमन्त्रीलाई शरम पनि भएन । जुन बेला राष्ट्रिय सभागृहमा प्रधानमन्त्री, मन्त्री नाटक मञ्चन गर्दै थिए, ठीक त्यही बेला कांग्रेस संसदीय दलको बैठकमा कांग्रेसका सांसदहरू आगो ओकेलिरहेका थिए ।

शक्तिको पूजा गर्न माहिर बस्नेतले शेखर, शेरबहादुरलाई खुशी पारेर मन्त्री खाएका छन्, पद बचाएका छन् । केही वर्षअघिको टेलिभिजन क्लिपमा शेखर मेरो कर्मचारी थिए भन्ने तुच्छ शब्द प्रयोग गरेका बस्नेत काजी अहिले शेखर, शेरबहादुर मिलेपछि पार्टीमा अरु शक्ति नै छैन भनेर शक्ति केन्द्रको चाकडी गर्न थालेका छन् ।

बस्नेतले भनेका कुनै पनि कुरा कार्यान्वयन गर्न सकेका छैनन् । विदेश भ्रमणमा कसैलाई पनि डबल पठाउँदिन भनेका थिए, केही महिनापहिले श्रीलंका गएर आएका गोपाल पाण्डेलाई पुनः कोरियाको लागि मनोनयन गरेका छन् ।

बिमामा काम गर्ने उच्च तहका व्यवस्थापकलाई आएको भ्रमण कोटामा सचिवालयमा काम गर्ने कर्मचारी आसेपासेलाई मनोनयन गरेका छन् । बालरोग विशेषज्ञलाई योजना प्रमुख बनाएका छन् । मेडिकल सुपरिन्टेन्डेन्ट समूहकोलाई समन्वय प्रमुख बनाएका छन् । तलका अहेब हेअलाई डण्डा बर्साउने मन्त्रीले माथिल्लो तहबाट पद दरबन्दी मिलाउन सकेका छैनन् ।

विगतमा राष्ट्रिय स्वास्थ्य नीति ०४८ र डा. रामवरण यादवको पालामा बनेको जनशक्ति योजना संघीयताको नाममा तहसनहस बनाइयो । अहिले पनि स्वास्थ्य सेवामा जनशक्ति योजना पूर्वाधार योजना यन्त्र उपकरण प्रविधि योजना रणनीतिलगायत धेरै गहन काम गर्नुपर्नेमा गोष्ठी सेमिनार भाषणमा रमाउने मन्त्रीबाट आश गर्ने ठाउँ धेरै छैन ।

आरजुको आडमा मन्त्रालयमा जे जति तान्डव नृत्य गरे पनि नेपाली कांग्रेस पार्टीमा कोही पनि बोलेका छैनन् । डा. भूपेन्द्र बस्नेत र अनिल कार्कीको सहयोगमा मन्त्रालयमा राज्य गरेका छन् ।जनआस्था

प्रतिक्रिया दिनुहोस्