२०८१ मंसिर २३
                           

कवितामा ऊर्जा हुन्छ, मानिसलाई रूपान्तरण हुन सघाउँछ: रमेश क्षितिज

काठमाडौं । भर्खरै बजारमा आएको कवि रमेश क्षितिजकृत कविता संग्रह ‘पर्वत पर्वतमा बटुवा घाम’ माथि समीक्षक राजकुमार बानियाँले लेखेका छन्, ‘खासमा कविताले क्रान्ति गर्ने भन्दा पनि मन परिवर्तन गरिदिने रहेछ । रमेश क्षितिज बागीभन्दा पनि जोगी हुन रुचाउने कवि हुन् । आम कवि बाहिरी संसारमा कविता खोज्छन् । तर, रमेश क्षितिज आफैंले आफैंलाई खोज्ने वा चिन्ने कविता लेख्छन् ।’

‘पर्वत पर्वतमा बटुवा घाम’ क्षितिजको तेस्रो कविता संग्रह हो । उनका ‘अर्को साँझ पर्खेर साँझमा’ (२०५६) र ‘घर फर्किरहेको मानिस’ (२०६९) प्रकाशित छन् । पेशाले ब्युरोक्रेटस् रहेका क्षितिजलाई लाग्छ, ‘जागिरको कार्यसम्पादनमा पनि कविताले सहयोग गरेको छ । कर्तव्यनिष्ठ तरिकाले काम गरुँ, न्याय प्रदान गरुँ, मानिसहरुको हितमा काम गरुँ भन्ने भावनाको पछि कवि हुनुको आदर्शले पछ्याइबस्छ मलाई’, उनै कवि क्षितिजले नेपालप्रेससँग कवितामाथिका आफ्ना धारणा, विचार र अनुभूति साटेका छन् ।

अघिल्ला दुई कविता संग्रह र ‘पर्वत पर्वतमा बटुवा घाम’बीच तात्विक फरक

कविता भनेको समयको दस्तावेज पनि हो । कवि बाँचेको समय लिपिबद्ध हुन्छ कवितामा । यसैले कविता पढ्नु भनेको उसबेलाको इतिहास, संस्कृति, समाजको मनोविज्ञान र उसको संघर्ष पढ्नु पनि हो । समाजसँग कविले कसरी अन्तरक्रिया गरेको छ, उसको अनुभूति पढ्नु पनि हो ।

पहिलो संग्रह ‘अर्को साँझ पर्खेर साँझमा’ गाउँबाट शहर पसेको एक युवाले लेखेको संग्रह थियो । जसमा ग्रामीण विम्बहरू छन् । अलिक बढी सपना, संघर्ष र स्मृति चिन्तन छ । त्यो बेला कविता सहज तरिकाले लेखिने भएकाले कवितामा सरलता पनि छ । अर्को संग्रहको एक दशकमा हामीले लामो द्वन्द्व, त्रासदी र भोलि के हुने हो भन्ने संशय खेप्यौं । देशले शान्तिपूर्ण समाधान निकाल्यो । राजतन्त्रबाट मुलुक गणतन्त्रमा गयो । विषयवस्तुका हिसाबले यी सामाजिक र राजनीतिक विषयवस्तुसँग जोडिएर कविताहरू आउने नै भए । केही आफ्ना चिन्तन । केही यस्तै विषय थिए कवितामा ।

तर, तेस्रो कविता संग्रह पृथक होस् भन्ने इच्छा थियो मलाई । मानिस भनेको एउटा यात्री नै हो । यो जीवन यात्रामा के के देखियो के के भोगियो ? आफ्नो जीवन दर्शन के हो ? उमेर र अनुभवको लामो सफरले सिकाएका पाठहहरू के हुन् ? त्यो पनि कवितामा आउनुपर्छ र कविताहरू पढ्दा पढ्नेलाई त्यसले सम्यक ऊर्जा र अभिप्रेरणा पनि देओस् भन्ने लागिरहन्थ्यो मलाई । यसैले ‘पर्वत पर्वतमा बटुवा घाम’मा बढी जीवनबोधी कविताहरू छन् । अलि बढी दार्शनिक चिन्तन, पूर्वीय सभ्यता र अन्तस्करणमा ऊर्जा दिने विषयवस्तुका कविताहरू छन् । प्रत्येक संग्रहमा शिल्प, विचार र विम्ब विधानमा नवीनताको खोजी पनि गरेको हुँला र सँगसँगै आफ्नो ब्रान्ड वा शैली पनि रहने भयो नै ।

प्रशासकको आँखाबाट कविता

प्रशासक हुनु, सैनिक हुनु, राजनीतिकर्मी वा किसान हुनु, त्यो आवरणको कुरा भयो । त्यो एक पेशा वा कर्म भयो । मानिसभित्र पनि अर्को मानिस हुन्छ । मुख्य कुरा भित्रको त्यो मानिस के हो, कस्तो हो भन्ने कुरा हो । मभित्र एउटा कोमल मानिस छ, जो कवितालाई प्रेम गर्छ । कविता कर्म रुचाउँछ । कविताप्रतिको समर्पण र सम्मानले गर्दा म जहाँ उभिएर हेरे पनि कविता त उस्तै देखिन्छ । उस्तै महान र उस्तै अर्थपूर्ण ।
हामी कहाँ बसेर लेख्यौं भन्दा पनि के लेख्यौं भन्ने कुरा महत्वपूर्ण हुन्छ होला । व्यक्तिगत रूपमा मैले विभिन्न पेशा व्यवसायमा रहेका वा सामाजिक जीवनका फरक क्षेत्रका हजारौं मानिसहरूलाई भेट्ने अवसर पाएँ । विभिन्न भूगोलमा बसेर काम गरें । यसले मानिसका सुखदुःख र सपनाहरुसँग साक्षात्कार हुने र आफ्नो दृष्टिकोणलाई फराकिलो बनाउने अवसर प्राप्त भयो । सार्वजनिक सेवामा रहँदा अलि बढी जिम्मेवार अनुभव गर्नु र संयमित हुनु स्वाभाविक नै भयो ।

केही सीमितता चाहिँ हुने रहेछन् । अहिले पनि ‘पर्वत पर्वतमा बटुवा घाम’ प्रकाशनपछि धेरै ठाउँमा शुभेच्छुक मित्रहरूले बोलाउनु भएको छ । कार्यक्रम आयोजना गर्न खोज्नुभएको छ । तर, जिम्मेवारीमा हुँदा समय व्यवस्थापन गर्न नसकिँदो रहेछ । कतै राम्रा कार्यक्रमहरूमा सहभागी हुन पाइँदैन भने कति पाण्डुलिपि थन्किबस्छन् । तर, आफ्नो प्रकारका सीमा जहाँसुकै हुन्छन्, त्यसलाई स्वीकारेर आफ्नो यात्रालाई निरन्तरता दिनुपर्छ ।

विम्ब बढी चलाउनुका जटिलताहरु

कविताको भाषा प्राञ्जल र कलात्मक हुनुपर्छ । यसैले सामान्य बोलीचालीको भाषाभन्दा यसमा विम्ब, प्रतीक र अभिधा अर्थहरू बढी हुन्छन् । यसको उचित प्रयोगले भाषा काव्यिक हुन्छ । लालित्यपूर्ण हुन्छ । तर, अमिल्दो र जटिल प्रयोगले कविता दुरुह हुने गर्दछ ।

मलाई विम्बात्मक कविता मनपर्छ । म नयाँ नयाँ विम्ब प्रतीकहरू प्रयोग गर्न रूचाउँछु । यो मेरो आफ्नोपन हो । तर, विम्बको प्रयोग म सचेतनापूर्वक गर्नुपर्दछ भन्ठान्छु । यसको प्रयोगले थोरै शब्दमा धेरै कुरा मीठो गरी भन्न पाउनुको मजा बेग्लै हुन्छ । केही जटिलता चाहिँ कविता वाचन गर्दा हुनसक्छ । यस्तो कविता वाचन गर्दा तुरन्तै ताली पड्काउने खालका नभएर पाठकको एकाग्रता र मुडको माग गर्ने हुन सक्ला ।

कविता लेखनको खास आनन्द

लेखनको खास आनन्द के हो भने तपाईं अरूसम्म पुग्न सक्नुहुन्छ । लेखकका सुखदुःख, अनुभूति वा चिन्तन पनि अरु आममानिस झैं हुन्छन् । तर, लेखकले यसलाई निकास दिन्छ र पुग्छ टाढा टाढासम्म । यसरी आफ्ना भाव, स्वभाव पनि सार्वजनिक बन्छन् ।

जहाँ जहाँ सृजना पुग्छन्, तपाईं त्यहाँ पुग्नुहुन्छ एक अर्थमा र स्पर्श गर्नुहुन्छ अरूलाई । त्यो स्पर्शले अरूको चेतनामा छुन्छ । यसरी पाठकले आफूलाई त्यहाँ भेटेपछि त्यहाँबाट प्रतिक्रिया वा प्रेम प्राप्त हुन्छ । त्यो भनेको तपाईंलाई देखेर ढोका खोलिदिनु, आत्मीयतापूर्वक स्वागत गर्नु जस्तो । तपाईंको कथा सुनिदिनु र त्यसमा एकाकार भइदिनु जस्तो । आफ्ना पुस्तक र सृजना पुगेको ठाउँमा म पनि पुगेको छु जस्तो लाग्छ । यो बेग्लै आनन्द हो ।

कविता जीवनका लागि हो । कविताविना पनि सुन्दर र सार्थक जीवन जिउन सकिन्छ । तर, मैले भनेको छु- असल कविता पनि मन्त्र नै हुन् । त्यसो भन्नुको अर्थ के हो भने कवितामा ऊर्जा हुन्छ, मानिसलाई रूपान्तरण हुन सघाउँछ । घृणा, द्वेष, ईर्ष्या र अपमानको भाषा कविता होइन । बरू प्रेम, करूणा, मैत्री र समभावको उद्घोष गर्छ कविताले । यसरी उज्यालोको पक्षमा, न्याय र मानवताको पक्षमा उभिने भएकोले कविता मानिसको असल साथी बन्नसक्छ । कविताले जीवनलाई कलात्मक बनाउछ र नयाँ रङ दिन्छ । दुःखको बेला, संघर्षको बेला कविताका पंक्तिले मानिसलाई शक्ति भर्ने काम गर्छन् ।

नेपालप्रेस

प्रतिक्रिया दिनुहोस्