२०८१ श्रावण १२
                           

तातोपानी नाका : निर्यात ठप्प, आयात फाट्टफुट्ट

साउन ३, २०८०- गत वैशाख १८ गते नेपाली सामाग्री बोकेको कण्टेनरलाई चिनियाँ अधिकारीहरुले दुई मुलुकबीचको सबैभन्दा पुरानो नाकामा बडो धुमधामका साथ भव्य स्वागत गरे । त्यसपछि धेरैलाई सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकास्थित तातोपानी नाका पुरानै अवस्थामा फर्कने विश्वास जागेको थियो ।

२०७२ सालको भूकम्पलगत्तै एकतर्फीरुपमा मात्र सञ्चालनमा आएको उत्तरको तातोपानी नाका आठ वर्षपछि दुईतर्फी रुपमा नै सञ्चालनमा आउने बताइयो । औपचारिकरुपमा नाका पुन सञ्चालनमा आएपछि यहाँका व्यापारी, राजनीतिकर्मी र स्थानीय खुशील गद्गद् भए । तातोपानी नाका पुरानै लयमा फर्कने सबैले विश्वास गरे ।

तर सो दिन बाहेक एक कण्टेनर सामान पनि नेपालबाट उता नगएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । वैशाख १८ गते  बाँसका मुडालगायत नेपाली सामाग्री बोकेर सात कन्टेनर गाडी चिनियाँ भूमिमा प्रवेश गरेका थिए । त्यस यता कुनैपनि सामाग्री निर्यात नभएको तातोपानी भन्सार कार्यालका प्रमुख दयानन्द केसीले जानकारी दिए ।

‘निर्यात त के वैशाख १८ गतेदेखि यताबाट आयातमा पनि कमी आएको छ ।  दैनिक डेढ दर्जन गाडीमा चिनियाँ सामाग्री नेपाल भित्रिने गरेको थियो । तर अहिले स्याउ, लसुनलगायत सामग्री बोकेर मुश्किलले एकाध गाडी मात्र नेपाल भित्रिने गरेको छ,’ उनले भने । यसबाट राजश्व संकलनमा पनि कमी आएको छ । लगभग तीन अर्ब २२ करोड रुपैयाँ मात्र राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ । उक्त नाकाबाट ४ अर्ब ६३ करोड राजश्व संकलनको लक्ष्य राखिएको थियो ।

कुनैबेला ५ खर्ब राजश्व संकलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएको तातोपानी भन्सार कार्यालयले भूकम्पयता नगण्यरुपमा राजश्व संकलन गर्दै आइरहेको छ । सयौंको संख्यामा मजदुर र साना व्यापारीलाई समेत रोजीरोटी दिइरहेको तातोपानी नाका बन्द भएपछि त्यहाँ आश्रित मजदुर र साना व्यापारीहरुको आम्दानी मात्र गुमेको छैन, उनीहरुको बिचल्ली नै भएको छ ।

तातोपानी नाकाको भविष्य अन्यौलग्रस्त भएपछि यहाँका ठूला र कहलिएका व्यापारीहरु धमाधम समुद्री मार्गबाट कलकत्ता हुँदै सामान आयात गरिरहेका छन् । तातोपानी नाका पूर्ववत्् सञ्चालनका लागि पटक पटक कुटनीतिक पहल समेत भएको छ । सोहीबमोजिम वैशाख १८ गतेदेखि दुईतर्फीरुपमा नाका सञ्चालन भएको थियो । तर त्यसयता नेपालबाट कुनैपनि सामान निर्यात हुन सकेको छैन ।

खासगरी भूकम्प यता चिनियाँ पक्षले सडकको दुरावस्था, सुरक्षा र कोरोना महामारीको कारण देखाउँदै एकतर्फीरुपमा नाका सञ्चालन गदै आइरहेको थियो । वैशाख अघिसम्म उताका सामान मात्रै नेपाल भित्रिएको थियो । वैशाख तेस्रो सातादेखि मानव आवागमन बाहेक दोहोरो नाका सञ्चालनमा आएको घोषणा गरियो । तर, त्यसपछि निर्यात ठप्प, आयात फाट्फुट्टको अवस्थामा पुगेको छ ।जन अास्था

प्रतिक्रिया दिनुहोस्