२०८१ श्रावण १२
                           

सुनकोशीले सामुदायिक र निजी विद्यालयहरुमा स्थानीय पाठ्यक्रम गर्यो लागु

चौतारा ,१९ जेठ
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभरका सामुदायिक तथा निजी विद्यालयहरुमा शैक्षिक सत्र ८०÷८१ बाट स्थानीय पाठ्यक्रम लागु गरेको छ । गाउँपालिकाभरका विद्यालयका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेर बैशाख देखि नै पठन पाठन सुरु गरेको हो । गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सार्वजजिनक गरेका छन् ।

नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले सबै विद्यालयहरुमा लागु गरेको हो । स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचीत जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको पहिलो वर्षमा नै शैक्षिक क्षेत्रमा स्थानीय विषय बस्तुलाई समेत समावेश गर्नका लागि स्थानीय पाठ्यक्रम तयार पारेर विद्यालयहरुमा कार्यन्वयनका लागि पठाएको हो ।

गाउँपालिकाले वाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो । कार्यदलले दुइ महिना लगाएर सरोकारवाला र सम्बन्धीत विज्ञहरुसँग छलफल र राय सुझाव समेटेर हाम्रो सुनकोशी नाम दिएर स्थानीय पाठ्यक्रम तयार गरेको थियो ।

स्थानीय पाठ्यक्रममा सुनकोशी गाउँपालिकाको परिचय, पालिका भित्रका सस्कृति संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मीत सम्पदा, घरेलु उद्योग,पशुपन्छी, माछापालन, हाम्रा पेशा व्यावसाय लगायतका नौ विषयबस्तुहरु समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धी, विषय क्षेत्रगत कार्यघण्टा, विषय बस्तुको विस्तृतिकरण सिकाइ सहजिकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधी, विद्यार्थी मुल्यांकन लगायतका विषयबस्तुहरु समेटिएका छन् । स्थानीय पाठ्यक्रम लागु भएर कक्षा ८ सम्मको अध्ययन पुरा हुदा सबै विद्यार्थीहरुले गाउँपालिका भित्रको सम्पुर्ण जानकारी प्राप्त गर्न सक्षम हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए।

स्थानीय पाठ्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले स्थानीय पाठ्यक्रम लागु भएपछि गाउँपालिका भित्रका विद्यालयले आफ्नो भुगोलको बारेमा ज्ञान प्राप्त हुने बताए । आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अनुसार कक्षा– १ देखि ८ सम्म नै पाठ्यपुस्तक समेत तयार पारेर विद्यालयहरुमा उपलब्ध गराइने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामाले स्थानीय विषयबस्तु समेटेर तयार पारीएको पाठ्यक्रम विद्यार्थी,शिक्षक र विद्यार्थीहरुका लागि व्यावहारीक हुने बताइन । कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धीत विज्ञहरुले गाउँपालिकाले पहिलो वर्षमा नै सुरु गरेको यो प्रयास शैक्षिक सुधारका लागि महत्वपुर्ण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्