२०८१ बैशाख १३

उज्वल प्रसाईँकृत ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’ मा इतिहास-लेखन-चेतना

व्यक्तिको जीवनकथ्यसँग पाठकले सजिलै आफूलाई र परिवेशलाई सन्दर्भित गरी बुझ्न सहज हुने भएकोले जीवनी लोकप्रिय विधामा गनिन्छ र यसको बजार करिब सदाबहार हुन्छ। नेता, जर्नेल, कलाकार, डाक्टर, लेखकका आत्म/जीवनी पर्याप्त आइरहेका छन्। तिनले उठान गर्ने केही अनर्गल भ्रम र आवश्यक स्पष्टिकरणले सार्वजनिक विमर्शमा उर्जा थप्नुलाई राम्रै मान्नुपर्छ।

तथापि इतिहास लेखनको अभ्यासमा शोधमूलक र तथ्यलाई पर्याप्त बौद्धिक सचेतनाले विश्लेषण गरिएको व्यक्तिप्रधान जीवनी लेखनको विशेष महत्व हुनुमा अर्को कारण पनि छ। समाजको बृहत फलकमा व्यक्तिको चिन्तन र कार्यमार्फत इतिहासका ठूला/मसिना रहस्य अनावृत हुने र निश्चित ऐतिहासिक कालमा भएका घटनाक्रमका विविध आयाम र गुणदोषलाई वर्तमानमा ब्युँझाई ल्याउने भएकोले इतिहासकारहरुले जीवनी लेखनलाई महत्वका साथ लेख्छन्।

इतिहास लेखनको विशेष पद्धतिको रुपमा जीवनीले विगतलाई वर्तमान समक्ष स्पष्ट उघारेर देखाउँछ र महत्वपूर्ण विषयमा सामूहिक स्मृतिलाई धमिलो हुनबाट जोगाउँछ। नेपाली सन्दर्भमा भने जीवनी लेखनको यस्तो इतिहास-पक्षलाई आवश्यक महत्व दिइएको कमै पाइन्छ । सार्वजनिक पहिचान बनाएका व्यक्तिहरूको निजात्मक उहापोहको विवरण मार्फत तिनका सार्वजनिक विम्बलाई परिस्कृत गर्ने अथवा दोषपक्ष धोइपखाली मधुरो पार्ने र गुणपक्ष भने रङरोगन गरी गाढा बनाउने साँघुरो परम्परामै जीवनी लेखन अल्झिनु हुँदैन।

सार्वजनिक व्यक्तिको जीवन-वृत इतिहासको वर्तमानसम्मको यात्रा बुझाउने र इतिहासको बुझाइलाई समृद्ध बनाउने प्रभावकारी माध्यम पनि भएकोले यसले गुण र दोष सहितको व्यक्तिको जीवनकथालाई उसले भोगेको र आफ्ना कर्महरूले हस्तक्षेप गरी बदलिँदो परिस्थितिमा आफूलाई फेरेको फराकिलो ऐतिहासिक पृष्ठभूमिसहतिको कथ्य माग गर्दछ। अर्थात् जीवनी र इतिहासको समुपस्थिति हुनुपर्छ। यस्तै महत्वपूर्ण भूमिकामा दरिलो उभिएको छ, उज्वल प्रसाईँकृत ‘एक बागी : खगेन्द्र संग्रौलाको साधना र संघर्ष’।

समाज अध्ययनका क्षेत्रमा समसामयिक विश्वका बौद्धिक प्रवृत्तिसँग नेपाली सन्दर्भलाई जोडेर अखबारी लेखनमार्फत सामाजिक, राजनीतिक र ज्ञानोत्पादनका विविध विषयमा सूचित विमर्श गरिरहेका लेखक तथा अनुवादक उज्वल प्रसाईँको पछिल्लो पुस्तकले खगेन्द्र संग्रौलाको जीवनीलाई आँखीझ्याल बनाएर इतिहासलेखन बारे केही महत्वपूर्ण पक्षहरू उजागर गरेको छ। नेपाली समाजमा निरन्तर हस्तक्षेपकारी बौद्धिक कर्म गरिरहेका लेखक खगेन्द्र संग्रौलाको जीवनीले कस्तो महत्व राख्छ?

समाज र व्यवस्थामा निहित असंगतीका विरुद्ध चालिसौँ वर्ष लामो तर अर्थपूर्ण विमति राख्दै आएको कारण केही सत्ताधारी मानिसका लागि सधैँ ‘अप्ठ्यारा’ अनि निम्नवर्गका धेरै मानिसका लागि भने सदाबहार प्रिय बनेका ‘बागी’ लेखक खगेन्द्र संग्रौलाको जीवनीले कुन अर्थमा र कति हदसम्म उनले बाँचेको नेपाली समाजको कस्तो अनि कसको इतिहास बोल्छ? यस्तै यावत विषयमा पृथक उभिएको यो पुस्तक इतिहास लेखनको नेपाली सन्दर्भमा अर्थपूर्ण रहेको छ। नेपाली छापामा एक दर्जनजति प्रतिक्रिया छापिए पनि ‘एक बागी’ बारे खासै राम्रोसँग चर्चा भएको छैन।

शोधमूलक, शैलीगत नवीनता र भाषिक गुणस्तर अनि इतिहास र जीवनीको सन्तुलित विधागत सीमामा बसी नेपाली इतिहास र समाजको पछिल्लो समयका महत्वपूर्ण घटनामाथि सचेत टिप्पणीले उज्वल प्रसाईँको यो किताब बजारमा अलग्गै उभिएको मौलिक कृति हो भन्ने लाग्छ। साहित्य र समाज-विज्ञानमा रुचि हुनेका लागि यो किताब आफैँमा एउटा राम्रो सन्दर्भसामग्री हुन सक्छ र संकलनयोग्य छ। मैले त पढेँ। यस्तो गतिलो किताब पढ्दा अर्थपूर्ण महसुस हुने रहेछ।

प्रतिक्रिया दिनुहोस्