२०८१ श्रावण १२
                           

पाँच पोखरी डायरी: एक्लै हिँड्दा भेटिएका पाँच छाया

पुर्णिमा गिरि-लत हो, नशा हो। यात्रा एक मादकता। एक मोह।.. क्रमभंगता।

अझ पदयात्रा? यो एउटा कुख्यात लत भन्छु म।

खैर, लत जे सुकैको होस्, लागेपछि गाह्रो बनाउनु स्वाभाविक हो।

हुन त, कहिलेकाहीँ आफूलाई गाह्रो बनाउनु पनि थेरापी हो। उसो त म परपीडक भन्दा पनि स्वपीडक हुँ। पदयात्रा पनि एक स्वपीडन हो। यद्यपि, जान अन्जानमा परपीडक पनि भए हुँला। एउटा स्वपीडनको बोधार्थ मनोभाव।

साथीहरूसँगको योजनामा रहेको पाँचपोखरी पदयात्राले आफैंमा असफलता पाउनु र नेपाल सरकारले सोलो ट्रेकमा बन्देज लगाउनुले केही हतोत्साहित बनाएको त पक्का हो। तर, यसपटक म पछाडि हट्नेवाला थिइनँ। कोही नगए, एक्लै जान्छु भन्ने दृढ विश्वास थियो। त्यही विश्वासको डोरी समाउँदै पुगेकी हुँ- पाँच पोखरी र जुगल हिमालको प्रेमालाप नियाल्न। यी दुई जुगलबन्दीलाई छाम्न।

बिन्दु भारती र म जाने कुरो थियो। मैले पठाओ बोलाएँ र पुगेँ- नारायणटारको बसपार्क। जाँदाजाँदै टिकट काउन्टर बन्द भएछ। अर्को झट्काको पिङ मच्चियो। अझ पिङ मच्याउँदै काउन्टर वरपरका दाइहरू थप्छन, ‘दुइटा बसमात्र जान्छन्। त्यो पनि बाटो बिग्रिएकाले राम्चेसम्म मात्र। पहिलो बस त प्याक भइसक्यो।’

म गइनँ किनभने दोस्रो बस मेरो समय तालिकामा पर्दैनथ्यो।

होइन, यो पालि जानै लेखेको छैन कि क्या हो भन्ने लाग्यो। हतोत्साहको मात्रा बढेर सगरमाथा नै छुन्छजस्तो लाग्यो। केही बोलिनँ, मैले केही देखिनँ, केही बुझ्न सकिनँ। सरासर फर्किएँ, अघिकै पठाओमा बसेँ र कोठा फर्किएँ।

म आफैंलाई स्वपीडन दिइरहेकै थिएँ, अब पाँच पोखरी जान रोक्ने अर्को कारणले थप घाउ बनायो। म त्यही कोट्याउँदै बसिरहेँ। के के पो हुन सक्दो रहेछ भनेर हेरिरहें।..बिन्दु पनि केही कारणवश जान नसक्ने भई। मेरो मौनताले मौन धारण गर्यो।

***

भोलिपल्ट।

यो पटक म पक्का थिएँ, अटेर जिन्दगीको अगाडि म अझ अटेर बन्ने कुरामा। बिहान ०५:१० को लागि राखेको अर्लाम बजिसक्यो। उठ्न त म कलेज जाऊँ कि भन्ने सुरले उठेकी थिएँ तर अटेरी मनले भनिरहेको थियो- ‘यात्रामा मान्छे कहिले एक्लो हुँदैन, एक्लै भएँ भनेर आफ्नो योजनामा पानी फेर्नु मूर्खता हो।’

जे पर्ला पर्ला बसको सिट नै प्याक रहेछन् भने पनि गल्लीमै बसेर जान्छु भन्ने अठोट लिएँ।

यसपछि मन फक्रन थाल्यो। फुलेको मनलाई ओइलाउन नदिने हठ लिएँ र दौडिएँ बसपार्कतिर अर्थात् नारायणटारतिर।

मनको अगाडि अरू कुराले खासै महत्व पाएजस्तो मलाई लाग्दैन। ‘जिद्दी मनको जय होस्’ भन्दै आवश्यक लुगा कोचकाच पारेर लागेँ, नारायणटारतिर। सौभाग्य, एक मिनेटमात्रै ढिलो भएको भए बस छुट्ने रहेछ।

र, अलिकतिले नछुटेको बसमा बल्लबल्ल खुट्टा अटाएँ। यद्यपि सिट पाइँदैन भन्ने त अघिल्लो दिन नै थाहा थियो। कोचकाचको कोलाहलमय वातावरणसँग मौनताले जुगलबन्दी गर्यो। यो पनि यात्राको मिठास हो भन्ने ठानेँ। सुपर बसको लोकल पारासँग सम्झौता गरें।

सुपर बस- स्थानीयहरूलाई नचढाइ, ठाउँ ठाउँमा नरोकी लैजान्छ भनेर बिहानै गएको। भइदियो ठीक उल्टो। सुपर बसले ‘लोकल पारा’ देखायो। हिँड्न हिँडेको मान्छे, बसमा पनि उभिन पर्ने भयो। खुट्टा अभ्यस्त हुन्छन् भन्ने सोचेँ।

यसरी हुत्तिँदै हुत्तिँदै बिहानको करिब नौ बजे राम्चे पुगियो। आखिर जिन्दगीले पनि त हुत्याइरहने नै हो।  पर परको उमेरसम्म। केही रहरसम्म। केही वास्तविकतासम्म र केही सपनासम्म। उक्त बसले हामी यात्रुलाई राम्चेसम्म मात्र हुत्याउने निश्चित थियो र त्यहाँबाट छिम्तीसम्म अर्को हुत्याइँको पर्खाइ निश्चित थियो। एउटा विसंगत बाध्यतालाई मैले स्वभावतः ग्रहण गरेँ।

***

यात्रामा कोही एक्लो हुँदैन।  अर्को बस चढ्ने तरखरमा थिएँ; अचानक एक जनाले प्रश्न तेर्स्याउनु भयो- ‘तपाईं पनि पाँच पोखरीसम्म?’

‘हजुर’, जवाफ दिएँ।

उहाँले छक्क पर्दै फेरि सोध्नुभयो- एक्लै?

अलिकति रूखो स्वरमा भनें- मेरो वरिपरि कोही देख्नु भो?

यति भनेपछि मलाई लाग्यो, यति रूष्ट भएर नबोलेको भए तेरो के जान्थ्यो! आफैंलाई केहीबेरसम्म कस्तो कस्तो लागिरह्यो।

यसरी भोको पेट लिएर अर्को गाडीमा पनि उभिनै पर्यो। म अलिक खाइरहनु पर्ने मान्छे, फेरि बिहान केही खानेकुरा किन्ने समय पाएको पनि होइन। मम्मी भए पो मलाई भोक लागेको अनुहार हेरेरै थाहा पाइदिनु हुन्थ्यो। आमाहरू कति चलाख हुने हगि ! कौवा त यसै बदनाम छ, संसारमा सबैभन्दा बढी चलाख कोही छ भने ती हुन् आमा। कति सजिलै बुझिदिन्छिन्, आफ्ना सन्तानका रहर, चाहना, सपना, इच्छा र आवश्यकतालाई।

यसरी, करिब साढे एघार बजेसम्म कसरी उभिएँ, त्यो मलाई मात्रै थाहा छ। भोक लाग्दा रून आउन मान्छे म त्यो असहज यात्रासँग सहजीकरण गर्दै मुस्कुराइरहेको थिएँ। हाय, पाँच पोखरी पुगिछाड्ने हठको म कसप्रकार गुलाम भएँ!  जिउ पो गलेको, पेट पो भोकाएको, मन त अघाउँदै छ। नाच्दै छ नि।

भोताङ पुग्नु अलिक अगाडि लास्टमा एउटा सिट खाली भयो। उभिने करिब पन्ध्र जना थियौं होला। जसमा केटी ममात्रै थिएँ। चार जना दाइहरूको टोलीमध्ये एक जनाले भन्नुभयो- ‘हामीले सिट पाएको हो?’

अर्को दाइले मलाई देखाउँदै भन्नुभयो, ‘उहाँलाई बस्न दिऊँ ल।’

मलाई लाग्यो, अब म बाँचें।

उक्त बसमा मात्रै पाँच पोखरी जाने हामी सोह्र जना रहेछौं। छिम्ती पुगेर ओर्लिए। भनेकै थिएँ नि, यात्रामा कोही एक्लो हुँदैन।

***

चार घण्टा हिँडेर टुप्पी डाँडा

भिम अर्जुन शङ्कर होटलमा भात खान जाँदै गर्दा भेटियौं, अविक, अनुप, सन्जीव, प्रतिज्ञा, सारा र म। एक्लै हिँड्छु भनेर घरबाट निस्केको मान्छे साथीहरू भेटिए भन्ने कुराले केही क्षण मनिलो पनि लाग्यो।  तर, यात्राको विशेषता नै यही हो। कहाँ हो कहाँको मान्छेलाई एक छिनमा,  छुटिएर वर्षौंपछि भेटिएका आफ्नाहरू जस्तै बनाइदिन्छ। हामी पनि एक टोली बन्यौं र सुरू गर्यौं पदयात्रा पाँच पोखरीको।

एक्लै जाने भए वडा अध्यक्षलाई फोन गरी के कस्तो छ अवस्था बुझेर जानु है भनेर प्रशान्त नेपालले नम्बर पठाइदिएका थिए। तर म मस्तले वर्षौंदेखि चिनेजसरी उनीहरूसँग हिँडिरहें। उनीहरूको व्यवहारले यति छिट्टै यति नजिक बनायो कि हामी हाँस्दै, रमाउँदै उकालो लागिरह्यौं। सुरूकै ठाडो उकालोले एक बजेको घाममा भर्खर भात खाएको भुडीलाई ‘लौ खा’ भनिहाल्यो।

उसो त यात्रामा नसरत फातेह अलि खान, पियुष मिश्र, अरजित सिंह, सुजन चापागाई, प्रेमधोज प्रधान लगायतले साथ दिन सुरू गरिसकेका थिए। बाटोमा लालीगुराँस फुलेको देखिन थालिसकेका थिए। म्याल र अन्य पहेंला फूलहरूले त पहिलेदेखि नै स्वागत गरिसकेका थिए। लालीगुराँस देखेपछि अविकले भन्नुभयो- ‘टिप्दिम्।’

‘टिप्नेहरूले भन्दा हेर्नेहरूले बेसी माया गर्छन् हौं’, प्रस्तुत डायलग लालीगुराँस हेर्दै टोलाउने सन्जीवको हो। ‘जीवन नै ध्यान हो, ध्यान नै जीवन हो भन न सन्जीव’ भन्दै जिस्क्याउने मान्छे अनुप हो।

त्यसदिन हामी करिब चार घण्टा हिँडेर टुप्पी डाँडा पुगेर (साझ ५ बजे आसपास)) होमस्टेमा बस्यौं। यहाँ पुग्दासम्म तीन प्रकारका लालीगुराँस देखिन थालिसकेका थिए।

जंगलमा मयलको झुसलाई हत्केलामा लिँदै राता, सेता र पिङ्क रङका लालीगुराँसलाई नियाल्यौं। यसमा सन्जीवले कोइलीको आवाज निकाल्दै वसन्तको यौवनलाई डाकिदिनुभयो।

डाँडाको टुप्पो भन्ने अर्थमा यस नामलाई लियौं। सारा र प्रतिज्ञा टुप्पी डाँडाको टुप्पी नियाल्न आएको सूर्यास्तलाई क्यामेरामा कैद गर्दै थिए।

टुप्पी डाँडाको एक वासको रौनक बेग्लै थियो। हरेक यात्राले यात्रीमा एउटा उत्सुकता, जोस, जाँगर र कौतुहलता थपिदिएको हुन्छ। त्यहाँको रौनकताले हामीलाई अझ हौस्याएको थियो।

अलिक बढी थकाइ लागेका कारण म छिट्टै सुत्न गएँ।

***

दोस्रो दिन ।

अर्को दिन हामीलाई पुग्नेपर्ने थियो गन्तव्यमा अर्थात् पाँच पोखरी। हामीले छ बजे बिहान निस्किने भनेका थियौं तर निस्कियौं सात बजे।

नेपाली टाइम भन्ने पदावलीलाई सही सावित गरिदियौं। यस्ता सावित गर्ने कुरामा त हामी कहाँ पछाडि पर्छौं र ?

तीन घण्टाजति यो ढुंगा ओछ्याएको उकालो बाटो उक्लिरह्यौं।

चोकर डाँडा पुगेर भात खायौं। भात खाएको पैसै नतिरी भाइलाई मिठो खाना खुवाउनुभयो धन्यवाद भनेर निस्किएछु। मेरो दिमाग! उक्त कुरा नोस्याङपाटी पुगेपछि मात्र थाहा पाएँ। फर्किंदा तिर्ने सोचें।

३६५७ मिटर अग्लो स्थानमा रहेको नोस्याङपाटी दृश्यावलोकनको लागि उपयुक्त छ। यहाँबाट जुगल हिमाल रेन्ज, दोर्जे लाक्पा, गन्छेपो हिमाल देख्न सकिन्छ।

जति-जति माथि पुग्यो, त्यति त्यति मौसम छिनछिनमा परिवर्तन भइरह’थ्यो। जिन्दगी र मौसम नि उस्तै छन्। कुनबेला कस्तोबाट कस्तो भई जान्छन्, पत्तै नहुने।

मौसमले भर्खर प्रेम सम्बन्धमा परेकी युवतीले आफ्नो प्रेमीलाई जिस्काए जसरी घरी खुलेर त घरी धुम्म परेर जिस्काइरहे’थ्यो। कुन बेला के हुँदैछ, थाहै नहुने। हुन त, यसरी थाहा नहुनुमा पनि बेग्लै मजा छ। त्यसैले त हरेक दिनको महत्त्व बेग्लै छ यहाँ।

हिँड्दा हिँड्दै अनुप धेरै अगाडि पुग्नुभयो, सन्जीव पनि नोस्याङपाटीबाट एक्लै हिँड्नुभयो। बाँकी रह्यौं हामी हिँड्न नसक्ने टोली। प्रतिज्ञालाई अलिक बेसी गाह्रो भयो। यसरी, जसरी, तसरी, चार हात पाउ टेक्दै हामी करिब पाँच बजेतिर पाँच पोखरी पुग्यौं।

यात्रामा प्राय: त्यो यात्राभन्दा पहिला सम्पन्न भएका यात्रा र त्यसपछिका लागि तय गरिएका यात्राका कुरा गरिनु सामान्य मानिन्छ। यसै होडबाजीमा भिम अर्जुन शंकर होटलको चुल्हो तताउँदै हामी बुटवलका दाइहरूको ‘हिस्ट्री अफ ट्राभल’ सुन्छौँ, हेर्छौं र मख्ख पर्छौं। अझ लाङटाङको फोटो हेर्दा त अहिल्यै कुदिहालौं जस्तो भयो। तर के गर्नु, सोच्नेबित्तिकै नहुने। यदि त्यसो हुँदो हो त, जिन्दगी यति महत्त्वाकांक्षीमय पनि हुने थिएन।

चिसो अलि बढी लागेर हो कि, उचाइको असर हो। यो दिन अलिक गाह्रो गाह्रो बनायो। सबै जना छिट्टै सुत्यौं।

***

तेस्रो दिन बिहान करिब छ बजे अदुवा चपाउँदै हाम्रो टोली भ्यू पोइन्टतर्फको उकालो लाग्यो। बिहान आधा घन्टा जति खुट्टा हिँड्नै मान्दैन, जबर्जस्ती गर्नुपर्छ। सोही गरियो। थाकेका खुट्टालाई मुभ स्प्रे दिएर फकाइयो। र, हामी लोत पर्दै अघि बढियो।

सूर्यकुण्डको तिरैतिर अगाडि बढिरहेका हामी अचानक बाटो सकिएपछि एकछिन अलमलमा पर्यौं। अघिल्लो दिनको हिउँ, तगारो बन्न आएको थियो।

जिन्दगी न हो कहिले बाटो सकिन्छ त कहिले हिँड्नुपर्ने कारण। कहिले जाँगर सकिन्छ त कहिले आवश्यकता। कहिले हिम्मत सकिन्छ त कहिले अर्थ। बाँच्नु नपर्ने धेरै कारण जस्तै बाँच्नु पर्ने कारण पनि धेरै हुन सक्छन्। बस् कुन कारणलाई खोतल्ने र कुन कारणलाई प्राथमिकता दिने भन्ने कुरा न हो। हामीले हिँड्नुलाई नै प्राथमिकता दियौं।

जिन्दगी हिँडाइजस्तै त हो। ठोकुवा नै गर्न मन छ भने हो नै पनि भन्न सक्नुहुन्छ। कहिले खुट्टा दुख्छन् त कहिले मन। कहिले थकाइ त कहिले विश्राम। कहिले एक्लै त कहिले सहयात्री। कहिले गाह्रो त कहिले सजिलो। कहिले अलमल त कहिले स्पष्टता। आखिर सवारी साधन चलिरहन पनि त पेट्रोलियम पदार्थ भरिरहनु पर्छ। घडी पनि चलिरहन ब्याट्री फेरिरहनु पर्छ। सम्बन्ध त झन् छिटो छिटो झर्को लाग्ने कुरा हो। यसलाई पनि बेला बेला रिन्यू गरिरहनुपर्छ। यो त झन् जिन्दगी हो यसलाई त के के आवश्यक पर्छ पर्छ।

सम्बन्ध रिन्यूको कुरा गर्दा नयनराज पाण्डेको यार पुस्तक सम्झें। उहाँ लेख्नुहुन्छ- स्मृतिकै डिफ्रिजमा राखेरमात्र सम्बन्धलाई ताजा र सुरक्षित बनाउन कहाँ सकिँदो रहेछ र? सम्बन्धलाई त ड्राइभिङ लाइसेन्सझैं नवीकरण गरिरहनुपर्दो रहेछ। नत्र अत्यन्त आत्मीय अनुहार पनि ब्ल्याक एण्ड ह्वाइटका युगौं पुराना तस्बिरझैं धुमिल भएर जाँदा रहेछन्।

यसरी बाँच्नुको कारण खोजेजस्तै, हामीले पनि गन्तव्यको लागि बाटो खोज्यौं र पुग्यौं जुगल हिमालको अघिल्तिर जहाँबाट स्पष्ट देख्न सकिन्थ्यो पाँच पोखरी अर्थात् सूर्यकुण्ड, नागकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड र भैरवकुण्ड।

भनिन्छ, ‘यात्राको मिठास गन्तव्यमा भन्दा, उक्त गन्तव्यमा पुगुन्जेलको समयमा हुन्छ।’

म पनि यसमा स्वीकारोक्ति दिन्छु। तर, यो भन्दै गर्दा जुगल र पाँच पोखरीलाई एकै ठाउँबाट देख्न पाउँदा हिउँमा लडेको आनन्दलाई कसरी नकार्न सक्छु म। सुन्दरताको पराकाष्ठामा मान्छे भावशून्य हुँदो रैछ, म नि भैगएँ। र, यस्तो लेखें:

कति थोक भन्नु छ
कति थोक लेख्नु छ
तर मन,
हराइरहेछ।
यसै यसै शून्यतामा।

केही बोल्न नआउनु
केही लेख्न नआउनु
केही कुरा प्रस्तुत गर्न नआउनु
कुनै भाव प्रस्फुटन नहुनु
के यो शून्यता हो?

खुसीले यसै यसै
चिच्याई दिऊँ जस्तो
हर्षले यसै यसै
रोइदिऊँ, रोइदिऊँ जस्तो
कस्तो पागल भइदिऊँ, भइदिऊँ जस्तो

यार,
यी गन्तव्य र यात्रा यस्तै हुँदा रहेछन्।

म यतिखेर ठीक पाँच पोखरी र
जुगल हिमालको बीचमा छु।
हाय!
यो अनुभूति
हाय!
यो हर्षित मन।

यसरी केहीबेर हामी जुगल र पाँच पोखरीको सुन्दरतामै लठ्ठ पर्‍यौं। फोनले र आँखाले जति सक्दो सुन्दरता नियाल्यो र फर्किन हतार भएजसरी ओर्लियौं।

***

हिउँ परेको बेला हिमालनजिकै हिउँमा  हिँड्दा, हिँड्दा त्यहाँ सीमान्त उपयोगिता ह्रासको नियम अर्थात् ‘ल अफ डिमिनिसिङ मार्जिनल युटिलिटी’को सिद्धान्त लागू भैसकेको थियो। हिउँ देखेर वाक्क लागिसकेको थियो।

हामीलाई साँझसम्म छिम्ती पुग्नु थियो। फेरि भोलिपल्ट बस नपाइएला भन्ने डरले। हतार हतारमा इन्द्रावती मुहान पुग्न भ्याइएन। ठिकै छ, जिन्दगीमा सबै खुसी एउटै पोल्टामा पनि त अटाउँदैन। माथिबाटै शिव मन्दिर र इन्द्रावतीको मुहान नियालें।

यसरी हामी करिब दश बजे पाँच पोखरीबाट ओरालो लाग्यौं। नौ घण्टा ओरालो झरेपछि साँझ सात बजे हामी छिम्ती आइपुग्यौं। टुप्पी डाँडाबाट छिम्ती कसरी आइयो थाहा नै छैन। थकाइको पराकाष्ठा भेट्यौं।

***

चौथो दिन:

प्रतिज्ञा र साराको हिँडाइको पेस घटेको हुँदा उनीहरू भोलिपल्ट बिहानै आइपुगे। चौथो दिन साढे छ बजे लाग्यौं, पुरानै जिन्दगीको दैनिकीतर्फ।
***

जाँदाजाँदै,

हरेक कुराको अर्थ र सार्थकता हुन्छ। ती कुरालाई अर्थपूर्ण र सार्थक बनाउन अरू स-साना कुराहरूले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन्। जसरी मृत्युको सार्थकतामा जीवनको अहम् भूमिका हुन्छ।

हाम्रो यात्रा अर्थपूर्ण र सार्थक रहनुमा पनि विभिन्न याद, पल र क्षणहरूले अहम् भूमिका खेलेका छन्। यो यात्रा सार्थक बनाउनमा एक्लै हिँड्दा भेटिएका पाँच छाया ‘अविक, सारा, सन्जीव, प्रतिज्ञा र अनुप’प्रति हार्दिक आभार।

अन्त्यमा यात्रा संस्मरण त आउनु पर्छ है भन्ने मदन दुलाल र लेख्न आइरा छैन भन्दा, आँखा चिम्लिनु अनि लेख्न बस्नु भनि ढाडस दिने सुरज सुवेदी दाइलाई विशेष धन्यवाद!

प्रतिक्रिया दिनुहोस्