२०८१ श्रावण १२
                           

डोको बुनेरै जीविकोपार्जन गर्दै लामिडाँडाका स्थानीय

सिन्धुपाल्चोक ,२२चैत

जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको शुरूआत गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा ।

उमेरले ७० टेकेका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आएका छन् । जब गाउँमा कसैकोे बिहे हुन्छ, कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उनलाई दिने गर्छन् ।

वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो पेशालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आएका छन् ।

‘डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, १ दिनमा ४ वटासम्म डोको बनाउन सक्छु,’ उनले भने । शेर्पासँग डोको, डालो र मान्द्रा बनाउने सीप भए पनि बजारको अभाव छ । माग नहुँदा बिक्री गर्न समस्या भएको उनको भनाइ छ ।

शेर्पाले १६ वर्षको उमेरदेखि नै डालो बुन्न थालेका हुन् । घरमै आएर किसानले मान्द्रा किन्न थालेपछि उनको व्यस्तता बढेको हो । मान्द्रा बिक्री गरेर शेर्पाले घर खर्च मात्र टार्दै आएका छैनन्, आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको जोहो गर्दै आएका छन् ।

आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाइ नै आफ्नो आम्दानीको स्रोत भएको उनको भनाइ छ । धान विटा लगाउने मौसम भएकाले पनि यो बेला भकारी बनाउनका लागि मान्द्राको माग अत्याधिक हुने गरेको छ । एउटा मान्द्रा तयार गर्न झण्डै ३ दिन लाग्छ । मान्द्रा २ हजार २०० रुपैयाँमा बिक्री हुने गरेको शेर्पा बताउँछन् ।

मान्द्रा बनाउन चाहिने निगालो स्थानीय जंगलबाट निःशुल्क उपलब्ध हुन्छ । अरु बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा भने मान्द्राको माग अत्यधिक हुने गरेको कर्मा स्याङ्बो बताउँछन् ।

उनी पनि मान्द्रा बुनेर बेच्छन् । ‘उमेरमा यस्तै सिकियो, यसबाटै परिवारको खर्च धानेको छु,’ उनले भने, ‘छोराछोरीले सिक्न छाडेका छन् । कसरी पुस्ता धानिएला भन्ने चिन्ता छ ।’ युवा पुस्ता विदेश जान थालेकाले सीप हराउने चिन्ता छ ।

अन्न उब्जाउन जमिन छैन । कमाउन अरु इलम छैन । यहाँका अधिकांशले आलु खेती गर्दै आएका छन् । आलुु खेतीबाट स्थानीय आत्मनिर्भर बन्न सकेका छैनन् ।

मकै र कोदो खेतीमा निर्भर रहँदै आएका यहाँका स्थानीय बँदेल लगायत जंगली जनावारले दुःख दिँदा हैरान छन् । आलु खेतीको राम्रो सम्भावना भएकाले ‘आलु पकेट क्षेत्र’का रूपमा विकास गर्न सके स्थानीयलाई आत्मनिर्भर बनाउन सकिन्छ ।खबरडबली संवाददाता

प्रतिक्रिया दिनुहोस्