२०८१ कार्तिक २७
                           

सन्दुक रुइतलाई १३ करोड रुपैयाँ सहितको इसा अवार्ड

६ माघ २०७९

काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित इसा अवार्डको मानवीय सेवातर्फको विधामा उनलाई सम्मान गर्न लागिएको हो ।

डा. रुइतले स्वर्ण पदकसहित १० लाख डलर अर्थात १३ करोड नेपाली रुपैयाँ भन्दा बढी हात पार्ने छन् ।मानवीय सेवा तर्फको इसा अवार्ड घोषणा गर्दै बहराइनका राजाका विशेष प्रतिनिधि र बोर्ड अफ ट्रस्टीजका अध्यक्ष शेख मोहम्मद बिन मुबारक अल खलिफाले भने, ‘नेपाली नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई समुदायमा गरेको सेवा र उपलब्धिको लागि सम्मान गर्ने निर्णय गरेका छौं ।’

इसा अवार्डका महासचिव अली अब्दुल्लाह खलिफाले मोतियाबिन्दुको उपचारमा सरल विधिको विकास गरेकाले उनको योगदानको सम्मान गरिएको बताए । ‘उनले हजारौं मानिसहरूको दृष्टि बचाउन सफल भए, उनी नभएको भए उनीहरु सधैं दृष्टि बिहीन हुने थिए ।’

डा. रुइतले विकास गरेको सर्वसुलभ दरको आँखाको लेन्स विश्वका धेरै देशमा पुगेको छ । जसले गर्दा गरिबहरुले पनि दृष्टि पाएका छन् ।यस वर्ष यो विधाको पुरस्कारका लागि १३९ मनोनयनमा थिए । अवार्ड आउँदो महिना बहराइनमा विशेष कार्यक्रम गरेर प्रदान गरिने छ ।डा.रुइतले यसअघि सन् २००६ मा मलेसियाको रोमन मागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अष्ट्रेलिया र सन् २०१८ मा भो पद्यश्री अवार्ड पाएका छन् ।

कसरी बने डा. सन्दुक रुइत आँखाको डाक्टर?

ताप्लेजुङ जिल्लाको विकट गाउँ ओलाङचुङगोलामा जन्मेका उनले यति धेरै चर्चा बटुल्लान् भन्ने शायद कसैले सोचेका थिएनन्।मध्यम परिवारमा जन्मिएका उनी डाक्टर नै बन्लान् भन्ने सोच्नु पनि कसरी? उनलाई समेत सानो छँदा आफू कुनैदिन डाक्टर बनुँला जस्तो लागेकै थिएन। तर आजको दिनमा डाक्टर सन्दुक रुइतको नाम आँखाको उपचारका लागि पर्यायवाची जस्तै भइसकेको छ। आफ्नाे कामकाे यति धेरै चर्चा हाेला भन्ने आफूले कहिल्यै नसोचेको उनी बताउँछन्।

सन् १९८० को दशकको अन्त्यदेखि १९९० को दशकको सुरुवाततिर नेपाल लगायत अन्य विकासोन्मुख देशहरुमा आँखामा हुने मोतिबिन्दुको उपचारका लागि शल्यक्रियामा आधुनिक प्रविधिको प्रयोग भएको थिएन।

डा. रुइतसहितको टिमले नेपालमा अनुसन्धान गरे। अनुसन्धानमा जुन तरिकाले मोतिबिन्दुको शल्यक्रिया गर्ने गरिन्थ्यो, यसरी शल्यक्रिया गर्दा धेरै मानिसहरुले आँखाकाे ज्योति फिर्ता पाउँदैनन् भन्ने थाहा पाए। आँखामा लेन्सको प्रयोग गरिँदैनथ्यो। आँखाको ज्याेति फर्किएका ती थोरै मानिसले पनि एकदमै मोटो खालको चस्माको प्रयोग गर्नुपर्ने बाध्यता थियाे।

जुन कुराले डा. रुइतलाई सोच्न बाध्य बनायो। उनका मनमा धेरै प्रश्नहरु उब्जिन थाले। नेपालमै मोतिबिन्दुको अत्याधुनिक तरिकाबाट कसरी शल्यक्रिया गर्ने भन्ने अनुसन्धान सुरु गरे।मोतिबिन्दुको शल्यक्रियालाई आधुनिक स्तरमा पुर्‍याउनका लागि र त्यसलाई समुदायसम्म पुर्‍याउनको लागि छुट्टै पहिचान भएको एउटा एकाइको जरुरत उनले देखे। यसलाई सम्भव बनाउन ‘इन्ट्रा अकुलर लेन्स’को अवश्यकता थियो। यसको सम्भावना भनेकै अस्पतालले आफै ‘इन्ट्रा अकुलर लेन्स’ उत्पादन गर्नु थियो।

त्यतिवेला लेन्सलाई दुई हजारदेखि पाँच हजारसम्म पर्ने अवस्था थियाे। ‘यति महङ्गो सबै विरामीको पहुँच भित्रको कुरा थिएन। जसका कारण हामी लेन्सको उत्पादन गर्ने निर्णयसम्म पुग्याैँ र सुरु गर्यौँ’, डा. रुइतले भने, ‘जुन समयमा धेरैले हाैसला दिनुकाे साटाे हाम्रो विरोधसमेत गरेका थिए।’

अहिले अस्पतालले नेपालमा दुई सय रुपैयाँ भन्दा कममा लेन्स उपलब्ध गराउँदै आइरहेको उनले बताए।सन् २००० तिर दक्षिण एशियाली क्षेत्रमा नेपालमा ८० देखि ९० प्रतिशतले, भारतमा ७० प्रतिशतले, बंग्लादेश र पाकिस्तानमा ५० प्रतिशतले मात्र ‘इन्ट्रा अकुलर लेन्स’ पाउने गरेका थिए। उनले भने,‘अहिले यसको शल्यक्रियाको विधि सरलीकरण गरेर समुदायमा पुर्‍याएकाे र अस्पतालले लेन्स नेपालमै उत्पादन गरेर सुलभ बनाएको छ।’

आधुनिक शल्यक्रिया जसको परिणाम सर्वोत्कृष्ट बन्दै गइरहेको छ। नेपालमा मात्रै होइन यसलाई संसारले एउटा अग्रगामी प्रणाली मानेको छ। जसलाई एशिया, अफ्रिका, दक्षिण अमेरिकामा नेपाली प्रविधि भनेर चिनिने गरेको छ।तिलगंगा अस्पतालकाे सुरुवात जब डा. रुइत र डा. रीता गुरुङले तिलगंगा अस्पतालको सुरुवात गरे, त्यतिबेला धेरै जसो मोतिबिन्दुको शल्यक्रियाका लागि अस्पताल पुग्ने गर्थे। मोतिबिन्दुको शल्यक्रिया गरिएका बिरामीहरुको आँखामा लेन्स नराखि उनीहरुको आँखाको शल्यक्रिया गरिएपश्चात मोटो चस्मा दिने गरिन्थ्यो। नेपाल जस्तो भौगोलिक विविधताले भरिएको देशमा आँखाको ज्योति नहुँदा दैनिक रुपमा हिँडडुल गर्नका लागि समेत समस्या पर्छ। शल्यक्रिया गर्ने क्रममै उनले थाहा पाए,– मोतिबिन्दुको शल्यक्रिया गरिएपछि आँखा भित्र राखिने लेन्स महँगो शुल्क पर्ने गरेको।

डा. रुइतको हरेक काममा साथ थियो डा. रीता गुरुङको। उनीहरु दुवै जना मिलेर दुई वटा कोठाबाट सुरुवात गरेका थिए, तिलगंगा आँखा अस्पताल। डा. रुइतले शल्यक्रिया गर्दा डा. रीताले चेकजाँच गर्थिन्, डा. रीताले शल्यक्रिया गर्दा डा. रुइतले चेकजाँच गर्थे। उनीहरुले चेकजाँच गर्ने कोठाको छेउमै शल्यक्रिया र इन्ट्रा अकुलर लेन्स बनाउनका लागि सानो ठाउँ छुट्याएका थिए।

जितबेला उनीहरुले रातदिन, बिदा, चाडपर्व केहि भनेनन्, बस् आफ्नो काममा खटिरहे।देश–विदेशमा सेवा बिस्ता तिलगंगा आँखा अस्पतालले केवल काठमाडौँ उपत्यकालाई मात्रै समेटेन। उनीहरुले बिस्तारै उपत्यका बाहिर पनि मोतिबिन्दुका बिरामीको आँखामा लेन्स राखेरै शल्यक्रिया गर्न सुरु गरे।

सुरुवाती दिनहरुमा उनले ४० देखि ५० जनासम्म मोतिबिन्दु भएका बिरामीको शल्यक्रिया गर्ने गरेको बताए। उनीहरु मुलुकका विभिन्न कुना कन्दरामा पुगे। शिविर संचालन गरे। आँखाका बिरामीलाई उपचार गर्दै गए। दिन प्रतिदिन सफलता हात पर्दै गयो। यस्तो सिस्टम बनाउन आफूलाई ५ वर्ष जति लागेको डा. रुइतको भनाई छ। डा. रुइत र उनको टिमले अस्पताल बाहिरका विभन्न जिल्लाहरुमा सेवा बिस्तार गर्दै आइरहेको छ।

उनले आफ्नो सफलतालाई यतिमै सिमित राख्न चाहेनन्। विदेशमा समेत आँखाको उपचारलाई बिस्तार गर्दै गए र तिलगंगालाई विश्वकै एक उत्कृष्ट आँखा अस्पतालको रुपमा स्थापित गर्न सफल भए। तिलगंगाले देश बाहिर घाना, म्यानमार, इन्डानेसिया, उत्तर कोरिया, कम्बोडिया लगायतका देशमा छोटो समयमा सानो टोलीले गुणस्तरीय सेवा कसरी दिने भनेर त्यहाँको डाक्टरहरुसँग मिलेर काम गर्दै आइरहको छ।

पैसा नभएका कारण काेही पनि आँखा देख्नबाट वञ्चित हुनु नपरोस् भन्ने नै अस्पतालको मुख्य उद्देश्य भएको डा. रुइतको भनाइ छ।
डाक्टर बन्ने सपना उनका बुबाले अध्ययनका लागि सानै उमेरमा उनलाई दार्जिलिङ पठाए। केही समय त्यही बसेर पढे। सन् १९६२ भारत–चीन युद्ध शुरु भएपछि उनका बुवाले उनलाई दार्जिलिङबाट काठमाडौँ ल्याए। डा. रुइत र उनकी बहिनी काठमाडौँमै बसेर पढ्न थाले।

तर त्यही समयमा बहिनीलाई क्षयरोग लाग्यो। बुवाले बहिनीको उपचारका लागि कुनै कसर बाँकी राखेनन्। उपचारले पनि उनकी बहिनीलाई बचाउँन सकेन। केही वर्षपछि उनको निधन भयो।

‘म र मेरी बहिनी आत्मीय हिसाबले अत्यन्तै नजिक थियौँ। बहिनीको मृत्यु भइसकेपछि मेरो मनमा धेरै प्रश्नहरु उब्जिन थाले। मेरो जीवनको अर्थ के हो? मैले के गर्ने? जस्ता विभिन्न प्रश्नहरुले सताउन थाले। म बहिनीलाई एकदमै माया गर्थेँ।’, उनले आफ्नो विगत सम्झिए,‘बहिनी भन्दा पनि अगाडि मेरो दाइ बित्नु भएको थियो। दाइपछि बहिनीको पनि निधन भयो। आज चिकित्सा क्षेत्रमा मैले केही काम गर्न पाएँ। मृत्युका मुखमा पुगेका मेरी बहिनी जस्ता बिरामीलाई बचाउन सकेँ भने धेरैले जीवन पाउँनेछन् र मेरी बहिनी जसरी अल्पआयुमै मृत्यु हुनबाट बँच्नेछन् भन्ने सोचेँ। त्यसपछि मलाई डाक्टर बन्ने इच्छा भित्रै देखि आयो।’उनले थपे,‘जुन इच्छा एकदमै कडा खालको थियो।’

आँखाको डाक्टर नै किन?

उनले भारतकाे लखनउमा डाक्टर पढेर नेपाल फर्किएपछि वीर अस्पतालमा काम गर्ने अवसर पाए। त्यो समयमा काठमाडौँमा वीर अस्पताल मात्रै थियो। उनले अस्पतालमा काम गर्दै जाँदा विभिन्न ठाउँमा शिविरहरुमा जाने मौका पाए। उनी सम्झिन्छन्,‘शायद मेरो कामले पनि होला मेरा सिनियरहरले मलाई मन पराउनुहुन्थ्यो।’

उनको कामबाट प्रभावित भएर उनलाई सिनियर डाक्टरहरुले आँखा विभागमा ताने। त्यो समयमा वीर अस्पतालमा आँखाका बिरामीलाई मध्यनजर गर्दै आँखा विभाग छुट्याइएको थियो। आँखा विभागमा काम गर्ने क्रममा उनको भेट डा. रामप्रसाद पोखरेल, डा. मदनप्रसाद उपाध्याय, डा. एनसी (नविनचन्द्र) राई जस्ता आँखा विज्ञहरुसँग भयो।

उनले भने,‘डा. राईले मलाई एउटा क्याम्पमा लिएर जानु भयो, त्यो क्याम्पमा मैले कसरी शल्यक्रिया गरेर मानिसलाई नयाँ जीवन दिने भन्ने कुराले मलाई प्रभावित बनायो। यही क्याम्पले मलाई आँखाको डाक्टर बन्नलाई प्रेरित गर्‍यो।’

डा. रुइत अगाडि भन्छन्,‘क्याम्पमा गएर मैले डिजिजको प्याटर्न र सर्जरी गरेर कसरी मानिसको जीवनमा परिवर्तन ल्याउन सकिन्छ भनेर नजिकबाट नियाल्ने मौका पाएँ। त्यसले मलाई प्रेरित गर्‍यो, शायद यही ब्रान्च हो मैले टेकअफ गर्नु पर्ने भन्ने लाग्यो र आँखाको डाक्टर बन्ने इच्छा जाग्यो।’त्यसपछि उनलाई उनका सिनियरहरुले गाइड गर्दै लगे। उनले पनि तन मन लगाएर सिक्दै गए।

सबै भन्दा खुसीको क्षण

‘संसारमा शायदै कसैले यति अनुभव गरेको होला जति मैले गरेको छु’, उनले भने‘२९/३० वर्षकी पुरै आँखा बन्द भएकी कान्छिमायालाई उनका भाईले शिविरमा ल्याए। उनी शिविरमा आउँदा उनीसँगै काखमा सानो दुई महिनाको बालख र चार वर्ष जतिको छोरी थिए। उनले दुई महिनाको बालखलाई आँखा नदेख्ने हुँदै जन्म दिएकी थिइन्। आँखा नदेख्ने भएकै कारण कान्छिमायालाई उनका श्रीमानले घरबाट निकालिदिएपछि सिन्धुपाल्चोक (घर) बाट माईत (दोलखा) मा बसेकी थिइन्।

उनको दुवै आँखा बलाइन्ड थियो। हामीले सर्जरी गयौँ। सजैरी गरेको अर्को दिन उनको आँखाको पट्टी खोल्यौँ’, उनले ७/८ वर्ष अगाडिको दोलखाको अनुभव सुनाउँदै भने, ‘कान्छिमायाका भाईले उनको काखमा काखे बालख राखिदिए। कान्छिमायाले सुरुमा बच्चालाई एक छिनसम्म राम्रोसँग हेरिरहिन्। एकछिन हेरेपछि उनको आँखाबाट आँशु तपतप बच्चाको मुखमा खस्यो। त्यसपछि उनले बच्चालाई यति जोडले च्यापिन्। आफूले गर्भमा राखेको बच्चा पहिलो पटक देख्दा कस्तो अनुभव हुन्छ होला?’

उनी त्यो क्षणलाई कहिल्यै पनि बिर्सन सक्दैनन्। अहिलेसम्म पनि उनको मनसपटलमा त्यो दिन ताजै छ।अहिले कान्छिमाया सबै काम गर्छिन्। उनी श्रमानको घरमा बस्न थालेकी छन्। छोरा स्कुल जान थालेको छ। उनले थपे,‘यति मिठो–मिठो कुराहरु हेर्न पाउँछौँ, यस्ता धेरै कुराको अनुभव गर्ने मौका पाएको छु।’

कहिलेकाहीँ आफै भावुक हुने गरेको बताउँदै उनले भने,‘मोतिबिन्दुको शल्यक्रिया गर्‍यो भने सबैभन्दा चाडो रिजल्ट आउने गर्छ।’ यस्तो कुरा आफूले भनिरहँदा अन्य व्यक्तिहरुलाई कथा जस्तो लाग्ने उनको अनुभव छ।
२५ वर्षको याे सफलता

अहिले पछाडि फर्केर हेर्दा यहाँसम्म कसरी आइएछ जस्तो लाग्छ, उनलाई। यो २५ वर्ष आफूहरुले धेरै मेहनत गरेको उनी बताउँछन्।यो २५ वर्षको सफलताको श्रेय उनी आफू मात्रै लिदैनन्। उनी भन्छ्न,‘मैले मात्रै गरेर यो सब सम्भव थिएन। तिलगंगा सफल हुनुमा हाम्रो टिमको ठूलो योगदान छ। यो टिम नभएको भए, यो सफलताको परिकल्पना गर्न सकिदैनथ्यो।’

आफूसँग काम गर्ने विभिन्न व्यक्तिहरु नभएको भए, अस्पताल अहिले यो ठाउँमा पुग्न नसक्ने उनीको बुझाई छ। विगतलाई फर्केर हेर्दा कहिलेकाहिँ अचम्म पनि लाग्ने गरेको उनको अनुभव छ। उनी विगत सम्झन्छन्, ‘अस्पतालको सुरुवात गर्दा हामीसँग केही सपनाहरु मात्रै थिए।’

आँखाको क्षेत्रमा उत्कृष्ट काम गरे बापत उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका छन्। उनले एशियाको नोवेल पुरस्कार मानिने रमन म्यागासेसे पुरस्कार, एशिया गेम चेन्जर्स अवार्ड लगायतका पुरस्कार हात पारेका छन्।पलपलको कुरा

प्रतिक्रिया दिनुहोस्