कार्तिक २ — सिन्धुपाल्चोकमा यसपटक प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा ६० वर्ष उमेर नाघेका ८ जनाले उम्मेदवारी दिएका छन् ।
उमेरले ७० टेकेका कृष्णबहादुर ठकुरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा मालेका तर्फबाट उम्मेदवा बन्नुभएको छ । हरेक निर्वाचनमा उठ्दै आएका ठकुरी उमेरले ७० टेक्दा पनि उम्मेदवार बन्ने रहरबाट पछि हट्नुभएको छैन ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको उमेर ६४ वर्ष पुगेको छ । बस्नेत २०४८ सालको आमनिर्वाचनदेखि काँग्रेसका तर्फबाट उम्मेद्वार बन्दै आउनुभएको छ । बस्नेत ३१ वर्षको इतिहासमा दुई पटक विजयी हुनुभयो भने चार पटक पराजित हुनुभयो । पूर्व स्वास्थ्य राज्यमन्त्री र सञ्चारमन्त्रीसमेत भइसक्नुभएका बस्नेत पहिलो पटक चुनावी प्रतिस्पर्धा गर्दा ३३ वर्ष उमेरको हुनुहुन्थ्यो ।
राप्रपाबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बन्नुभएका नारायण पाण्डेको उमेर ६६ वर्ष पुगेको छ । पाण्डे पहिलो पटक चुनावी प्रतिस्पर्धामा भिड्नु भएको हो ।
उता ६१ वर्षमा टेक्नुभएका सरेश नेपाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार हुनुहुन्छ । ३० वर्षअघि २०४९ मा जिल्ला विकास समितिको उपसभापति, २०५४ मा सभापति र २०७४ मा प्रदेश सभा सदस्यमा विजयी बन्नुभएका नेपाल वागमति प्रदेश सरकारमा यसअघि वन तथा वातावरणमन्त्री समेत बनिसक्नु भएको छ ।
प्रदेश सभातर्फ ७० वर्षका कृष्णबहादुर तामाङले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा समाजवादी पार्टीबाट उम्मेदवार दिनुभएको हो । त्यस्तै ६८ वर्षका बाबुराम खड्काले राप्रपाको तर्फबाट क्षेत्र नम्बर २ ‘क’ मा प्रदेश सभा सदस्यमा उम्मेद्वार दिनुभएको छ । सोही क्षेत्रमा प्रदेश उम्मेदवार बनेका एमालेका अमानसिं तामाङ पनि ६२ वर्ष पुगिसक्नुभएको छ ।
भक्तपुरबाट आएर नेपाल मजदुर किसान पार्टीका तर्फबाट सोही प्रदेशसभा सदस्यमा उम्मेद्वार बन्नुभएका रत्नकाजी नायभारीको उमेर ६४ वर्ष रहेको बताइन्छ । यस पटक सिन्धुपाल्चोकमा २९ वर्षे ठिटादेखि ५९ वर्ष समूह भित्रका उम्मेद्वारसँग भिड्दै छन् ।
राजनीतिमा युवाको चाहना बढ्दै गइरहेको समयमा प्रमुख दलहरुमध्ये माओवादी केन्द्रले युवाहरुलाई प्राथमिकता दिएको देखिन्छ । उक्त पार्टीको तर्फबाट उम्मेद्वार बनेका माधव सापकोटा ४१, सरल सहयात्री ४१ र युवराज दुलालको उमेर ३९ वर्ष मात्रै पुग्नुभएको छ । एमालेका होमनारायण श्रेष्ठ ४७ वर्षका हुनुहुन्छ ।
प्रतिनिधि सभाको निर्वाचनतर्फ स्वतन्त्र उम्मेद्वार बनेका ३० वर्षे मुकन्द श्रेष्ठ कान्छो उम्मेद्वारको रुपमा देखिनुभएको छ । प्रदेशतर्फ नेपाली काँग्रेसका उम्मेद्वार २९ वर्षे कृष्णबहादुर तामाङ कान्छो उम्मेद्वार हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्