२०८२ श्रावण १४

साँगाचोकमा निःशुल्क प्रजनन स्वास्थ्य शिविर सम्पन्न, १ सय ४५ जनामा पाठेघर संक्रमण

असोज ११ — चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १२ साँगाचोक आधारभुत स्वास्थ्य सेवा केन्द्रमा महिलाहरुको लागी प्रजनन स्वास्थ्य सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजना तथा शिर मेमोरियल अस्पताल बनेपा र सामुदायिक सेवा प्रतिष्ठान ,भक्तपुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण,पाठेघरको मुखको क्यान्सर जाँच,पिसाब चुहिने रोगको पहिचान र उपचार, थरमाृकुगुलेशन, भिडियो एक्सरे सहित औषधि वितरण गरिएको थियो ।

उक्त शिविरमा परोपकार प्रसुती सेवा केन्द्रका डा. सुनिता थापाको नेतृत्वको १० जना र नगरपालिका भित्र कार्यरत स्वास्थ्य कर्मी सहितका टोलीले स्वास्थ्य जाँच गरेको हो । शिविरमा २ सय ६३ जनाले सेवा लिएका छन् । २६ जनाको आङ खसेको पाईएको छ भने १२ जनाले रिङ प्रेसर राखेको पाईएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताउनुभयो । जसमध्ये ४ जनाको अप्रेसन गर्नुपर्ने अवस्था रहेको र यसको ब्यवस्थापन नगरपालिकाले गर्ने प्रमुख पुरीको भनाई छ । २ सय १ जनाको भि .आई .ए परीक्षण गर्दा ७ जनामा पोजेटिभ पाईएको छ । १ सय ५० जनाको भिडियो एक्सरे गरीएको छ भने १ सय ४५ जनामा पाठेघरको समस्या अर्थात पिआईडि देखिएको छ ।

स्वास्थ्य शिविरमा पाठेघरको क्यान्सर, यौन रोग, सेतो पानी बग्ने, पाठेघर खस्ने समस्या भएका बढी भेटिएको छ । जाँच गरेका मध्य पाठेघरमा घाउ भएको र क्यान्सरका लक्षण देखिएकालाई थप उपचारको ब्यवस्था गर्ने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत दिनेश नेपालले बताउनुभयो । कम उमेरमा विवाह गर्ने, खानपान तथा सरसफाइमा ध्यान नदिने, धेरै बच्चा जन्माउने र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघर क्यान्सरको जोखिम बढी हुने जनस्वास्थ्य अधिकृत नेपालको भनाई छ ।

शिविरको उद्घाटन नगरका मेयर कृष्ण प्रसाद सापकोटाले गर्नुभएको हो । मेयर सापकोटाले अझैपनि गाउँघरमा महिलाहरु प्रजनन् र यौन सम्बन्धि समस्याहरु देखिएको पाइएपछि नगरले बजेट विनियोजन गरेर समुदायमै पुगेर शिविर राखेको बताउनुभयो । महिलाहरुले आफूमा भएका समस्या भन्न लजाउने गरेकाले सचेतना जगाउने र घरदैलोमै विशेषज्ञ डाक्टर ल्याएर उपचार सेवा उपलब्ध गराउँदा स्थानीय महिलाहरुलाई जाँच गर्न सहज हुने भएकाले शिविर आयोजना गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य शिविर उद्घाटनमा उपप्रमुख सिता थापाले महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धी विभिन्न शिविरहरू सञ्चालन गर्दै जाने बताउनुभयो । नगरले समुदायमै पुगेर जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य परीक्षण कार्यको पनि थालनी गरिसकेको बताउदै आम नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न निःशुल्क शिविरहरू सञ्चालन गरी सेवा दिदै जाने बताउनुभयो । शिविरको उद्घाटनमा नगरका सामाजिक विकास समिति संयोजक राम प्रसाद गौतम,वडा अध्यक्ष सहित सरोकारवाला निकायको समेत उपस्थिती रहेको थियो । शिविर बुधबार १२ गते चौतारा स्थित चौतारा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा पनि विहान ९ बजेबाट संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्