२०८१ श्रावण १२
                           

घर–टहराले पाँचपोखरी कुरुप बन्दै, युवा क्लबको अगुवाईमा सरकारी जग्गा व्यापक अतिक्रमण

ङेम्लिङ लामा/ सिन्धुपाल्चोक जिल्लास्थित धार्मिक तथा पर्यटकीय महत्वको पाँचपोखरी क्षेत्रमा यतिखेर सरकारी जग्गा अतिक्रमण गरी व्यापक रुपमा घर–टहरा बनाउने काम चलिरहेको छ । 

स्थानीय युवा क्लबको अगुवाईमा एकदर्जनको हाराहारीमा अवैध तवरले ठडिएको घर टहराकै कारण यतिखेर पाँचपोखरी उपत्यका कुरुप बन्न पुगेको छ । 

पाँचपोखरीको यात्राबाट फर्किका चौताराका अम्बर बहादुर घले, विकास नापितले बताउनु भए अनुसार त्यहाँ दर्जनको हाराहारीमा घर–टहरा ठड्याइसकेको र अन्य ५–७ वटा घर–टहरा तीब्र गतिमा निर्माण भइरहेको छ । 

पाँचपोखरी क्षेत्रमा निर्माण भइरहेको घर टहरा र थुपारिएका निर्माण सामग्रीले पाँचपोखरी क्षेत्र कुरुप बन्न पुगेको छ भने जताततै फोहोरै फोहोरले पाँचपोखरी दुर्घन्दित बन्न पुगेको पाँचपोखरी क्षेत्रमा पुगेर फर्केका यात्रीहरुले बताएका छन । 

यसअघि, नेपाल सरकारले मुलुकका आकर्षक एकसय वटा पर्यटकीय गन्तव्यको सूचीमा समावेश सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी उपत्यकामा यसरी मनलाग्दी पाराले घरटहरा निर्माण गर्ने हो भने पाँचपोखरीको प्राकृतिक सौन्दर्यतामा गम्भीर असर पर्ने र पाँचपोखरी क्षेत्रको आकर्षणलाई बचाउन सरकारी जग्गा अतिक्रमण कार्यलाई तत्काल रोक्नु पर्ने सस्टेनेवल इको टुरिजमको अभियन्ता कर्म लामाले बताउनु भएको छ । 

 सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्वको पाँचपोखरी भौतिक संरचना निर्माणले कुरुप भएको सन्दर्भमा पाँचपोखरी गाउँपालिकालाई जानकारी भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार पोख्रेलले बताउनु भएको छ । 

 यसै सन्दर्भमा थप जानकारी लिनका लागि पालिका अध्यक्ष टासी लामासँग सम्पर्क गर्दा टेलिफोन सम्पर्क हुन सकेन । 

 लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीय महत्वको पाँचपोखरी उपत्यकामा स्थानीय युवा क्लबको अगुवाईमा सरकारी जग्गा अतिक्रमण गरी घर–टहरा निर्माण भइरहेको सन्दर्भमा निकुञ्जलाई जानकारी नभएको र अब तत्काल कार्वाही गरिने निकुञ्जका प्रमुख प्रमोद भट्टराईले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्