२०८१ जेष्ठ ५

जि.स.स सिन्धुपाल्चोक प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ निर्वाचीत

जेठ २९ — सिन्धुपाल्चोक जिल्ला समन्वय समितिमा कांग्रेस र एकिकृत समाजवादीको गठबन्धनको प्यानल नै निर्वाचित भएको छ । आईतबार सम्पन्न निर्वाचनमा जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण श्रेष्ठ १३ मत ल्याई निर्वाचित हुनुभयो ।
श्रेष्ठ बाह्विसे ४ बाट वडा सदस्यमा निर्वाचीत हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार गणेश वि.कले १० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा माओवादी केन्द्रका उम्मेदवार विकलाई एमालेको समर्थन थियो । तर गठबन्धनबाट खस्नुपर्ने ११ मत मध्य विकले १० मत प्राप्त गर्नुभयो । १ मत खाली रहेको थियो ।
उपप्रमुखमा गठबन्धनबाट समाजवादीका पदम नाथ नेपाल १३ मत प्राप्त गरी विजयी हुनुभयो । नेपालका प्रतिस्पर्धी एमालेका उम्मेदवार जंग प्रताप सिलवाल (जेपी) ले ११ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा निर्वाचित नेपाल स्थानीय तह निर्वाचनमा बलेफी गाउँपालिका ४ विन्जेलबाट वडा सदस्यमा निर्वाचीत हुनुभएको थियो ।
समन्वय समितिको सदस्यमा समाजवादी र काग्रेस गठबन्धनबाट जित बहादुर कार्की, बलराम केसि, विक्रम तामाङ, अम्बिका बस्नेत ,ढक माया सेतो कोईराला, सोममाया श्रेष्ठ, तारा नेपालीले १३÷१३ मत प्राप्त गरेको निर्वाचन अधिकृत चन्द्र प्रकास तिवारीले जानकारी दिनुभयो ।

कुल २४ मत मध्य जिसस चुनावमा नेकपा माओवादी केन्द्र र नेकपा एमाले बिच गठबन्धन हुदा ११ मत थियो । तर सदस्य तर्फको मतदानमा एमालेले माओवादीलाई र माओवादीले एमालेलाई धोका दिएको मत परिणामले देखाएको छ । सदस्य तर्फ माओवादीका उम्मेदवार एम बहादुर पौडेलले ४, संजीव तामाङले ३ मत मात्रै ल्याए । सदस्य तर्फ नै एमालेका राधिका तिमिल्सीनाको ५ ,सुनिल पौडेलको ४ र सुस्मीता तामाङको ५ मत मात्रै थियो ।
१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा जिसस निर्वाचनका लागि कुल २४ मतदाता रहेका छन् । जिसस निर्वाचनमा एक प्रमुख, एक उपप्रमुख र सात जना सदस्य पदका लागि १८ जनाको उम्मेदवारी दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्