२०८२ भाद्र १२

विपन्न परिवारलाई राहत वितरण सुरु

चौतारा- कोरोना भाइसरको कारण दैनिक जनजीवन कष्टकर बन्न पुगेका मजदूर परिवारलाई राहत वितरण सुरु गरिएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले आफ्नो वडा भित्र मजदुरी गर्ने अति विपन्न परिवारहरुलाई मंगलबारबाट राहत वितरण सुरु गरेको हो । दैनिक ज्याला मजदूरी गर्ने वडा भित्रका ५६ जना र अन्यत्र स्थानबाट आएर मजदूरी गरिरहेका १४ परिवारलाई राहत प्रदान सुरु गरिएको वडा अध्यक्ष नरमान श्रेष्ठले जानकारी दिए ।

राहत स्वरुप प्रत्येक परिवारलाई स्टीम सोना मन्सुली चामल ३० किलो, दाल ३ किलो, चिनी २ किलो, नुन २ प्याकेट, तेल २ लिटर र साबुन ४ वटा प्रदान गर्न लागिएको हो । ‘हामीले मापदण्ड बनाएर राहत वितरण सुरु गरेका छौं’, वडाअध्यक्ष श्रेष्ठले भने– ‘२ जना भन्दा बढी परिवारलाई पूरै सामग्री प्रदान गछौं भने २ भन्दा कमलाई आधा सामग्री दिन्छौं ।’ यसो गर्दा समानुपतिक रुपमा वितरण हुने उनको धारणा छ । नेपाल सरकारको तोकिएको मापदण्डमा रहेर राहत प्रदान गरिने श्रेष्ठले बताए ।

कोरोनाको कारण दैनिक ज्याला मजदूरी गर्न नपाएका र आर्थिक अवस्था कमजोर भएकाहरुलाई लक्षित गरेर पहिलो चरणमा राहत वितरण सुरु गरिएको हो । ‘हामीले प्रत्येक टोल सुधार समितिमा चुलै नबल्ने नागरिकहरुको सूची पठाउन आग्रह गर्यौं’, छनौट प्रकृया बारे जानकारी दिँदै श्रेष्ठले भने– ‘सूची प्राप्त भइसकेपछि व्यापारी, जनप्रतिनिधि सहितको सर्वदलीय बैठकबाट राहत पाउन योग्य व्यक्तिहरुको नामावली तयार पार्यौं।’ छनौट भएकाहरुको फारम भरी मंगलबार साँझसम्ममा राहत कुपन वितरण गरिसक्ने श्रेष्ठले बताए ।

कुपन लिएकाहरुले आफूलाई पायक पर्ने तोकिएको किराना पसलबाट सामग्री प्राप्त गर्न सक्नेछन् । चौतारा बजारको ३ किराना पसलबाट सामग्री प्रदान गर्ने व्यवस्था मिलाएको वडा कार्यालयले जनाएको छ । पहिलो चरणमा छुट भएकाहरुलाई दोस्रो चरणमा राहत प्रदान गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्