२०८२ बैशाख १८
                           

पूर्वमन्त्रीद्वारा लकडाउनको गम्भीर उल्लंघन

चौतारा- पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुन्छन् भन्ने तथ्य पुष्टि भएको छ ।
देश लकडाउनका कारण ठप्प छ । कोरोना भाइरसको महामारीबाट जनतालाई सुरक्षित राख्न सरकारले लकडाउनलाई जारी राखेको छ । यद्यपि, नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेत भने विभिन्न सामग्री बाँड्ने भन्दै गाउँगाउँ डुलिरहेका छन् । गाउँगाउँ गएका बस्नेतसँग २५ जनाभन्दा बढी कांग्रेसका कार्यकर्ता अघिपछि हिँडिरहेका छन् ।
गाउँमा पनि हुल मानिस जम्मा पारेर राजनीतिक फाइदाका लागि सरकारको विरोध गरिरहेका छन् । बाह्रबिसेमा ५० जनाभन्दा बढीलाई जम्मा पारेर खाद्यान्न वितरण गरेका थिए । यद्यपि, मन्त्रीसमेत भइसकेका बस्नेतले सरकारी कदमको गम्भीर उल्लंघन गरेका मात्रै छैनन्,महामारी रोक्नेभन्दा फैलाउने कामलाई प्रश्रय दिएकोजस्तो देखिँदैछ ।
जिल्लाको विपद् व्यवस्थापन र स्थानीय सरकारले सबै राहत र स्वास्थ्य सामग्री एकद्धार प्रणालीमार्फत् गर्ने भन्ने निर्णय गरिसकेका छन् । तर, बस्नेत भने अघिपछि कार्यकर्ताको भिड लिएर कोरोनाको महामारी झन् फैलने हिसाबले गतिविधि गरिरहेका छन् । सोमबारमात्रै उनले ठोकर्पालगायत ठाउँमा विभिन्न सामग्री बाँडेका छन् । नेपाल कम्युनिष्ट पार्टी सुनकोसी गाउँपालिका अध्यक्ष प्रेमलाल लामाले बस्नेतको गतिविधि समाजविरोेधी रहेको बताए । गाउँपालिकाको बजेटले किनेको आइसोलेसन बेड बाँड्दै हिँडेर बस्नेतले राजनीतिको मजाक उडाएको उनको भनाइँ छ । बस्नेतले कांग्रेस जनप्रतिनिधिले स्थानीय तहबाट खर्च गरेर बनाएको सामग्री वितरण गरेर राजनीतिक स्वार्थपूर्ति गर्न खोजेको लामाले आरोप लगाएका छन् । यता बाह्रबिसे नगरका मेयर निमफुञ्जो शेर्पाले प्रेसविज्ञप्ति जारी गरेर बस्नेतको गतिविधिले विभिन्न शंका उत्पन्न गराएको र सरकारले जारी राखेको लकडाउनको गम्भीर उल्लंघन भएको बताएका छन् ।
विश्वलाई महामारीले लपेटेको बेला राजनीतिक स्वार्थको लागि गाउँ जानु जनताविरोधी कार्य भएको बाह्रबिसे र सुनकोसीका स्थानीयले बताएका छन् । जनता भयभित भएर घरभित्रै बसेका बेला हुल जम्मा पारेर हिँड्नु गलत रबैया भएको उनीहरुको भनाइँ छ । बस्नेतले नियम उल्लंघन गरेर हिँडिरहेकोले सरकारले त्यसको हिसाबकिताब गर्ने सोचिरहेको छ । उच्चपदका भएकोले हाललाई पक्राउ नगरी चेतावनीमात्रै दिएको सरकारी अधिकारीले बताएका छन् । नेपाल प्रहरीले गलत कार्य नगर्न भनेपछि बस्नेत बाह्रबिसे छाडेर गाउँ पसेका हुन् । प्रहरी पछिपछि बस्नेत अघिअघि तर सरकारी नियमको उनले धज्जी उडाएका छन् । यही विषयमा प्रहरी र कांग्रेस कार्यकर्ताबीच भनाभनसमेत भयो । बस्नेतले नेकपा नेता माधव सापकोटा सुवोधलाई दोष थोपरेर सामग्री वितरणमा अवरोध गर्न लगाएको बताउँदै आएका छन् । यस्तो संकटको बेला राज्यले सबैलाई नियन्त्रण गर्ने हो । नेता सुवोधलाई राजनीतिक पूर्वाग्रहले दोष लगाउने कदमको सर्वत्र निन्दा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्