चौतारा- बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले देश विकासको नयाँ बाटोमा हिँडेको बताएका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिका– ७ स्थित सिद्धिगणेश माध्यमिक विद्यालयको ५८औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै आईतबार मन्त्री दुलालले देश नसोचेको तरिकारले विकासको बाटोमा हिँडेको बताए । ‘सरकार ढाल्ने र बनाउने प्रवृत्तिको राजनीतिले विकास हुन सकेको थिएन’, मन्त्री दुलालले भने– ‘अहिले नेकपाको सरकार बनेपछि राजनीतिमा स्थायीत्व आएको छ, जसका कारण देश विकासको बाटोमा हिँडेको छ ।’ अहिले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतको क्षेत्रमा उल्लेख्य विकास हुँदै गरएको उनले बताए ।
मन्त्री दुलालले सरकार र जनप्रतिनिधिले गरेको गलत क्रियाकलापको खबरदारी नागरिकले गर्नुपर्ने बताउँदै नकारात्मक टिप्पणीले मात्रै सुशासन प्राप्त नहुने बताए । उनले जनप्रतिनिधिहरुलाई आपूmले निर्वाचनको समयमा गरेका प्रतिबद्धतालाई पूरा गर्न आग्रह गर्दै सबैले आ–आफ्नो प्रतिबद्धता सम्झेर काम गर्ने हो भने अवको ५ वर्षमा देश कायापलट हुने धारणा राखे । आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने संकल्पका साथ काम गरिरहेको बताउँदै दुलालले यसै वर्ष मात्रै सिन्धुपाल्चोकको चौतारा अस्पताल, चौतारा–काठमाण्डौ जोड्ने छोटो दुरीको सडक, बहुप्राविधिक शिक्षालय, पहाडी रंगशाला लगायतको दीर्घकालिन महत्वका परियोजनाहरुको सुरुवात गरेको बताए ।
शिक्षाले ‘यहाँ बसेर काम छैन’ भन्ने सिकाएको भन्दै अबको शिक्षालाई जीवनसँग जोड्न सरकारले नयाँ राष्ट्रिय शिक्षा नीति बनाएको बताउँदै उनले अहिले शिक्षा क्षेत्रले ठूलो फड्को मारेको जनाए । ‘हामीले पढेको शिक्षा सर्टिफिगेट उन्मूख शिक्षा थियो, यस्तो शिक्षाले वेरोजगार उत्पादन गर्ने भन्दा कुनै काम गर्न सकेन’, मन्त्री दुलालले भने– ‘अब शिक्षालाई व्यवहारिक, वैज्ञानकि, जीवनउपोगी र सीपसँग जोड्न सरकारले नयाँ राष्ट्रिय शिक्षा नीति बनाएको छ । यसले विद्यार्थीहरुलाई योग्य नागरिक बनाउन मद्दत गर्ने छ ।’
उनले सिद्धिगणेश माध्यमिक विद्यालय नमूना विद्यालयको लागि छनौटमा परेको भन्दै नाम मात्रै नमूना भएर नहुने बताए । ‘नाम मात्रै नमूना बनाउन हामीले खोजेका होईनौं’, उनले भने– ‘नमूना विद्यालयले शिक्षाको विकासमा नमूना नै काम गर्नुपर्छ, दक्ष र योग्य जनशक्ति उत्पादन गर्नुपर्छ ।’ अहिले विद्यालय टोल टोलमा भएको उल्लेख गर्दै मन्त्री दुलालले नजिकका र कम संख्यामा विद्यार्थी भएका विद्यालयलाई गाभेर ‘बिग स्कूल’ बनाउनुपर्नेमा जोड दिए ।
वार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक राजकुमार यादवले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले निर्माण गरेको विभिन्न सामग्रीहरको प्रदर्शन गरिएको थियो । समारोहमा शिक्षासँग सम्बद्ध विभिन्न निकाय, संघसंस्था, बुद्धिजीविहरुले सम्बोधन गरेका थिए । कार्यक्रमकै बीच विद्यालयले प्रकाशन गरेको सिद्धिगणेश नामक स्मारिकाको विमोचन समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्