२०८१ श्रावण १२
                           

खाजीलुङमा ३९ फिटको बुद्धमुर्ति सहित बुद्धपार्क

खाजीलुङमा ३९ फिटको बुद्धमुर्ति सहित बुद्धपार्क

त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनको खाजीलुङमा बुद्धपार्क बन्ने भएको छ । ३ नम्बर प्रदेश सरकारको पर्यटन मन्त्रालयले डेढ करोडको लगानीमा खाजीलुङमा ३९ फिटको बुद्धमुर्ति सहित बुद्धपार्क निर्माणको काम सुरु भएको छ । शुक्रबार प्रदेश सरकारका पर्यटनमन्त्री अरुण नेपालले खाजीलुङमा बुद्धपार्कको शिलान्यास गर्नुभएको छ ।
बुद्धपार्कको शिलान्यास गर्दै मन्त्री अरुण नेपालले सम्झौता अनूरुप समय भित्रै काम सम्पन्न गर्न निर्देशन समेत दिनुभएको छ । ३९ फिट अग्लो मुर्ति सहित निर्माण हुन लागेको बुद्धपार्कलाई प्रदेशकै पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उहाँले बताउनुभयो । बडेमानको बुद्धमुर्तिसहित भब्य बुद्ध पार्कको शिलान्यास भएपछि स्थानीयमा खुसियाली छाएको छ । खाजीलुङलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने उदेस्यले बुद्धपार्क निर्माण सुरु भएपछि खाजीलुङ, जात्राथली, बुंगाथलीवासीमा खुसियाली छाएको त्रिपुरासुन्दरी गाउँपालिका ३ का वडाध्यक्ष शुकदेव रिसालले बताउनुभयो । ‘खाजीलुङमा बुद्धपार्क निर्माण गर्ने भनेर चुनावअघि घोषणा गरियो, प्रदेश सरकारको लगानीमा काम नै सुरु हुँदा यसभेगमा खुसियाली छाइरहेको छ’, वडाध्यक्ष रिसालले सुनाउनुभयो ।
बुद्धपार्क शिलान्यास कार्यक्रममा मन्त्री नेपालका साथमा स्थलगत अध्ययनका लागि विज्ञ टोली नै आइपुगेका थिए । पार्क शिलान्यासका लागि गाउँ पुग्नुभएका मन्त्री अरुणप्रसाद नेपाल, विज्ञ टोलीलाई स्थानीयले भव्य स्वागत गरेका थिए  । कार्यक्रममा स्थानीय जनप्रतिनीधि लगायत स्थानीयको बाक्लो उपस्थिती थियो ।
बुद्धपार्कमा हेलिप्याड समेत निर्माण गरिने बताइएको छ । बुद्धपार्कमा रहने जिल्लाकै अग्लो मुर्र्तिलाई चौतारा, मुडे, काभ्रेको धुलिखेल लगायतका स्थानबाट समेत देख्न सकिनेछ ।  बुद्धपार्क निर्माणसँगै खाजीलुङ, जात्राथली र बुंगाथलीमा होमस्टे संचालनमा ल्याउन लागिएको छ ।  यसभेगलाई धार्मीक पर्यटकीय  केन्द्रका रुपमा विकास गर्नका लागि कालिन्चोक–लट्टेश्वर महादेव–ऐतिहासिक स्थल पिस्कर हुँदै तौथलीसम्म सडक सञ्जाल विस्तारको योजना पनि अघि सारीएको छ ।

प्रतिक्रिया दिनुहोस्