२०८२ बैशाख १८
                           

सुकुटेको ‘र्याफ्टिङ टिम’ जसले ४० बढीको जीवितै उद्धार गर्‍यो

                                                                                       फोटो : उद्धारको समीक्षा गर्न सोमबार रिसोर्टमा बसेको र्याफ्टिङ टोली

दिउँसो १ बजेर १० मिनेट गएको थियो । सुकुटे बिच रिसोर्ट र रिभर–बेका र्याफ्टिङ टिमको गाइड टोली सुनकोसीको ट्रिप सकेर होटेलभित्र प्रवेश गरेर खाना खाने तयारी गर्दै थिए ।
र्याफ्टिङ टोलीका क्याप्टेन श्याम श्रेष्ठले मुखमा गाँसमात्रै के हालेका थिए, नजिकै गाडी ठोक्किएकोजस्तो ठूलो आवाज आयो । रिसोर्टबाट दुर्घटनास्थल सिधै देखिन्छ । ५० मिटरको दूरीमा गाडी पल्टेको देख्नसाथ श्रेष्ठले खाना खान छोडे । गाडी पल्टेको सुनकोसी नदीबाट चिच्याहट र कोलाहल आवाज आएपछि उनले र्याफ्टिङ टोलीका अन्य गाइडलाई उद्धारमा खटिन निर्देशन गरे र आफैपनि घटना घटेको तीन मिनेटमा अरनिको सडकमा निस्किए । ठूलो स्वरमा कराउँदै उनले उद्धारका लागि सबै गाइडलाई अनुरोध गरे ।
दुर्घटना भएको पाँच मिनेटमै उद्धारको काम सुरु भइहाल्यो । नदीको मुख्य भंगालोमा उत्तानो परेर डुबेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बसबाट पाँच यात्रु आफै बाहिर निस्किसकेका थिए । उनीहरु आँत्तिएर उद्धारका लागि चिच्याइरहेका थिए । सुकुटु बिचमा कार्यरत पहिलो बोटका श्याम श्रेष्ठ, राजकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ र सोनाम तामाङले क्षणभरमै डुबेको बसको पछिल्तिरको भाग तोडेर २० बढीलाई बाहिर निकाले । उनीहरुले क्षतिग्रस्त बसमै बसेरे उद्धार गरेका थिए । र्याफ्टिङ टिम चाँडो उद्धारमा नआएको भए नदीमा परेका सबैको ज्यान जाने थियो । घटनालगत्तै उद्धारमा खटिने टोली सुकुटे बिच र रिभर–बे का भाँडा माझ्नेदेखि कुकसम्म थिए । घटना घटेको २० मिनेटपछि बलेफीबाट प्रहरीको टोली आयो । प्रहरीले स्थानीयसँग मिलेर उद्धार कार्यलाई जारी राख्यो । तर, उद्धारको नेतृत्व र्याफ्टिङ टोलीले नै लिइरह्यो ।
सोही रिसोर्ट र होटेलमा कार्यरत कर्मचारीहरुको दोस्रो बोटले नदीमा बगिरहेको शव संकलन ग¥यो । यज्ञनारायण श्रेष्ठको नेतृत्वमा भाइकाजी मगर, विकास माझी, सुभाष माझी, राम श्रेष्ठ र सानु मगरको टोलीले दुर्घटनास्थलबाट तीन किलोमिटर तल चेहेरेसम्म मृतकको लाश संकलन गर्ने काम गर्‍यो । यो टोलीले बग्दै गरेको पाँचजनाई उद्धार गरेको थियो । ‘हाम्रो टिम सक्रिय भएकोले बगेको शव संकलन गर्न सकियो,’ यज्ञनारायणले भने, ‘नत्र बगाएर टाढै पु¥याउँथ्यो ।’
उद्धार कार्यमा ६ वटा डुंगा र एउटा कायाक प्रयोग भएको थियो । घटनाको खबर सुन्नासाथ बलेफीबाट सुकुटे आएका स्थानीय र्याफ्टिङ गाइड सुमन भण्डारीले र्याफ्टिङ टोलीले जोखिममै मोलेर उद्धार कार्य गरेको सुनाए । ‘हामी नआएको भए महिला, बृद्धबृद्धा र बालबालिका कोही बच्ने थिएनन्,’ उनले भने । दोस्रो बोटलाई फलोअप गर्दै तेस्रो बोटलाई पनि तुरुन्तै पठाइयो । सन्तोष श्रेष्ठ, सबिन लामा, अजय लामा, कैलाश लामा, अरुण चौधरी र चिरण लामाको तेस्रो डुंगा टोलीले उद्धारमा थप मद्दत गरेको थियो । अल्टिमेट डिस्सेन्टको एउटा बोट र एउटा कायाक, र्याफ्टिङ स्टार र माया बिचको एकएक डुंगा नदीमा उद्धारका लागि स्ट्याण्डबाइ राखिएका थिए । उद्धारमा सरकारी सुरक्षा फौजका अलवा सुकुटेका सबै स्थानीय गरिरहेको काम छोडेर आ–आफ्नै तरिकाले लागेका थिए ।
घटनाको एक घण्टापछि सुकुटे आएको शसस्त्र र नेपाली सेनाको टोलीले राती अबेरसम्म थप उद्धारको काम गरेको थियो । र्याफ्टिङ टोलीका क्याप्टेन, श्याम श्रेष्ठले नयाँपत्रिकासँगको भेटमा भने, ‘पाँच लाश बसभित्रबाट निकालेका थियौं । बाँकी १० शव हाम्रै र्याफ्टिङ टोलीका साथीहरुले चेहेरेसम्म पुगेर जम्मा पारेका हुन् ।’
दुर्घटना परेर हालसम्म १८ को मृत्यु भएको छ । आइतबार १७ को मृत्यु भएको थियो । सोमबार दिउँसो सुुकुटे रिसोर्टछेउबाट थप एक शव प्रहरीले फेला पारेको छ । दुईजनाको उपचारको क्रममा धुलिखेल र शिरमेमोरियल हस्पिटलमा आइतबार नै मृत्यु भएको थियो । घाइते ५१ मध्ये पाँचको मात्रै उपचार भइरहेको र अधिकांश अस्पतालबाट डिस्चार्ज भएको धुलिखेल अस्पतालले जनाएको छ ।
नौ जनाको मृत्यु र सातजना अझै वेपत्ता रहेको दोलखा शैलुङका स्थानीय घटनास्थल आएर अरनिको राजमार्ग अवरुद्ध पारेका छन् । पीडितका लागि सरकारसँग क्षतिपूर्ति माग गरेर आफन्तहरुले सडक बन्द गरेको जिल्ला प्रहरीले बताएको छ । सडकको अवस्था ठीकै छ । दुर्घटना हुनुको मुख्य कारण तीब्र गति र ओभरलोड भएको स्थानीय बताउँछन् । अहिले दुर्घटनास्थल हेर्नेको घुइँचो लागेको छ । यसैबीच प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद अग्निप्रसाद सापकोटाले शोक विज्ञप्ति जारी गरेर पीडितको पक्षमा सहयोग जुटाउन सबै पक्षसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्