२०८१ श्रावण १२
                           

ओमनमा ‘परदेशमा घरदेश’ कार्यक्रम आयोजना

ओमन- विदेशमा रहेका नेपालीलाई दशैं, तिहार, नेपाल सम्वत् र छठको शुभकामना आदान प्रदान गर्ने र सांगितिक माहौल बनाउन ईमल इभेन्ट्सले ओमनमा नेपाली राजदुतावास ओमनको सहकार्यमा ‘परदेशमा घरदेश’ कार्यक्रम आयोजना गरेको छ ।

चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको सांगितिक प्रस्तुतिको साथै युवा मोटिभेटर बिष्णु दाहालले विदेशमा आत्महत्या, डिप्रेशन र कुलतबाट बच्न अपनाउन सकिने सकरात्मक उपायको बारेमा चर्चा गरेका थिए । विदेशमा रहेका श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिकरूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य, आत्महत्या र कुलतहरूबाट बच्न सहयोग पुर्याउनुयस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

ओमानको मस्कटमा रहेको लुलु कम्पनीमा गत कात्तिक १ मा भएको कार्यक्रममा सांगितिक प्रस्तुतिका साथै नेपाली राजदुतावासको द्वितीय सचिव सोमेश थापाले शुभकामना ज्ञापन एवम श्रम सहचारी कृष्णकुमारी गौलीले श्रम कानुन र ओमानको बारेमा प्रकाश पारेका थिए ।
दोस्रो दिन नेपाली राजदुतावासमा भएको कार्यक्रममा सत्यराज आचार्य र स्वरुपराज आचार्यले एकल र संयुक्त गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चर्चित अरबिक गायक हैतम रफीको पनि विशेष उपस्थिति रहेको थियो । हैतम रफिले गत असोज ३ गते नेपाली राजदुतावास ओमनले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको स्वरमा रहेको ‘जहाँ छन बुद्धका आँखा’ बोलको गीत गाएका थिए । भजन शिरोमणी भक्तराज आचार्यका सुपुत्रद्वयको र हैतम रफी एकै मन्चमा भएको संयोगको उपयोग गर्दै तीन जनाले नै सोही गीतमा विशेष प्रस्तुति दिएका थिए । दुई ठाउँमा भएको कार्यक्रममा नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली राजदुतावास ओमनको राजदुत महामहिम शर्मिला पराजुली ढकालले चाडको बेलामा परदेशमा घरदेश कार्यक्रमले आफू नेपाली घरमै रहेको जस्तै अनुभव भएको बताईन् ।

आयोजक संस्था ईमल ईभेन्ट्सका अध्यक्ष र परदेशमा घरदेश कार्यक्रमका योजनाकार निर्मल ढकालले आफूहरुले यो कार्यक्रम नाम जस्तै परदेशमा घर जोड्न चाहेको र यो संसारभर जहाँ–जहाँ नेपालीहरु छन् त्यहाँ–त्यहाँ फरकरुपमा गरिने बताएका छन् । यसको सुरुवाति अंक ओमनबाट गरेको र अब चाँडै नै अर्को श्रृङ्खला सुरु हुने थप जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्