क्याराबिन प्रिमियर लिग(सीपीएल)मा नेपालका लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टोली बार्बाडाज ट्रिडेन्सले तेस्रो जित निकालेको छ । बिहीबार राति(नेपाली समय शुक्रबार बिहान) भएको खेलमा बार्बाडोजले ट्रिन्बागो नाइटराइडर्सलाई ८३ रनको फराकिलो अन्तरले हराएको हो । सन्दीप लामिछाने भने नेपाली राष्ट्रिय टोलीबाट त्रीदेशीय टी–२० सिरिज खेल्न बिहीबार नै सिंगापुर आइसकेका छन्।
घरेलु मैदानमा भएको खेलमा बार्बाडोजले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो । बार्बाडोजका लागि तीन ब्याट्म्यानले अर्धशत बनाए । ओपनर जोनसन चाल्र्सले ५८ र जोनाथन कट्लरले ५१ रन बनाए । दक्षिण अफ्रिकी अलराउण्डर जेपी डुमीनीले २० बलमा ६५ रन बनाएर आक्रामक पारी खेले १५ बलमा अर्धशतक पूरा गरेका डुमीनीले सीपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने कीर्तिमानसमेत बनाएका छन्।
१९३ रनको लक्ष्य पछ्याएको ट्रिन्बागोले ओभरमा १७.४ ओभरमा १२९ रन बनाउँदा सबै विकेट गुमायो । ट्रिन्बागोको इनिङ ध्वस्त बनाउने क्रममा बार्बाडोजका लागि अमेरिकी लेग स्पीनर हेडेन वाल्सले एक्लैले ५ विकेट लिए। ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेका डुमिनीले २.४ ओभर बलिङ गर्दा २ विकेट लिए।
७ खेल खेल्दा बार्बाडोजले यससँगै तीन जित निकालेको छ । अंक तालिको चौथो स्थानमा उक्लिएको छ।
बार्बाडोजबाट यस सिजनमा सन्दीपले ६ खेल खेल्दा ८ विकेट लिएका छन् । राष्ट्रिय टोलीका लागि खेल्न बिहीबार सिंगापुर आएका सन्दीप नेपालले सिंगापुर र ओमानमा खेल्ने सबै खेलमा सहभागी भएमा उनले सीपीएलका बाँकी खेल गुमाउनेछन् । उनको टोली फाइनलमा पुगेको खण्डमा भने सन्दीप नेपालको खेल सकाएर फाइनल खेल्न जान सक्नेछन् । नेपालको खेल अक्टुबर १० सम्म रहेको छ । सीपीएलको फाइनल अक्टुबर १२ मा हुनेछ। एजेन्सी
प्रतिक्रिया दिनुहोस्