२०८१ श्रावण १२
                           

बिहेअघि यौन सम्बन्ध राख्न पाउनुपर्ने भन्दै आन्दोलन

इन्डोनेशियाको संसद्‌बाहिर एउटा प्रस्तावित कानुनको विरोध गरिरहेका प्रदर्शनकारीहरूविरुद्ध प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको छ। प्रस्तावित कानुनमा बिहेअघि यौन सम्बन्ध राख्न नपाइने प्रावधान तथा अन्य विवादास्पद कुरा राखिएपछि इन्डोनेशियामा त्यसको चर्को विरोध भएको छ ।

उक्त मस्यौदा कानुनविरुद्ध देशका अन्य स्थानमा पनि विरोध भयो । मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आएमा त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मान्नेछ । तत्कालका लागि उक्त मस्यौदा कानुनलाई पारित गर्ने विषय पछि सरेको छ। तर प्रदर्शनकारीहरू त्यो संसद्‌बाट अन्तत: पारित हुने चिन्तामा छन्।

विवादास्पद मस्यौदामा के छ ?
प्रस्तावित अपराध संहितामा निम्न विषय छन्:

– विवाहपूर्व यौन सम्बन्ध राख्नु अपराध हुनेछ र त्यसो गरेमा एक वर्ष जेल सजाय हुन सक्नेछ
– विवाह नगरी सँगै बसेमा छ महिनाको जेल सजाय हुन सक्नेछ
– राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झण्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको अपमान गर्न पाइनेछैन
– चिकित्सकीय कारण वा बलात्कारका घटनामा बाहेक गर्भपतन गरे अधिकतम चार वर्ष जेल सजाय हुन सक्नेछ

संसद्‌मा मङ्गलबार उक्त प्रस्तावित कानुनमा मतदान हुने योजना थियो । तर राष्ट्रपति जोको विडोडोले त्यसमा थप विचार गर्नुपर्ने भन्दै मतदान शुक्रवारका लागि स्थागित गरिदिए ।

किन हुँदैछ विरोध ?
मतदान सारिएको भए पनि इन्डोनेशियालीहरू उक्त कानुन संसद्‌बाट पारित हुने आशङ्का व्यक्त गर्छन् । देशको भ्रष्टाचार निवारण आयोगलाई कमजोर बनाउने एउटा कानुन पारित गरिएकाले पनि मानिसहरू आक्रोशित छन् ।

के भयो ?
हजारौँ मानिसहरूले देशका विभिन्न सहरमा सडकमा भेला भएर प्रदर्शन गरे । तिनमा विद्यार्थीहरूको सङ्ख्या ठूलो थियो । संसद्‍का सभामुखलाई भेट्ने माग राखेर जकार्तास्थित संसद् भवनबाहिर प्रदर्शन गरिरहेका मानिसहरूको प्रहरीसँग भिडन्त भयो ।

प्रदर्शनकारीहरूले ढुङ्गा हानेपछि प्रतिकार गर्दै प्रहरीले पनि अश्रुग्यास र पानीको फोहरा प्रयोग गर्‍यो । एउटी महिलाले “मेरो अङ्गमा सरकारको स्वामित्व छैन” भन्ने नारा भएको पोस्टर बोकेकी थिइन् ।

योग्याकार्ता, मकास्सर तथा अन्य स्थानमा दोस्रो दिन पनि प्रदर्शन जारी छ । “भ्रष्टाचार नियन्त्रण गर्ने निकायसम्बन्धी नयाँ कानुन जनताको हितमा नभएर भ्रष्टाचारीको हितमा भएकाले हामी संसद्‌तिर गएर विरोध गर्दैछौँ,” पश्चिम जाभाका एक २१ वर्षीय विद्यार्थीले सामाचारसंस्था रोएटर्सलाई भने । जकार्तामा सुरक्षाका लागि पाँच हजारभन्दा बढी प्रहरीलाई खटाइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्