२०८१ श्रावण १२
                           

आगोले खाएको कविता

—विश्व सिग्देल

मेरो कविताको एउटा फेर
आगोले खाएको छ
दुनियालाई खुसी बनाउदै
मेरो कवितामा मृत्यु
जताबाट पनि आउन सक्छ

भोका किसानको आत्महत्याले
डुब्दो छ कृषि विकास बैंक
नासिंदो छ गरिवी यसैगरी,
जरैदेखि
पचास रूपैयामा धरहरा हुने होडको छेउ लागी
टुसुक्क बसेको छ चुपचाप मेरो कविता
र कविता चुपचाप बस्नुको अर्थ लोकगीतका गेडामा प्रसस्तै छन्
चेपाङ्देखि राउटेसम्मलाई थाहा छ
चुपचाप बस्नुको अर्थ

आधिका थुप्रै कथाहरू छरिएको आकाशलाई
रहमा गोडेर
माझीदाइले पहिल्याएको अर्थ होस्
या हाते कलले सिलाएका
विसंगतीका दौरा सुरुवालका
मुक चिच्याहट
सप्पै सप्पैका पृष्ठभूमिमा
आम मान्छेका अगाडि
चुपचाप छ मेरो कविता

मेरो कविताको एक छेउ
आक्रोशले खाएको छ
अर्को किनारा
डुबेको छ बाढीमा
दुनियालाई दुःखी बनाउदै
दुनिया“लाई खुसी बनाउदै
मेरो कवितामा हत्या
मेरो कवितामा आत्महत्या
जताबाट पनि आउन सक्छ

प्रतिक्रिया दिनुहोस्