काठमाडौँ, ११ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक सञ्जाल वा सञ्चार माध्यमलाई नियन्त्रण गर्ने पक्षमा नरहेको बताएका छन् ।
‘ए एण्ड ए’ काठमाडाँै मिडिया प्रालिद्वारा सञ्चालित दैनिक अनलाइन डटकमको आज शुभारम्भ गर्दै उहाँले संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेकाले निश्चिन्त रहन आग्रह गरे । “प्रेसलाई नियन्त्रण गर्ने गरी सरकारले कुनै पनि कानून बनाउँदैन”, उनले भने, “हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ । प्रेसलाई नियन्त्रण गर्ने कानून टिक्दैन, हामी नियन्त्रण गर्ने पक्षमा छैनौँ ।”
सङ्घीय संसद्मा पेश भएको मिडिया काउन्सिल विधेयक परिमार्जित हुने विश्वास दिलाउँदै अध्यक्ष दाहालले सो विधेयकलाई संविधानको भावना अनुकूल बनाउने दृढता व्यक्त गरे । स्वतन्त्रताको अर्थ अराजकता होइन भन्दै उनले पत्रकारिता जगत्ले नै छलफल गरेर स्वयं आफैँले स्वनियमन गर्नुपर्ने बताए ।
“अहिले सामाजिक केही अनलाइन तथा सामाजिक सञ्जालमा हेर्नै नसक्ने र सुन्नै नसक्ने सामग्रीको प्रस्तुति भएको छ, त्यसलाई सभ्यताको मान्यताद्वारा परास्त गर्नपर्छ”, अध्यक्ष दाहालले भने,“सञ्चार जगत्ले राष्ट्रिय एकतालाई बलियो बनाउने, बिखण्डन होइन, एकढिक्का बनाउने सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने काम गर्नुपर्छ ।” उनले न्यूनतम मान्यताभन्दा बाहिर गएर विचार व्यक्त भएकाप्रति दुःख व्यक्त गरे ।
सञ्चारकर्मीले नै गलत प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो । “तथ्यहीन विषयवस्तुसँग नाम जोडेर आउँदा नेतृत्वमा हुनेहरु हैरान हुने गरेका छन”, अध्यक्ष दाहालले भने, “नेताको हालत के भएको होला, पत्रकारले सोच्नुहोला ।”
सामाजिक सञ्जालमा आएका विचारले पारेका पीडाबारे उनले थपे , “यति झुठो प्रचार हुन्छ कि घोर अन्याय हामीलाई नै हुन्छ । हामीले कहाँ आन्दोलन गर्ने ? सामाजिक सञ्जालमा खराब विचारले प्रोत्साहन पाइरहेको छ । कहिलेकाहीँ यसो हेरौँ भन्ने हुन्छ । हेर्नै नसक्ने हुन्छ । आफैँमाथि खनिएको छ, कुनैकुनै कुरा यो त ठीकै लेख्यो भन्ने भए त आनन्द हुन्थ्यो नि”
जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिलाई उल्ट्याउने र जनभावना विपरीत जाने गतिविधिलाई सञ्चार माध्यमले परास्त गर्नुपर्छ भन्दै अध्यक्ष दाहालले भने,“यो कुराको फैसला पत्रकारिता जगत्बाट हुनुपर्छ । राज्यले कानून बनाएर भन्दा पनि आफैँ स्वनियम बनाएर अगाडि बढ्नुपर्छ ।” सत्यको अनुसन्धान गरेर सत्यमा आधारित रहेर सामाजिक, सांस्कृतिक तथा राजनीतिक विकृतिको प्रतिवाद गर्न उनले आग्रह गरे ।
नेकपाका महासचिव विष्णु पौडेलले आफ्नो पार्टीले प्रेस स्वतन्त्रतालाई सङ्कुचन गर्ने गरी कुनै पनि नियम कानून नबनाउने प्रतिबद्धता व्यक्त गरे । “वर्तमान सरकार र नेकपा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रतिबद्ध छ, प्रेस स्वतन्त्रताको पक्षमा दृढताका साथ उभिन्छ” उनले भने ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सत्य तथ्य पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्दै जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै अग्रगामी सोचका साथ अगाडि बढ्न सुझाव दिए । “पेशागत मर्यादा, नैतिकतालाई ख्यालमा राखेर गतिविधि सञ्चालन गर्नुहोला” उनले भने । रासस
प्रतिक्रिया दिनुहोस्