२०८२ भाद्र १२

कोभिड– १९ को संक्रमणको घुमाउरो मारमा मेरुदण्ड पक्षघात भएकाहरू

  • महेश्वर घिमिरे

कोभिड– १९ को बारेमा अहिले व्यापक बहस चर्चा र धेरै अडकलहरू भइरहेको छ । विषयका विज्ञहरू, सामाजिक अभियन्ता, धार्मिक नेता, राजनीतिज्ञ तभैहाले सर्वसाधारण समेत यसको बारेमा चर्चा परिचर्चा मा सामाजिक सञ्जालमा व्यस्तै देखिन्छ । स्वाभाविक पनि हो । यसको प्रभाव नै यति व्यापक बन्यो कि सायद यो पुस्ताको सबैभन्दा अविस्मरणीय घटना हुनेछ ।
यसै बीच मलाई यो महामारी सँग को लडाइँमा बाटोमा ताँती लागेका श्रमिकहरूको व्यथा सञ्चारमाध्यममा देखे पछि बन्दाबन्दी नहुँदा पनि असाध्यै सीमित गमनशीलता भएका अपाङ्गता भएका व्यक्तिहरू विशेष गरी मेरुदण्ड पक्षघात भएका साथीहरूको याद् आयो । हुन त अन्य अति असक्त अपाङ्गता भएका व्यक्तिहरू पनि कम समस्यामा हुनु हुन्न होला । यो पटक व्यक्तिगत सरसफाई खास गरी दिसा पिसाबको व्यवस्थापन समेत दैनिकीको चुनौतीको रूपमा स्वीकारेर समेत आफ्नो स्वावलम्बी जीवन बाँच्नेहरूको कुरामा मात्र केन्द्रित हुन मन लगेर काठमाडौंभित्र र बनेपासम्म रहेका व्यक्तिहरूसँग कुराकानी गरेर यी कुराहरू लेखेको छु । र, यस लेखमा दैनिकी मा अत्यावश्यक पर्ने व्यक्तिगत सरसफाईका सामग्रीहरू, खाद्यान्न र दिनचर्या हेरिएको छ । यसको अर्थ अन्य पक्ष गौण भन्ने पक्का पनि होइन ।

पहिले र अहिले
मेरुदण्ड पक्षघात भएकाहरू मध्ये धेरैले साङ्गहरूको तुलनामा जीवन एक प्रकारले बन्दाबन्दी नै छ, सधैँ भन्दा पनि फरक नपर्ने कुरा बताए । तर पनि सामान्य दिनचर्या को त्यो सुस्त गति समेत अहिले ठप्प भएको छ । विभिन्न संघ संस्था वा आफ्नै खर्चमा स्वयम्सेवक सहयोगी राखेर आफ्नो सरसफाइ, खान बनाउने काम गराउने गरेका त्यस्ता व्यक्तिहरूलाई अहिले सहयोगी नहुँदा धेरै गाह्रो परेको छ । यही कारणले व्यक्तिगत सरसफाइमा पूरापूर ध्यान दिन नसक्दा पिसाब को संक्र्रमण, बेड–सोर (ओछ्यानको दबाबका कारण हुने घाउ) मानसिक समस्या र रक्तचापले सताउला की भन्ने डर धेरै लाई बढेको छ ।
मेरुदण्ड पक्षघात भएकाहरूको सामान्य गमनशीलता पनि उपचार जस्तै नै हो, आफूवरपरको व्यक्तिहरूसँग घुलमिल हुन शरीर चलायमान राख्न, आफूले सकेको पेशा व्यवसाय गर्न र आफ्नो पारिवारिक वा सामाजिक जीवन चलाउन यसको अरूलाई झैँ महत्व छ । र, बन्दाबन्दीले थुनेको छ । मेरुदण्ड पक्षघात भएकाहरूको सन्दर्भमा भाइरसको सङ्क्रमणको जोखिम पनि धेरै हुन्छ, सावधानीअ पनाउँदा अपनाउँदै पनि सङ्क्रमण हुने खतरा हुने हुँदा बन्दाबन्दीको पालना गर्नु झनै अनिवार्य छ । यो कुरा सबैले बुझेको र त्यसै गरि रहेको पनि बताए ।

अवस्था के छ त ?
कुराकानी गरिएका कुल ३० जना सबै मेरुदण्ड पक्षघात भएकाहरू नै थिए । उनीहरू मध्ये धेरै एक्लै भाडामा बस्ने व्यक्तिहरू थिए र त्यसपछिको ठूलो संख्या परिवारकै सदस्यहरूसँग बस्ने रहेका छन् ।  यी दुवैका व्यक्तिगत समस्या एकैखालका थिए र पनि खाद्यान्न र अन्य व्यक्तिगत सरसफाइका सामानहरूको प्राप्ति परिवारमा बस्नेव्यक्तिहरूको सहज रहेको बताएका छन् । उनीहरू मध्ये संस्थामा आश्रय लिएर बसेका व्यक्तिहरूले खाने बसे रअन्य व्यक्तिगत सरसफाइको समानको चिन्ता नभएको बताएका छन् ।
स्थानीय सरकारबाट वितरित खाद्यान्न सहायता पाउनेहरूको संख्या उल्लेख्य छ । कुल ६ सय ९५ ले सहायता लिएको बताएका छन् । यो अवस्था आएपछि राष्ट्रिय अपाङ्ग महासंघले समेत उनीहरूलाई नै लक्षित गरी व्यक्तिगत सरसफाई सामग्रीको सेट जस्तै स्डाइपर, सी आइ सी पाइप, ग्लोव्स, जेलीस्यनिटाइजरआदी सामग्री पाएको अधिकांश ले बताएका थिए । उनीहरूमध्ये केहीले अपाङ्ग महासंघले उपलब्ध गराएको सी आइ सी पाइप हाल उनीहरूले प्रयोग गर्ने स्तर भन्दा कमसल भएकोले नलिएको समेत बताए । (हाल उनीहरूलेसिलीकन सी आइ सी पाइप प्रयोग गर्ने गरेको पनि बताए ।)
धेरैको दिनचर्या मोवाइल चलाएर बित्ने गरेको बताए । अधिकांशको चिन्ता नै आफूहरूले प्रयोग गर्ने सी आइ सी पाइप ग्लोव्सस्यनिटाइजर र डैपरजस्ता सरसमानहरू भनेको बेलामा पाइने हो कि होइन भन्ने नै रहेको छ । भनेको ठाउँमा पहिले पनि नपाइने ती सरसामानहरू अहिलेको अवस्थामा अरूले दिएको भरमा बस्न कति समय सकिएला ? प्रश्न छ ।
उनीहरू लाई खाद्यान्नको मौज्दात कस्तो छ भनि सोधिएको प्रश्नमा अधिकांशले ठीकै छ केही दिनलाई पुग्छ भनेका छन् भने त्यति नै संख्याका सहभागीहरूले कम छ भनेका छन् । थोरै संख्यामा परिवारसँग बस्ने वा संस्था मा बस्ने व्यक्तिहरूले खाद्यान्न पर्याप्त भएको उल्लेख गरे । यस प्रश्नमा खाद्यान्न सकिएको छ कि भन्ने पनि उत्तर थियो तर कसैले पनि त्यो जबाफ दिएनन् । बन्दाबन्दीको समय कस्तो लागेको छ भनि सबैलाई सोधिएको थियो । उत्तरदाता मध्ये धेरैले नरमाइलो लागेको बताएका थिए । त्यो भन्दा पछि निराश लागेको बताउनेको संख्या उल्लेख्य छ । निराश लागेको उत्तर दिनेहरू लेआफूलाई पछिको कुरा सम्झेर डर लागेको, रक्तचाप बढेको र एकदमै एक्लो पनको महसुस भएको बताएका थिए ।
एकजना सहभागीको भनाइमा ‘परिवारबाट टाढा बसेको छु यो बेला न परिवारको आम्दानी छ न आफ्नो, सम्झेर नै कहाली लग्छ, अब केही गरि बिरामी परियो भने मेरो के हालत हुन्छ भनेर ।’ पहिले सहयोगी आउँदा पनि बिरामी परेको बेलामा धेरै अप्ठेरो हुन्थ्यो । अब यो भन्दा पछि आउन सक्ने आर्थिक सङ्कटको बारेमा सम्झेर कहाली लागेको छ । अब सहयोग पनि कसलाई माग्ने ? धेरै नरमाइलो लाग्दा म त साथीहरू अरू दाजु दिदीहरूसँग सामाजिक सञ्जालमा कुराकानी गर्छु तर म भन्दा पनि कमजोर यति पनि श्रोत भएकाहरूको दिन चर्या र उनीहरूमाथी मडारिएको सङ्कट सम्झेर मलाई झन् धेरै पीडा हुन्छ ।
यो समय ठीकै लागेको बताउने सहभागी पनि २ जना थिए । उनीहरू मध्ये कसैले पनि यो समय रमाइलो लगेको बताएको छैनन् । एकजना अर्को सहभागीले भने“– ‘हामी अरू बेला पनि किनमेले गर्न निस्किनलाई बिहान भरी आफ्नो व्यक्तिगत सरसफाई सकेर जाँदा ढिलाई हुन्थ्यो अब अहिले यस्तो बेला तोकिएको २ घण्टामा हामी बाहिर गएर किनमेल गरेर आउने अवस्था नै छैन । म त झन् उठेर बाहिर निस्किदैं ९ बज्छ अनि के किनमेल गर्नु ? आफू बस्ने ठाउँमा घरैमा पुर्याई दिने पसलहरू पनि छन् कि छैनन् थाहा छैन ।’
एक जना सहभागीले भन्नुभयो– ‘जहानले ज्याला गरेर आफूलाई पाली रहेकोमा अहिले त्यो अवस्था रहेन एक पटक सहायता पाइयो अब फेरि सकिन लागि सक्यो कहिले आउँछ थाहा छैन ।’ यदि यो बन्दाबन्दी लामो समय गयो भने हामीलाई भोकले वा ओछ्यान मा सुतेर हुने घाउले कुनले पहिले लैजान्छ भन्ने मात्र लाग्दै छ ।

अन्तमा,
परिवारसँग बसिरहेका अपाङ्गता भएका व्यक्तिहरूको पनि तमाम समस्याहरू छन्, यद्यपि सहर बजारमा डेरा गरी सानोतिनो अवसरको सदुपयोग गरी स्वावलम्बी जीवनको बल्लतल्ल सुरुवात गरेका अपाङ्गताभएका व्यक्तिहरूको अवस्था अहिलेको समयमा चुनौतीपूर्ण देखिएको छ । सूचना र सहायता पाउँदा पनि उनीहरूले आफूलाई असुरक्षित ठानेको देखिएको छ । यो अवस्थामा सहयोगी सेवा, सहायक सामग्री र अपाङ्गता बुझेका सम्भव भए एकै खाले समस्या भोगेका व्यक्तिहरूलाई विमर्शकर्ता तयार गरि उपयुक्त विधि अपनाई परिचालन गर्नु अपरिहार्य देखिएको छ ।

000

प्रतिक्रिया दिनुहोस्