२०८३ भाद्र १२

बाढीपीडितको राहतका लागि कृषि विकास बैंकद्वारा तीन करोड सहयोग

काठमाडौं । कृषि विकास बैंकले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँ सहयोग गरेको छ ।

अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंक सञ्चालक समितिका अध्यक्ष टंकप्रसाद पाण्डेको उपस्थितिमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई तीन करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक सुशील हुमागाई, विभागीय प्रमुख बीना शर्मा तथा वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेलको समेत उपस्थिति थियो ।

बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, शोकमा रहेका परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको राहत र उद्धारमा साथ दिन आग्रह गरेको छ ।

बैंकले विपद्को कठिन परिस्थितिमा सहयोग गर्न इच्छुक स्वदेश तथा विदेशमा रहेका संघसंस्था र व्यक्तिलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न अपिलसमेत गरेको छ । त्यसका लागि नेपाल सरकारको सम्बन्धित बैंक खातासँगै क्यूआर कोडसमेत सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

देशका विभिन्न क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै हजारौँ नागरिक प्रभावित भएको अवस्थामा पीडित परिवारको राहत, उद्धार र पुनःस्थापनामा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बैंकले जनाएको छ ।

बैंकले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्