२०८३ जेष्ठ २०

उपभोक्ता हित तथा संरक्षणलाई प्राथमिकता : मेल्चौरमा बजार अनुगमन सम्पन्न

मेल्चौर, सिन्धुपाल्चोक । उपभोक्ता हित तथा संरक्षणलाई प्राथमिकता दिँदै चौतारा साँगाचोकगढी नगरपालिकाको नेतृत्वमा मेल्चौर बजार क्षेत्रमा बजार अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न गरिएको छ । नगर उपप्रमुख सीता थापाको नेतृत्वमा सम्पन्न अनुगमन कार्यक्रममा उद्योग वाणिज्य कार्यालयका प्रमुख त्रिपुरारी बख्रेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, नेपाल प्रहरी तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

अनुगमनका क्रममा किराना पसल, कस्मेटिक पसल, खाजाघर, हार्डवेयर तथा वाइन सप गरी २५ वटा व्यवसायिक प्रतिष्ठानको निरीक्षण गरिएको थियो । निरीक्षणका क्रममा केही व्यवसाय दर्ता नभई सञ्चालन भइरहेको, कतिपय पसलमा मूल्यसूची नराखिएको तथा कानुनी प्रावधान पूर्ण रूपमा पालना नगरेको अवस्था भेटिएको अनुगमन टोलीले जनाएको छ । त्यसैगरी, एक व्यवसायिक प्रतिष्ठानमा बिक्रीका लागि राखिएका म्याद सकिएका कोल्ड ड्रिङ्क्स फेला परेपछि नेपाल प्रहरीको रोहवरमा उक्त सामग्री नष्ट गरिएको थियो । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पुर्याउन सक्ने यस्ता सामग्री बिक्री वितरण नगर्न व्यवसायीहरूलाई कडा निर्देशन दिइएको छ । अनुगमन टोलीले व्यवसायीहरूलाई व्यवसाय दर्ता तथा नवीकरण अनिवार्य रूपमा गर्न, प्यान दर्ता कायम गर्न, मूल्यसूची राख्न तथा सरसफाइ र व्यवस्थित व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिएको छ । साथै उपभोक्तालाई गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा उपलब्ध गराउन आग्रह गरिएको छ ।

उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षण नगरपालिकाको प्रमुख दायित्व भएको बताउँदै बजारमा देखिएका कमजोरीहरू सुधार गर्न व्यवसायीहरूलाई सचेत गराइएको छ । व्यवसाय दर्ता, नवीकरण, प्यान दर्ता तथा मूल्यसूची राख्ने विषयमा अनिवार्य गरिने उल्लेख गर्दै बजार अनुगमन तथा निरीक्षणलाई नियमित रूपमा सञ्चालन गरिने छ । नगरपालिकाले स्वस्थ, सुरक्षित र उपभोक्तामैत्री बजार वातावरण निर्माणका लागि आगामी दिनमा पनि यस्ता अनुगमन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्