२०८३ जेष्ठ १६

अब उठ्छ स्याउले अभियानद्वारा सातकन्या आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

चौतारा  | चौतारा साँगाचोकगढी नगरपालिका–१ यार्सा स्थित श्री सातकन्या आधारभूत विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै “अब उठ्छ स्याउले अभियान” अन्तर्गत शैक्षिक सामग्री सहयोग गरिएको छ ।
अभियानले बर्खायामलाई ध्यानमा राख्दै विद्यार्थीहरूको अध्ययन सहज बनाउन तथा उनीहरूले प्रयोग गर्ने पुस्तक, कापी तथा अन्य शैक्षिक सामग्री सुरक्षित राख्ने उद्देश्यले र्याङकोट र झोला वितरण गरेको हो ।
उक्त सहयोग कार्यक्रम “अब उठ्छ स्याउले अभियान” का संयोजक तथा योजनाकार गोविन्द कार्कीको अगुवाइमा सम्पन्न भएको हो । कार्यक्रममा काठमाडौं क्षेत्रपाटीमा व्यवसाय गर्दै आउनुभएका समाजसेवी उत्तम कुमारले विद्यार्थीका लागि झोला सहयोग प्रदान गरेका थिए ।
संयोजक गोविन्द कार्कीका अनुसार “अब उठ्छ स्याउले अभियान” समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सुरु गरिएको अभियान हो, जसले जन्मदिन, विवाह, व्रतबन्ध तथा अन्य व्यक्तिगत खुसीका अवसरहरूलाई सामाजिक सेवासँग जोड्ने लक्ष्य राखेको छ । यस्ता अवसरमार्फत समाजसेवा र सहयोगको संस्कार विकास गर्ने अभियानको उद्देश्य रहेको उनले स्पष्ट पारे ।
अभियानले गरिएको सहयोगलाई सामान्य उपहार नभई सामाजिक दायित्वको रूपमा लिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता शिक्षा तथा सामाजिक सरोकारका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
अभियान सफल बनाउन सबै सरोकारवाला, स्थानीय निकाय, बुद्धिजीवी, अभिभावक तथा युवाहरूको निरन्तर साथ र सुझाव आवश्यक रहेको संयोजक कार्कीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्