२०८३ जेष्ठ २३

निर्वाचन प्रक्रियामा हस्तक्षेप भएको सांसद दुलालको आरोप, सभामुखको निर्णय विवादमा

काठमाडौं/ प्रतिनिधि सभा सदस्य युवराज दुलालले प्रतिनिधि सभा अन्तर्गत समितिको सभापति चयन प्रक्रियामा हस्तक्षेप भएको आरोप लगाएका छन्।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक दुलालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन कार्यक्रम सार्वजनिक भइसकेपछि सदस्य हेरफेर गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको बताए।

“निर्वाचन प्रक्रिया सुरु भएपछि नाम परिवर्तन गर्न पाइँदैन, यो आधारभूत कानुनी व्यवस्थाविपरीत हो,” दुलालले प्रतिक्रिया दिएका छन्।

उनले सभामुख डोलप्रसाद अर्यालले समितिको सदस्य हेरफेर गरेको निर्णयप्रति असहमति जनाउँदै नयाँ निर्वाचन कार्यतालिका ल्याउनुपर्ने धारणा राखे।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति चयनसँग सम्बन्धित विवादका बीच राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य रहबर अन्सारीको उम्मेदवारीलाई लिएर प्रक्रिया प्रश्नमा परेको छ।

अन्सारी सुरुवातमा सम्बन्धित समितिका सदस्य नभएको भन्दै उम्मेदवारी दर्ता रोकिएको थियो। तर मनोनयन प्रक्रिया चलिरहँदा सभामुखले उनलाई उद्योग समितिमा स्थानान्तरण गरेपछि विवाद बढेको हो। उनी सुरुमा शिक्षा समितिमा थिए।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले ‘बाधा अड्काउ फुकाउने’ अधिकार प्रयोग गरेको बताएका छन्।

सामान्यतया समितिमा सदस्य हेरफेर प्रतिनिधिसभा बैठकबाट हुने भए पनि यसपटक प्रक्रिया बाहिरबाट निर्णय भएको भन्दै दुलालले आपत्ति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्