२०८२ मंसिर ११

११ औँ राष्ट्रिय उद्योग दिवस सिन्धुपाल्चोकमा उत्साहसाथ सम्पन्न, उत्कृष्ट उद्यमी र प्रशिक्षक सम्मानित

सिन्धुपाल्चोक — उद्योग तथा वाणिज्य कार्यालय, सिन्धुपाल्चोकले उद्योग–व्यवसायको विकास, सिप अभिवृद्धि र उद्यमीहरूको हितलाई केन्द्रमा राख्दै ११ औँ राष्ट्रिय उद्योग दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ । ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा स्थानीय उद्यमी, प्रशिक्षक, कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ ।

कार्यक्रममा उत्कृष्ट उद्योग तथा उद्यमीहरूलाई सम्मानित गरिएको थियो । जसमा पहिलो सेवाग्राही पुष्कर बेकरिका सोबित श्रेष्ठ, उत्कृष्ट उद्यमी सम्मान राधिका बस्नेतलाई र कार्यालयकी कर्मचारी यसोधा कार्की खडकालाई ५ हजार रुपैयाँसहित उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो । साथै, विभिन्न समयमा सञ्चालित तालिमका प्रशिक्षकहरूलाई पनि यस अवसरमा विशेष सम्मान गरिएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि नगर उपप्रमुख सीता थापाले कार्यक्रमको उद्घाटन गर्दै उद्योग–व्यवसाय गर्दै आएका उद्यमीहरूको कदर गर्दै, कर तिर्ने विषयलाई अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका रूपमा प्रस्तुत गरिन् । उनका अनुसार कर तिर्नु राज्यप्रतिको दायित्व मात्र होइन, स्थानीय विकास, सेवा प्रवाह र दीगो औद्योगिक वातावरण निर्माणको आधार हो । उनले भनिन् “उद्यमी हुनु केवल व्यापार चलाउनु मात्र होइन, जिम्मेवार नागरिक भएर कानुन, कर र सामाजिक उत्तरदायित्व पूरा गर्नु पनि हो । राज्य उद्यमीको साथमा उभिन्छ, तर उद्योग–व्यवसाय पारदर्शी र व्यवस्थित बनाउने दायित्व उद्यमी आफैले वहन गर्नुपर्छ।”

विशेष अतिथि वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले उद्योग–व्यवसाय राष्ट्र समृद्धिको मेरुदण्ड भएको उल्लेख गर्दै सिपमूलक तालिमको प्रभावकारितामाथि प्रश्न उठाए । उनले हाल “तालिमले मानिस खोजिरहेको छ, मानिसले तालिम होइन” भन्दै वर्तमान अभ्यासमा सुधार आवश्यक रहेको बताए । आफन्तवाद र अनुशासनहीनताले तालिम कार्यक्रम कमजोर बन्दै गएको बताउँदै उनले पारदर्शिताको महत्त्वमा जोड दिए ।

कार्यक्रमको सभाध्यक्षता उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले कार्यक्रमको समापन गर्दै २०७२ सालबाट मनाइँदै आएको उद्योग दिवसले उद्यमीलाई हौसला दिने मात्र होइन, स्थानीय उत्पादनलाई बजारमा टिकाउने आधारसमेत तयार गर्दै आएको बताए उनका अनुसार उद्योग तथा वाणिज्य कार्यालयले निरन्तर उद्योगको व्यवस्थित सञ्चालन र उद्यमीको विकासमा विभिन्न कार्यक्रम मार्फत अघि बढिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्