काठमाडौं, २७ भदौ । देश फेरि नयाँ मोडमा प्रवेश गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्दै छ महिनाभित्र नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएका छन् ।
कार्की नेपाली इतिहासमै पहिलो महिला प्रधानमन्त्रीका रूपमा उदाएकी छिन् । उनको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन महिनाभित्रै प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक जिम्मेवारी पाएको छ ।
पछिल्ला दिनमा देशभर फैलिएको जेनजी पुस्ताको आन्दोलनले नयाँ नेतृत्व र नयाँ सोचको माग गर्दै सडक तताएको थियो । युवाहरूले राजनीतिक दलहरूको असफलतामाथि कडा प्रश्न उठाउँदै आएको बेला कार्की प्रधानमन्त्री बन्नुले मुलुकमा नयाँ आशा जागेको टिप्पणी भइरहेको छ ।

कार्कीको नियुक्तिलाई कतिपयले “संविधान र जनआवाज दुवैलाई सम्बोधन गर्ने ऐतिहासिक कदम” भनेका छन् । आन्दोलनबाट थिलथिलो बनेको मुलुक अब शान्ति र स्थायित्वतर्फ मोडिनुपर्ने दबाब बढिरहेको छ ।
युवा पुस्ताले भने, “हामीले परिवर्तनका लागि आवाज उठाएका हौं, अब यो आवाज केवल निर्वाचनमा मात्र होइन, नयाँ भविष्य निर्माणमा परिणत होस् ।”
प्रतिक्रिया दिनुहोस्