२०८२ कार्तिक २

तातोपानी नाका जोड्ने अरनिको राजमार्ग ठप्प

सिन्धुपाल्चोक — नेपाल–चीन सिमानास्थित तातोपानी नाका जोड्ने अरनिको राजमार्ग पछिल्लो एक सातादेखि पूर्ण रूपमा ठप्प बनेको छ। भोटेकोशी गाउँपालिका–२ को कोदारी, कोप्लाङ र वडा नम्बर ३ को लार्चा लगायत विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो।

असार १ गते कोदारीमा पहिरो खसेपछि सडक ठप्प बनेको थियो। सो पहिरो हटाउन नपाउँदै असार ३ गते फेरि कोप्लाङ र लार्चामा पहिरो जाँदा अवस्थालाई थप जटिल बनाएको छ। प्रहरीका अनुसार कोदारी क्षेत्रमा जमिन नै भासिएर नदीमा मिसिएको छ, जसका कारण त्यहाँ सडक पूर्णरूपमा नष्ट भएको छ। हालसम्म पनि सडक खुलाउन सकिएको छैन।

स्थानिय भन्छन  यो सडक करोडौं राजस्व संकलन हुने नाका जोड्ने मार्ग हो तर यसको अवस्था दयनीय छ। समयमै मर्मत गरिएको भए यस्तो अवस्था आउने थिएन।”

त्यस्तै, केही हप्ताअघि मात्र मर्मत गरिएको कोप्लाङ सडक पुनः भासिएको छ। लार्चास्थित भोटेकोशी नदी पार गर्न हालसम्मको ह्युमपाइप बगाएपछि यातायात पूर्णरूपमा बन्द छ। बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको भए पनि पुलसम्म पुग्ने दुवै छेउको सडक तयार नभएकाले केही दिन अझ ढिलाइ हुने देखिएको छ।

बाह्रबिसे नगरपालिका क्षेत्रको खोकुन्डोल, डाक्लाङ, चाकु, नयाँपुल लगायतका स्थानमा सडक जीर्ण अवस्थामा रहेको छ भने बसेरी, जम्बु, खागदल र जुरेमा पहिरोको उच्च जोखिम छ। बुधबार र बिहीबारको वर्षाले बसेरी र जुरेमा सडकको केही भाग बगाएको प्रहरीले जनाएको छ। बाह्रबिसेदेखि लिपिङसम्मको २६ किलोमिटर सडकखण्ड बाढी र पहिरोको उच्च जोखिममा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्