२०८३ भाद्र २२

तेक्वान्दो जुनियर ग्रेडिङमा सुहानीलाई डबल प्रमोसन

चौतारा । नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रमअन्तर्गत चौतारास्थित हिराहरी तेक्वान्दो डोजाङमा जुनियर खेलाडीहरूको जुनियर बेल्ट प्रमोसन टेस्ट (ग्रेडिङ) सम्पन्न भएको छ ।

ग्रेडिङमा डोजाङमा प्रशिक्षणरत विभिन्न उमेर समूहका खेलाडीहरूको सहभागिता रहेको थियो । ग्रेडिङबाट सुहानी श्रेष्ठले निलो पेटीतर्फ डबल प्रमोसन हासिल गरेकी छन्। अन्य सहभागी खेलाडीहरू पनि ग्रेडिङमा सफल भएका छन् ।

कार्यक्रममा सिनियर खेलाडीहरू मेनुका श्रेष्ठ, सचिन तामाङ, सलिना चुहान, रेहान श्रेष्ठ, मिशन बागदास, निभा श्रेष्ठ, विजय श्रेष्ठ, सुनिधी कक्षपति, कृजन दंगाल र उमेश तामाङसहित अभिभावकहरूको उपस्थिति थियो । सो अवसरमा सिनियर खेलाडीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका उपाध्यक्ष, छैटौँ डानका ब्ल्याक बेल्ट तथा हिराहरी तेक्वान्दो डोजाङका संस्थापक एवं प्रमुख रमेश गुरुङले ग्रेडिङ लिएका थिए ।

ग्रेडिङपछि गुरुङले तेक्वान्दो केवल किक र पन्च सिक्ने खेल मात्र नभई सम्मान, अनुशासन, निरन्तर लगनशीलता र आत्मनियन्त्रण सिकाउने माध्यम भएको बताए । उनले खेलाडीहरूलाई आफूले सिकेको सीप कुनै पनि अवस्थामा दुरुपयोग नगर्नसमेत आग्रह गरे ।

डबल प्रमोसन हासिल गरेकी सुहानीसहित सफल हुने सबै खेलाडीलाई गुरुङले बधाई दिँदै आगामी दिनमा अझ मेहनत र अनुशासनका साथ प्रशिक्षणमा निरन्तरता दिन शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्