अष्ट्रेलियामा आयोजित ५३औँ थन्डरडोम प्रो बक्सिङ प्रतियोगितामा नेपाली बक्सर अनिल कुमार पुन ले शानदार जित हासिल गरेका छन्। ६१ किलोग्राम तौल समूहअन्तर्गत भएको प्रतिस्पर्धामा उनले अष्ट्रेलियाका बक्सर राइट हर्न लाई दोस्रो राउन्डमै नकआउट गर्दै पराजित गरेका हुन्।
प्रतियोगितामा पुनले आक्रामक र उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो राउन्डमै निर्णायक नकआउट जित निकाल्न सफल भएका थिए। अन्तर्राष्ट्रिय रंगमञ्चमा प्राप्त यो जितले नेपाली बक्सिङको सम्भावनालाई थप उजागर गरेको छ।
पुनको सफलताप्रति उनका प्रशिक्षक तथा म्यानेजर म्याक्स बस्नेत ले खुसी व्यक्त गरेका छन्। उनले नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा राम्रो सम्भावना देखाइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगितामा सहभागी अन्य नेपाली खेलाडीमध्ये विकास राणा भने अङ्कको आधारमा केलीसँग पराजित भए। त्यस्तै सुदूरपश्चिमको महेन्द्रनगरका महेन्द्रबहादुर पनि साबुरीसँग पराजित हुन पुगे।
यद्यपि जित हात पार्न नसके पनि नेपाली खेलाडीहरूले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता देखाएका छन्। नेपाल प्रो बक्सिङ कमिशन का अध्यक्ष राजन प्रजापति का अनुसार अष्ट्रेलियामा नेपाली खेलाडीहरूको सहभागिताले प्रो बक्सिङमा नेपालीहरूको सम्भावनाको नयाँ ढोका खोल्न सफल भएको छ।

नौलोआयामबाट
प्रतिक्रिया दिनुहोस्