श्रीधर न्यौपाने,चौतारा । नेपाली कम्युनिस्ट आन्दोलनको अभेद्य किल्ला मानिने सिन्धुपाल्चोकमा २०८२ को निर्वाचनमार्फत फेरि एकपटक ‘लाल विरासत’ सुरक्षित भएको छ । सगरमाथा आरोही एवं युवा नेता युवराज दुलाल ‘शरद’ ले सानदार जित हासिल गर्दै जिल्लाको वामपन्थी साख जोगाएका छन्।
तत्कालिन माओवादी जनयुद्धदेखि नै कम्युनिस्टहरूको बलियो आधारभूमि रहेको यस जिल्लामा विगतमा नेता अग्निप्रसाद सापकोटाले प्रतिकूल परिस्थितिमा पनि जोगाएको विरासतलाई यसपटक दुलालले निरन्तरता दिएका हुन्। क्षेत्र नम्बर १ मा माओवादीका माधव सापकोटा ‘सुबोध’ चौतर्फी घेराबन्दीका कारण पराजित भई रास्वापाका भरतप्रसाद पराजुली (२४,४१२ मत) विजयी भए पनि, क्षेत्र नम्बर २ मा भने दुलालले २१,६९९ मत प्राप्त गर्दै कांग्रेसका वंशलाल तामाङ (१९,१४६ मत) र एमालेका शेरबहादुर तामाङ (१५,९२५ मत) लाई पछि पारेर लाल झण्डा फहराउन सफल भए।
यसअघि दुई पटक बागमती प्रदेश सभा सदस्य र मन्त्री भइसकेका दुलालको यो जितलाई स्थानीय कार्यकर्ताहरूले ‘लाल किल्लाको पुनरागमन’ का रूपमा उत्सव मनाइरहेका छन्। विपक्षीहरूको कडा चुनौतीका बाबजुद सगरमाथाको चुचुरो चुमिसकेका दुलालले संसदीय राजनीतिमा पनि आफ्नो ‘हाई अल्टिच्युड’ कायम राख्दै सिन्धुपाल्चोक अझै पनि वामपन्थीहरूको वैचारिक आधारभूमि हो भन्ने सन्देश दिएका छन्।
अग्नि सापकोटाले कोरेको बाटो, युवराजले थपे इँटा २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सिङ्गो बागमती प्रदेशमा प्रतिकूल लहर चल्दा पनि नेता अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट चुनाव जितेर पार्टीको अस्तित्व र साख जोगाएका थिए। त्यही लाल विरासतलाई जोगाउने चुनौतीपूर्ण जिम्मेवारी यसपटक युवा नेता तथा सगरमाथा आरोही युवराज दुलालको काँधमा परेको थियो। अघिल्लो पटक सिन्धुपाल्चोक-१ बाट निर्वाचित ‘सुबोध’ पराजित भए पनि क्षेत्र नं. २ मा दुलालको जितले पार्टीलाई ठूलो राहत दिएको छ।
विरासत जोगाउनुको अर्थ यो जित एक व्यक्तिको जित मात्र नभई, सिन्धुपाल्चोकमा दशकौँदेखि कायम रहेको कम्युनिस्ट विचार र सङ्गठनको निरन्तरता हो। विपक्षीहरूको कडा घेराबन्दीका बाबजुद दुलालले निकालेको यो परिणामले सिन्धुपाल्चोक अझै पनि वामपन्थीहरूको बलियो आधारभूमि हो भन्ने सन्देश दिएको छ। स्थानीय कार्यकर्ताहरूले यसलाई ‘लाल किल्लाको पुनरागमन’ भन्दै उत्सव मनाइरहेका छन्। सगरमाथा आरोहीको साहस र जनयुद्धको रापतापबाट खारिएका दुलालको यो जितले सिन्धुपाल्चोकको विकास र राजनीतिमा नयाँ उचाई थप्ने विश्वास गरिएको छ।
सिन्धुपाल्चोकमा कसको कति मत
प्रतिनिधिसभा-१
भरतप्रसाद पराजुली – २४,४१२ विजयी
माधव सापकोटा -१७,३२७
सरेश नेपाल- ११,९६१
जंगबहादुर तामाङ – ११, २९३
प्रतिनिधिसभा-२
युवराज दुलाल – २१,६९९ विजयी
बंशलाल तामाङ – १९,१४६
शेरबहादुर तामाङ – १५,९२५
झलककुमार श्रेष्ठ – १४,०१९
प्रतिक्रिया दिनुहोस्