कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहजनक रूपमा मतदान भइरहेको बताएका छन् । मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा मतदाताको उल्लेखनीय सहभागितासहित मतदान प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए ।
उनका अनुसार बिहान ७ बजेदेखि नै व्यवस्थित ढङ्गले मतदान सुरु भएको हो। मतदान केन्द्रहरूमा मतदाताको उपस्थितिसँगै सुरक्षा व्यवस्था पनि सन्तोषजनक रहेको उनले बताए । मतपत्र प्राप्त गरेपछि एकदेखि दुई मिनेटभित्रै मतदाताले मतदान प्रक्रिया पूरा गर्न सक्ने उनले उल्लेख गरे ।
भण्डारीले सम्पूर्ण मतदाता, राजनीतिक दल तथा उम्मेदवारलाई शान्तिपूर्ण र उत्साहजनक वातावरणमा मतदान सम्पन्न गर्न सहयोग गर्न आग्रह पनि गरे ।
उनका अनुसार मतदान सकिएपछि मतपेटिका सङ्कलन गरी मतगणना प्रक्रिया सुरु गरिनेछ । प्रत्यक्षतर्फको नतिजा मतगणना सुरु भएको २४ घण्टाभित्र सार्वजनिक गर्ने लक्ष्य आयोगले लिएको उनले बताए ।
युवाहरूको सक्रिय सहभागितालाई आधार मान्दै यसपटक ६५ प्रतिशतभन्दा बढी मतदान हुने अनुमान गरिएको पनि उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्