२०८२ माघ १८

संवादबाट विश्वासतर्फ : सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समितिको चुनावी कार्यक्रम

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को आयोजनामा सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क समन्वय समितिको २ नं. प्रतिनिधि सभा स्तरीय उम्मेदवार परिचयात्मक तथा मतदाता भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।


कार्यक्रममा प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार युवराज दुलाल, समानुपातिक उम्मेदवार भगवती नेपाल तथा लालकान्छा तामाङलाई औपचारिक रूपमा परिचय गराइएको थियो। कार्यक्रममा उपस्थित नेता, कार्यकर्ता तथा सर्वसाधारण मतदातासँग उम्मेदवारहरूले प्रत्यक्ष संवाद गर्दै आफ्ना विचार, दृष्टिकोण र विकासका योजनाहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्दै प्रत्यक्ष उम्मेदवार युवराज दुलालले जनताको दुःख, पीडा र आवश्यकतालाई बुझ्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै, “राजनीति पद र प्रतिष्ठाका लागि होइन, जनताको सेवा र समाज रूपान्तरणका लागि हुनुपर्छ,” भन्ने धारणा व्यक्त गरे। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। दुलालले भने  सिन्धुपाल्चोक-२ का जुनसुकै पार्टीका मान्छेले पनि एक भोट युवराज दुलाललाई दिने बताइरहेका छन् ।


समानुपातिक उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङले समावेशी प्रतिनिधित्व, सामाजिक न्याय र जनमुखी नीति निर्माणमा आफूहरू प्रतिबद्ध रहने बताएका थिए।
कार्यक्रमले सिन्धुपाल्चोकसँग सम्बन्धित मतदाताहरूबीच राजनीतिक चेतना अभिवृद्धि गर्नुका साथै उम्मेदवार र जनताको सम्बन्धलाई अझ नजिक बनाउने भूमिका खेलेको सहभागीहरूको भनाइ छ। यस किसिमका कार्यक्रमहरूले चुनावलाई केवल प्रतिस्पर्धा मात्र होइन, जनताको सरोकार र भविष्य निर्माणको साझा अभियानका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्