सिन्धुपाल्चोक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला तथा क्षेत्रीय स्तरमा प्रचार–प्रसार समिति गठन गरेको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा केशव नेपालको संयोजकत्वमा क्षेत्रीय प्रचार–प्रसार समिति गठन गरिएको छ भने क्षेत्र नम्बर २ मा सोम सापकोटाको नेतृत्वमा समिति निर्माण गरिएको छ ।
यसैगरी, जिल्ला स्तरीय प्रचार–प्रसार समितिको नेतृत्व कृष्णप्रसाद सापकोटाले गरेका छन् । समितिले पार्टीका उम्मेदवार र एजेण्डालाई जनस्तरसम्म पुर्याउने, चुनावी अभियानलाई प्रभावकारी बनाउने तथा संगठनलाई थप सुदृढ बनाउने उद्देश्य लिएको जनाइएको छ ।प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीले क्षेत्र नम्बर १ बाट माधव सापकोटा र क्षेत्र नम्बर २ बाट युवराज दुलाललाई प्रत्यक्षतर्फका उम्मेदवारका रूपमा अघि सारेको छ ।

क्षेत्र नम्बर २ का उम्मेदवार युवराज दुलालले निर्वाचन जनताको भरोसा र परिवर्तनको अभियान भएको उल्लेख गर्दै भने,“यो निर्वाचन पदका लागि मात्र होइन, जनताको अधिकार, सुशासन र समावेशी विकासका लागि हो । जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारीका साथ म मैदानमा उत्रिएको छु।”
उनले जनताको साथ, विश्वास र सक्रिय सहभागिताबाट मात्रै सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्दै विकास, रोजगारी र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्